लण्डन । लण्डनको मुटुमै अवस्थित विश्व प्रख्यात लण्डन ब्रिज । लण्डन ब्रिज हेर्न र यसकै आगाडि उभिएर फोटो खिचाउनका लागि हरेक दिन संसारका विभिन्न कुनाबाट आएका हजारौं पर्यटकहरु यहाँ आउने गर्छन । मंगलबार दिउँसो यहि लण्डन ब्रिज घुम्न आउने सयौं बेलायती तथा विदेशी पर्यटकले भने एउटा अनौठो दृश्य देखे ।
रातो सारी , रातै ब्लाउज , धपक्क बलेका गरगहना र छड्के तिलहरीमा सजिएका आधा दर्जन नेपाली महिलाले सबैको ध्यान खिचे । बेलायतमै बस्दै आएकी सर्जक लीला विश्वकर्माको शब्द र गायिका जिना रसाइलीको आवाजमा तयार ‘तीजमा बरीलै..’ बोलको तीज गीतको म्युजिक भिडियो छायांकन देख्ने विदेशीहरु कैयौंले नजिकै आएर हेर्ने र तस्बिर समेत लिने गरे ।
पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त लण्डनस्थित संचारकर्मी कुशल श्रेष्ठको निर्देशनमा यो भिडियो बनाउन लागिएको हो । क्यामेरा , सम्पादन तथा निर्देशन श्रेष्ठकै रहने यो भिडियोमा नृत्य निर्देशन भने सुष्मिता थापाले गरेकी छिन ।
‘ नेपाली तीजका भिडियोहरु प्रायजसो इण्डोरमै छायांकन हुने गरेका छन् , त्यसमाथि लण्डन ब्रिज जस्तो विश्वकै प्रतिष्ठित आइकोनिक लोकेसनमा छायांकन गरिएको यो पहिलोपटक हो’, निर्देशक श्रेष्ठले भने, ‘ हामीहरुले मेहनत साथ गरेको नयाँ प्रयोगबाट दर्शकले नौलो स्वाद पाउनुहुनेछ र मन पराउनुहुनेछ भन्ने विश्वास छ ।’ यो भिडियोका केहि इन्डोर दृश्य यसअघि नै छायांकन भइसकेका छन् ।
मोडेल प्रसुना कंडेल , पण्डित नीलहरि घिमिरे र एनआरएन यूके उपाध्यक्ष शान्ति थापाको विशेष अतिथी भुमिका रहेको यो भिडियोमा कुल २ दर्जन महिलाले नृत्य तथा अभिनय गरेका छन् । भिडियोको इन्डोर छायांकनमा सेट निर्माणका लागि नमस्कार इभेन्ट्स र विष्णु ज्वेलर्सले सहयोग गरेका थिए । म्युजिक भिडियो केहि दिन भित्रमै सार्वजनिक गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।