ओइ जिन्दगी !

ओइ जिन्दगी !

मानिस चेतनशिल प्राणी हो।
तँ अज्ञानी झैं बनेर किन आफूलाई
विभिन्न रुपमा परिभाषित गर्दैछस् ? हँ!
थाहा छ मलाई तेरो पक्षपात
तँ त चाहारा न होस् ।
उपल्लो तहकालाई काखी च्यापेरै
तँ रातदिन तिनैको पछौटे भएर
निरन्तर दौडीरहन्छ्स् ।

फर्केर हेर्

ती निमुखाहरू तँलाई गुजार्न
कयौंले बगरको त्यो तातो बालुवामा
लाखौं सपना तुन्दै
बालुवाकै घर बनाईरहेकाछन् ।
दस एघार बर्षका नाबालकहरू
शिरमा नाम्लोको बरियो राखेर
आफुभन्दा गरुँगो भारी
थेगी रहेकाछन् तँलाई गुजार्न

उता

बुढेसकालमा आफैले
जन्माएका सन्तानले
वृद्ध आश्रममा बा आमा पुर्‍याएर
तँ बाट झन्झट मुक्त हुन खोज्दैछ।
तिनै आमाले आश्रममा दयाले
कसैले बाडेको मिठो खानेकुरा समेत
ती सन्तान झल्झली सम्झिदै भक्कानिदै
गाँस हाल्न बाध्य पारेकोछस् तैंले।

हो

तँ संग त न दया छ न माया
नयनबाट झरेका ती मोति दाना
नुनिलो स्वाद लिदैं घुट्घुटी पिउँदै
छट्पटाउँदै ,जिउँदै ,मर्दै
गरिरहेकाछन् तँलाई जिउन

र पनि

जिन्दगी फूल हो ।
फक्रेर मात्र सुन्दरता झल्किन्छ ।
भनेरै संघर्ष गरिरहन्छ मनुष्य
तर तैंले बाजि मारेर कतिलाई
तँ बाट छुट्कारा लिन
बाध्य बनाउँछ्स् ।
तँ त स्वार्थी न होस् ।
कयौंले तेरो पलट माराईलाई
पछार्दै जिउँदैछन् ।
र तेरो पाठबाट ज्ञान सिकेर
जिउने हिम्मत कसेकाछन् ।
आखिर जिन्दगी जिउनै पर्ने रहेछ।
जिउनै पर्ने रहेछ।

अम्बिका कार्की “अमु ”
सर्लाही हाल भरतपुर, चितवन

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार