तनहुँ । नेपाली कांग्रेस वरिष्ठ रामचन्द्र पौडेल बिहीबार उम्मेदवारी दर्ता गर्न पुग्दा त्यति खुसी देखिएनन् । न पौडेलमा उत्साह देखियो न कार्यकर्तामा । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न पुगेका पौडेल उदास देखिन्थे ।
बुधबार रातिसम्म टिकट बाँडफाँटमै व्यस्त नेता पौडेल बिहीबार ढिला गरी उम्मेदवारी दर्ता गराउन जिल्ला अदालत तनहुँस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
उनको थकान बोली र अनुहारमा छर्लङ देखिन्थ्यो । अनिदो अनुहार लिएर पुगेका पौडेल मनोनयन दर्तास्थलमा बस्दाबस्दै झकाए ।
कांग्रेसका वरिष्ठ नेता पौडेल २०४८ सालदेखि लगातार तनहुँ तनहुँ क्षेत्र नम्बर २ बाट बाट चुनाव जित्नै आएका छन् । तर, यो पटक १ मा आएका उनी कठिन मोडमा छन् ।
चुनाव जित्न उनले नले ठूलै पापड बेल्नुपर्ने देखिन्छ । एमाले र माओवादीको वाम गठबन्धनले उनलाई दबावमा पारेको छ नै, त्योभन्दा चुनौती र कठिन पार्टीकै परिचित प्रतिद्वन्द्वी गोविन्दराज जोशीले बनाएका छन् ।
तनहुँमा पौडेल र जोशीबीच लामो समयदेखि चल्दै आएको अन्तरद्वन्द्वले कार्यकर्ता विभक्त छन् । पूर्व गृहमन्त्री र शिक्षामन्त्री जोशीले रामचन्द्रभन्दा पहिल्यै पुगेर ठूलो उत्साह र कार्यकर्ता लिएर रामचन्द्रविरुद्ध उम्मेदवारी दर्ता गराए ।
स्वतन्त्र उम्मेदवारी दिएका जोशीले आफू नै कांग्रेसको आधिकारिक उम्मेदवार भएको दाबी गरे । ‘मेराविरुद्ध उठ्ने बागी उम्मेदवार हुन्,’ जोशीले चुनौति दिए ‘कांग्रेसलाई बचाउन जनाताले तपाईं नै उठ्नुपर्छ भनेका छन् । म सजिलै जित्छु ।’
भ्रष्टाचारको अभियोग लागेका जोशीले अवैधानिक विधान बनाएर टिकट बाँडफाँट गरिएको आरोप लगाए ।
जोशीको उम्मेदवारीसँगै दबावमा परेका पौडेलले भने कुन्ठा बोकेर उम्मेदवारी दिँदैमा फरक नपर्ने प्रतिक्रिया दिएका छन् । जोशीलाई लक्षित गर्दै उनले पार्टीको निर्णय विपरित उम्मेदवारी दिने जोकोहीलाई साधारण सदस्य नरहने गरी कारवाही गरिने चेतावनी दिए । तनहुँमा त्यति ठूलो प्रतिस्पर्धा नहुने भन्दै पौडेलले आफूहरुले सहजै चुनाव जित्ने दावी समेत गरे ।
तर, पौडेलले भनेजस्तोसहज छैन । एमाले-माओवादी गठबन्धनबाट छोरा उमेरका एमाले युवा नेता किसान श्रेष्ठले उम्मेदवारी दिएका छन् । श्रेष्ठले रामचन्द्र पौडेल, गोविन्दराज जोशीहरुको विकल्पका रुपमा मतदाताले आफूलाई विजयी गराउने दाबी गरे ।
स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको एमाले र माओवादीको मत जोड्दा पनि कांग्रेस पछाडि आउँछ । त्यसमाथि पौडेलले समूहले आफ्नो राजनीतिक भविश्य सिध्याएको भन्दै उम्मेदवारी दिएका जोशीले कांग्रेसको मतदातालाई विभाजित गरेका छन् ।
३ क्षेत्र रहेको तनहुँ अहिले २ क्षेत्रमा विभाजन भएको छ । मादी वारि र पारी गरि तनहुँका क्षेत्र छुट्याइएको छ ।
रोचक प्रतिस्पर्धा
राजनीतिक हिसाबमा तनहुँ पावरफूल जिल्ला मध्ये एक हो । पछिल्लोसमय प्रत्येक जसो सरकार गठन हुँदा तनहुँमा प्राय एक जना मन्त्री परेकै हुन्छन् । क्षेत्रप्रताप अधिकारी, रामचन्द्र पौडेल, नेता गोविन्दराज जोशी, अमरराज कैनी, रामचन्द्र पोखरेल, शंकर भण्डारी, किरण गुरुङ, आशा खानालसम्म तनहुँले मन्त्री पाएको छ ।
सरकारमा सहभागी मात्रै होइन, पार्टीका केन्द्रीय नेता र सांसदका कारण पनि तनहुँ सधैँ चर्चा रहिरहन्छ । त्यस्तै चर्चा पाएका केही व्यक्ति रामचन्द्र-गोविन्दराज प्रतिस्पर्धा लगायतका कारण पनि यसपटकको निर्वाचनलाई तनहुँमा रोचक मानिएको छ ।
गठबन्धन बनाएर प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा होमिएका एमाले, माओवादीका नेता कार्यकर्ता बढी उत्साही देखिन्छन् । वाम नेताहरु चुनाव जित्ने दाबी गर्छन् ।
पहिले क्षेत्र नम्बर १ बाट समेत निर्वाचन जितेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बढी प्रतिस्पर्धा हुने देखिएको छ भने पहिले क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका कांग्रेसका प्रभावशाली युवा नेता शंकर भण्डारी अहिले क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा गर्दैछन् । तनहुँ क्षेत्र नम्बर २ मा गठबन्धनबाट एमाले तनहुँ अध्यक्ष केदार सिग्देलले उम्मेदवारी दर्ता गराएका छन् । अंकका हिसाबले नतिजा वाम गठबन्धनले जित्न सक्ने देखिए पनि ओभर कन्पिmडेन्ट हुने अवस्था भने नरहेको एक एमाले नेताले बताए ।
यसअघिका निर्वाचनमा एमालेले जित्दै आएको यो क्षेत्रमा वाम उम्मेदवार बनेका सिग्देल गाउँठाउँकै भएकाले परिचित छन् भने शंकर भण्डारी त्यो क्षेत्रमा परिचित नभए पनि उनको नाम भने २ नम्बर क्षेत्रवासीलाई पनि नयाँ हुने छैन ।
स्थानीय तहमा प्राप्त मतसंख्याको हिसाब गर्दा एमालेले सहजै जित हाँसिल गर्छ तर, कांग्रेस नेता भण्डारी पनि प्रभावशाली नेता भएकाले सोचेजस्तो जित सहज भने छैन । ‘म आˆनै गाउँठाउँको व्यक्ति हुँ । मसँग हाम्रो क्षेत्र बनाउने एजेन्डा छ । मित्र भण्डारीसँग मलाई डर छैन’ एमाले उम्मेदवार सिग्देलले भने ।
क्षेत्र नम्बर १ को प्रदेशसभा क मा कांग्रेसका गोविन्द भट्टराई र वाम गठबन्धनबाट एमालेका रामबहादुर गुरुङबीच प्रतिस्पर्धा हुनेछ । खमा कांग्रेस तनहुँ पूर्वसभापति रघुनाथ पौडेलले माओवादीका हरिबहादुर चुनानको सामना गर्नेछन् ।
क्षेत्र २ को प्रदेशसभा क मा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र माओवादीबाट आशा कोइराला आमनेसामेने हुनेछन् भने खमा पूर्वसांसद ध्रुव वाग्लेले वा गठबन्धनबाट एमाले नेता किरण गुरुङसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
व्यास नगरपालिकाका पूर्व मेयरसमेत रहेका वाग्ले वाक कलामा माहिर छन् । ध्रुव वाग्ले सबै मतदाताबीच परिचित नभए पनि उनको नाम भने नयाँ होइन । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीका दाबेदार किरण गुरुङ त्यस क्षेत्रमा परिचितमात्रै छैनन्, संविधानसभा निर्वाचन विजयी भएर मन्त्रीसमेत बनेका थिए ।
‘मुख्यमन्त्रीको उम्मेदवार बन्ने लक्ष्यका साथ प्रदेशसभाको टिकट लिएको हुँ,’ गुरुङले भने, ‘मलाई प्रदेश सभामा जिताएर मतदाताले मुख्यमन्त्री बन्ने बाटो खुला गरिदिनु हुनेछ ।’
मुख्यमन्त्रीमा सचिव पृथ्वीसुब्बा गुरुङसमेत आकांक्षी छन् । मुख्यमन्त्रीकै टिकट लिन गुरुङले लमजुङ खबाट उम्मेदवारी दिएका छन् । तर, आफू प्रदेश प्रमुखसमेत भएर काम गरिरहेकाले मुख्यमन्त्रीको प्रमुख दाबेदार रहेको किरणको भनाइ थियो ।- अनलाईनखबर