भरतपुर । “जनयुद्धमा एकजना छोरा र छोरी सहिद भए । उनीहरूको सपना पूरा गर्न पनि मै बूढी घरदैलोमा कस्सिएको छु । फेरि आफ्नै दाजुभाइ चुनाउ उठ्नु भइर’छ,” भरतपुर–१२ की देउमाया दाहाल बिहानैदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घर दैलोमा आउने थाहा पाएपछि पुलकित थिइन् । हातमा हँसियाहतौडा अंकित झन्डा बोकेर भीडमा मिसिन आइपुगेकी थिइन् उनी ।
“प्रचण्डलाई कसैले जित्न सक्दैन बुझ्नुभो,” छेउमा रहेकी सुशीला खाँडतर्फ बेलाबखत औंला तेर्स्याउँथिन् पनि । खाँड पनि खाँटी माओवादी कार्यकर्ता रहिछन् ।
गोरखाका रैथाने दाहालका छोराछोरी चितवन बस्न थालेको २५ वर्ष भएछ । तर, उनी केही वर्ष अघि मात्रै चितवन आएकी हुन् । “खै कति भयो, बिर्सें, जे होस् मा’वादी आएपछि उसैलाई भोट हाल्न थालेकी हुँ,” सेताम्य कपालकी उनले भनिन् ।
“उमेर कति भयो ?”
“चार बिस पुगेँ की था’ छैन,” फिस्स मुस्कुराइन् ।
झन्डै दुई घन्टा चौतारोमा कुरेपछि प्रचण्ड बाक्लो सुरक्षा घेराका साथ आइपुगे । हर खोच्याउँदै घेराभित्र पसिन् र देउमायाले आर्शीवाद दिइन्, “लो हाम्रै दाजुभाइ हौ, जितेर राम्रो गर ।”
भीड र सुरक्षाकर्मीको घेराभित्र रहेका प्रचण्डले उनले भनेको कति बुझे । मुन्टो मात्रै हल्लाए, “हुन्छ, हुन्छ । यहीँको विकासका लागि आएको हुँ ।
ओइलाएको फूल प्रचण्डको हातमा थमाइन् । र, भीडको पछाडि पुगिन् उनी ।
प्रचण्डका कमान्डर देवी
बिहान ८ बजेदेखि घरदैलो प्रारम्भ हुने भनिएको थियो । कार्यकर्ता, समर्थक र शुभेच्छुक बिहान सातैबजेदेखि बसपार्क पुगेका थिए । तर, प्रचण्ड एक घन्टा ढिला आइपुगे ।
प्रचण्डको चुनावी हर्ताकर्ता हुन्, देवी ज्ञवाली । प्रचण्ड भन्दा एक घन्टा अगाडि आइपुगेका ज्ञवाली भन्दै थिए, “चितवन–३ मा प्रचण्डले चुनाव जितिसक्नुभयो । कति फरक पार्ने भन्ने मात्रै हो ।”
पछिल्तिरका सेता हिमालझैँ दन्तलहर देखाउँदै उनले भन्न थाले, “चितनवनको एमाले कार्यकर्ताका बीचमा चर्को धूपमा असिना पानी परेजस्तो भएको छ । खडेरी र बरफ एकसाथ झेल्यौँ हामीले ।”
उनको भनाइको तात्पर्य थियो– हिजो रेणु हराउन २४ घण्टा खटिएका कार्यकर्ता अहिले प्रचण्ड जिताउन हातहातमा झन्डा बोकेर हिँड्नुपरेकोछ ।
तथापि नेताले कुरा बुझेपछि कार्यकर्ता– जनतालाई बुझाउन सजिलो हुने उनको भनाइ थियो ।
चितवनका कार्यकर्ता चुनावपछि पार्टी एकता हुनेमा विश्वस्त छन् । “अस्ति चुनाव सरेको भए, एमाले माओवादी कार्यकर्ताबीचमा पार्टी एकता भइसक्थ्यो,” उनले बिहीबार प्रचण्डले महिला भेलामा राखेका धारणा सापटी लिए ।
उनले हिजो फरक परिस्थितिमा आफू कोपभाजनमा परे पनि अहिलेको समयको माग भनेको प्रचण्डको जित भएको औँल्याए । “भिन्न पार्टी थियो, भिन्न परिस्थिति थियो । हिजो उहाँ माओवादी केन्द्रको मात्रै नेता हुनुहुन्थ्यो । आज हाम्रो साझा नेता हुनुभएको छ,” यति भन्दा नभन्दै प्रचण्ड आइपुगे । र, अघिल्लो पंक्तिमा स्वागत गर्न पुगे उनी ।
स्वागत गर्नेदेखि घरदैलोको तारतम्य उनैले मिलाएझैँ देखिन्थ्यो । “प्रचण्डलाई घेराबन्दी गर्ने होइन, गाडीमा राखेर जनताका आँगनमा छिटो पु¥याऔँ,” माओवादी कार्यकर्तालाई निर्देशन पनि दिन्थे उनी ।-बाह्रखरी अनलाइनबाट