काठमाडौँ- महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आइतबार सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गरे। उनले संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा ब्याख्या गरिएकाले प्रहरीले मनन् गरी आम नागरिकका लागि पनि प्रहरी अस्पताल खुल्ला गरिएको बताए।
सर्वसाधारणलाई सेवा दिन थालेपछि नेपाल प्रहरीका बहालवाला कर्मचारी, सहिद परिवार, पूर्वप्रहरी उनीहरुका आफन्त, आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले ध्यान दिन उनले आग्रह गरे।
अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले दिउँसो एक देखि ३ बजेसम्म ओपिडी सेवा सर्वसाधारणका लागि दिइने बताए। उनले अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्याथोलोजी, ल्याब, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी दिए।
प्रहरी अस्पतालमा उपचारका लागि जाने सर्वसाधारण बिरामीले रु ५० को पूर्जी काट्नुपर्छ। औषधि, भर्ना हुने बिरामीका लागि खाना कसरी के गर्ने भन्ने विषयमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग छलफल गरी चाँडै टुंगो लगाउने बताइएको छ।
तत्कालका लागि ८ शैय्या आकस्मिक बिरामीका लागि, १०/१० शैय्या महिला पु्रुषका लागि र ४ शैय्या शल्यक्रियापछि राख्नका लागि छुट्याइएको छ।
२०७४ जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले प्रहरी अस्पताल आम नागरिकका लागि खुल्ला गर्ने निर्णय गरेको थियो। यसअघि अस्पतालले बहालवाला, अवकाशप्राप्त प्रहरी, उनका परिवार र सहिद परिवारलाई मात्र सेवा दिँदै आएको थियो।
अस्पतालमा दैनिक ५०० देखि हजार बिरामीले बहिरङग विभागमा उपचार गराउँदै आएका छन् भने १५० बिरामीले भर्ना भएर उपचार सेवा लिन्छन्।रासस