एक टुक्रा रातो कागजको खोस्टोमा अडेको यो जिन्दगी !

परदेश गईयो,
उच्च शिक्षाका लागि
लाखौ ऋणको भारी बोकेर
दिनरात के हो पत्तै भएन
पढाई अनि कामको हतास
जेनतेन पढियो, डिग्री हातमा
साचेको सपना आफ्नो साथमा
साहुको ऋण तिरियो
साहु पनि दङ्ग
घरमा सबको हातमा आइफोंन
सबैकोमा उमङ्ग।

एक दिन छोरोले सोच्यो
देश फर्किने बेला भयो
ज्ञान सीप योजना साँचेर
कयौ सपना बुन्दै
केटो ओर्लियो एयरपोर्टमा
घरमा घन्टी ठोक्यो
भन्यो – बा म घर फर्के
सबै भए स्तब्ध
मौनता , सन्नाटा शुन्य
कसैले सोधेन , किन फर्किस
कति पढिस, कति ज्ञान कमाईस
सबैलाई चाहिएको पैसा
छोरो विदेश छ भन्ने घमण्ड
छिमेकीले भन्यो
केटो बस्न नसकेर ८ बर्षमा फर्क्यो
यहाँ रहेछ चाहिएको
सबैलाई पैसा, धाक र घमण्ड
यो सबै देखेर छोरो भयो ट्वाँ !

तैपनि आशा बोकेर
योजना लिएर हिड्यो
सपना साकार पार्छु भन्दै
सरकारी अड्डा धाउदा धाउदै
फ़टायो कयौ जोर जुत्ता
शुल्क भन्दा बढी पैसा
दिन भन्यो टेबल मुनिबाट फुत्त
नौ महिना धायो केटोले
उपलब्धी शुन्य
टेबल मुनि हात नदिदा
सबै बाटो भए बन्द।

अब केटो सन्कियो
पासपोर्टमा थियो स्टिकर
भिजा हो नाम
नेपालमा नभएपछि काम
एकादिन बिहानै
हुईकियो राजधानी
घरका सबै ट्वाल्ल
छिमेकी परे वाल्ल
चिलगाडिमा सरर
यो मन हरर
केटो अब सुइकियो
युरोपतिर फेरी हुइकियो !

एटलान्टिक छेउमा
एउटा फोटो खिचियो
दायाँबायाँ खैरे
बिचमा यो भैरे
जुकेको किताबमा टासियो
साथीभाई घर छिमेकी दङ्ग
सबैको मनमा उमङ्ग
भैरेको जिन्दगी भताभुङ्ग।
कयौ बर्ष बितिसके
कागजको खोस्टोको पर्खाइमा
जीवन यसै धासियो
उर्जाशील समय पुरै मासियो
तैपनि, भैरे छ अचेल बिन्दास
छोरोको भयो बनबास
घरमा सबै चिन्तित
फोनको पर्खाइमा
कहिले फर्किन्छ भनेर।

साला, यो जिन्दगी
कहिले ज्ञानको खोजीमा
कहिले पैसा भन्दाभन्दै
एउटा रातो कागजको खोस्टोको लागी
दिनरात गन्दागन्दै
कयौ दिन रात अनि बर्षौ बितिसके
भैरेले अझै मारेको छैन आश
रत्तिभर भएको छैन हतास
भएर पनि थकित र स्खलित।
आमा पिढीमा बसेर
छोरोको बाटो हेर्दाहेर्दै
अस्ताउन लागेकी जुनले पनि
अझै आशा मारेकी छैन
शुख र सम्रिद्धको आशमा
कुर्दाकुर्दै समयको नियती
एक दिन फर्कन्छ भैरे
रातो बाकसको लासमा !

सुन्य, मौनता स्तब्ध
एक टुक्रा रातो कागजको खोस्टोमा अडेको
साला, यो जिन्दगी !!

#गणेश पाण्डेय

 

 

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार