गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ४ मा माइक्रोबस दुर्घटना भएको छ ।
तम्घासतर्फ आउँदै गरेको बा ४ ख ५५०१ नं को माइक्रोबस भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटना स्थल रिडिबाट नजिक हो ।
वुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको माइक्रोबस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ ।
सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ९ जनाको ज्यान गएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिनुभयो । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटेको माइक्रोले बिच बाटोमा पनि यात्रु थपेको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र २ जनाको पाल्पा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३ जना महिला ६ जना पुरुषको ज्यान गएको छ ।
मृतक मध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका–८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका बिष्णु पाण्डेय र चालक भमी घर्ती, अर्जै गुल्मीका लालबहादुर मुखिया रहेका छन् ।
चालक भमीको पनि पाल्पा लैजाने क्रममा ज्यान ज्यान गएको हो । बाँकीको शव सनाखतको लागि जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिनुभयो । ज्यान जानेमा ३ जना महिला ६ जना पुरुष रहेका छन् । घाइते हुनेहरुमा १ जना महिला ५ जना पुरुष र २ जना बालक रहेको प्रहरीले जनाएको छ ।