एजेन्सी | बच्चा जन्मिएको कम्तिमा ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउनुपर्छ।बच्चामा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँछ।
बच्चालाई संक्रमण हुनबाट जोगाउँछ , आमा र शिशुबीच आत्मीयता बढाउँछ रआमाको दूध शिशुले सजिलै पचाउन सक्छ।बच्चालाई औषधि वा जीवनजल आवश्यक परेको बेलामा दिन सकिन्छ। तर, सकभर नवजात शिशुलाई आमाको दूध मात्र खुवाउनु राम्रो हो। विश्व स्वास्थ्य संगठनका अनुसार शिशुलाई कम्तिमा पनि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ, जसले शिशुको शारीरिक एवं मानसिक विकासमा सहयोग पुर्याउँछ।
६ महिनापछि भने शिशुलाई अन्य पोषण तत्व मिसाइएका खानेकुरा खुवाउन सकिन्छ। ६ महिनापछि आमाको दूधले मात्र शिशुको विकासमा पर्याप्त सहयोग गर्दैन। सामान्यतया अन्य पोषण तत्वसँगै बच्चालाई दुई वर्षसम्म स्तनपान गराउन सकिन्छ।
हाम्रो समाजमा नवजात शिशुलाई जन्मिने बित्तिकै मह, घिउ खुवाउने चलन छ। तर, यो पटक्कै गर्न नहुने काम हो। यसले स्तनपानमा समस्या आउन सक्छ भने शिशुलाई संक्रमण हुन सक्छ। केही बच्चालाई झाडाबान्ता समेत हुन्छ। शिशु जन्मिने बित्तिकै पहिलो पटक आउने दूध शिशुका लागि निक्कै लाभदायक हुन्छ। पहिलो दूधलाई नफाली बच्चालाई खुवाउनुपर्छ।