भक्तपुरमा पर्यटकको घुइचो, व्यवसायीहरु उत्साहित

भक्तपुर : ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण सांस्कृतिक सहर भक्तपुर भ्रमण गर्ने पर्यटकको संख्या बढेपछि चहलपहल पनि बढेको छ । यहाँका विश्व सम्पदास्थल पर्यटकले भरिभराउ हुन थालेका छन् ।नेपालमा अंग्रेजी महिना अक्टोबरको अन्तिम, नोभेम्बर पूरै र डिसेम्बरका दुई साता पर्यटकीय मौसम मानिन्छ । त्यसैले अहिले नेपाल आउने पर्यटकको आवागमन बढेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । उनीहरूका अनुसार अहिलेको तुलनामा नोभेम्बरमा पर्यटकको संख्या अझै बढ्छ ।

अहिले अक्टोबर सकिन एक साता बाँकी छ । ‘अहिल्यै पर्यटकले भरिभराउ भक्तपुरका सम्पदास्थल नोभेम्बरमा दोब्बर हुन्छ’, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले भन्छन्, ‘अक्टोबर र नोभेम्बरमा नेपाल आएका पर्यटक क्रिसमस मनाउन डिसेम्बर अन्त्यतिर स्वदेश फर्कन्छन् ।’ भक्तपुर नगरपालिकाको तथ्यांकअनुसार पनि यहाँ आउने विदेशी पर्यटकको संख्या बढेको छ । गत वर्ष भदौमा ११ हजार ३२ जना विदेशी पर्यटक भक्तपुर आएका थिए । तर, यस वर्ष भदौमा १२ हजार ३ सय ६७ जनाले भक्तपुर भ्रमण गरेका थिए । भदौमा दक्षिण एसिया र चीनका ५ हजार ५ सय ६३ जनाले भक्तपुर अवलोकन गर्दा तेस्रो मुलुकका ६ हजार ८ सय ३१ जना भक्तपुर पुगेका थिए ।

नगरपालिकाको पर्यटन सूचना केन्द्र प्रमुख दामोदर सुवालले भदौभन्दा असोजमा भक्तपुर आउने पर्यटक संख्या बढेको जानकारी दिए । तर, सबै काउन्टरबाट तथ्यांक आउने क्रम जारी रहेकाले संख्या यकिन हुन नपाएको उनको भनाइ थियो । ‘कात्तिक र मंसिरमा अझ धेरै पर्यटक भक्तपुर आउँछन्’, उनले भने । नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग पर्यटन सेवा शुल्क उठाउँदै आएको छ । उसले दक्षिण एसियाली र चिनियाँ पर्यटकसँग ५ सय रुपैयाँ सेवा शुल्क लिने गरेको छ । तेस्रो मुलुकका पर्यटकले भने भक्तपुर प्रवेश गर्न १ हजार ५ सय वा १५ डलर शुल्क तिर्नुपर्छ ।

नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन १४ स्थानमा काउन्टर राखेको छ । भक्तपुर प्रवेश गर्ने पर्यटकसँग उठाउने सेवा शुल्क नगरपालिकाको प्रमुख आयस्रोत हो । केन्द्रका अनुसार नेपाल भ्रमणमा आउनेमध्ये करिब ३५ प्रतिशत पर्यटकले भक्तपुर पनि भ्रमण गर्ने गरेका छन् । भक्तपुर भ्रमण गर्ने पर्यटक संख्या बढाउन यस वर्ष नगरपालिकाले विविध कार्यक्रम गर्ने नगरपालिका प्रमुख सुनील प्रजापति बताउँछन् ।

‘भक्तपुर आएका अधिकांश पर्यटकले यहाँ ३-४ घन्टा मात्रै बिताउने गरेका छन्’, उनले भने, ‘यसो हुँदा भक्तपुरले पर्यटकबाट धेरै लाभ उठाउन सकेको छैन । त्यसैले अब यहाँ आउने पर्यटकलाई भक्तपुरमै बस्ने वातावरण बनाउन हामी लागिपरेका छौं ।’ उनले भक्तपुरमा पर्यटकहरुको बसाइ लम्ब्याउन रात्रि पर्यटनलाई बढावा दिनेबारे यहाँका पर्यटन व्यवसायीसँग छलफल अघि बढाइरहेको सुनाए ।

‘भक्तपुरमा पर्यटक आएनन् भने नगरपालिकाको मुख्य आयस्रोत नै बन्द हुन्छ’, प्रमुख प्रजापतिले भने, ‘यसो भए सम्पदा संरक्षण, कलेज सञ्चालनमा समेत कठिनाइ हुन्छ । त्यसैले नगरपालिकाले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ ।’

पर्यटन व्यवसायीले भने भक्तपुरमा पर्यटकको चहलपहल बढे पनि व्यापार उत्साहजनक नभएको गुनासो गरेका छन् । उनीहरूका अनुसार पर्यटक छोटो समयका लागि मात्र भक्तपुर आउने हुँदा उनीहरू किनमेलमा अल्झँदैनन् । त्यसमाथि गाइडहरूले आफूलाई जुन पसलेले बढी कमिसन दिन्छ त्यतै मात्र उनीहरूलाई लाने भएकाले अधिकांश व्यवसायी पर्यटकको संख्या बढे पनि रमाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार