काठमाडौं–माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको असामयिक निधनपछि शोकमा डुवेकी प्रकाशपत्नी सिर्जना त्रिपाठी चुनावी कार्यक्रममा सहभागी भएकी छिन् । उनी कास्कीको बामगठबन्धनका चुनावी कार्यक्रममा सहभागी भएकी हुन् ।
पार्टी अध्यक्ष एवं ससुरा प्रचण्डको सल्लाह अनुसार परिवारका अन्य सदस्यजस्तै सिर्जनापनि चुनावी कामका लागि शुक्रवार पोखरा गएकी थिइन् । पोखरा गएपछि उनी बामगठबन्धनका चुनावी कार्यक्रममा सहभागी भएकी हुन् ।
पार्टी कामका लागि लाजिम्पाट छाडेर सिर्जना पोखरा गएपछि प्र्रकाशपत्नी सिर्जनालाई घरबाट बाहिर पठाइएको समाचार बाहिर आएको थियो । उक्त समाचारपछि थप मर्माहत बनेकी प्रकाश पत्नी सिर्जनाले रातोपाटीसँगको कुराकानीमा छोरा प्रसिद्धलाई ससुरा प्रचण्डसँगै छाडेर आफु चुनावी काममा पोखरा गएको बताएकी थिइन् ।
‘म जे कामका लागि पोखरा आएकी थिएँ, त्यहीँ काममा जोडिएकी छु ।’ प्र्रकाश पत्नी सिर्जना त्रिपाठीले रातोपाटीसँग भनिन्, ‘पार्टीको योजना अनुसार म बामपन्थी गठबन्धनका चुनावी कार्यक्रममा सहभागी भएकी छु । म राजनीति कार्यकर्ता हुँ र मेरो भूमिका पुरा गर्नु मेरो दायित्व हो ।’
कास्की माओवादी केन्द्रले प्रतिनीधिसभा र प्रदेशसभाका लागि उम्मेदवार बन्न सिफारिस गरेपनि सिर्जनाले पैसाको अभाव हुने भन्दै चुनाव लड्नबाट पछाडि हटेकी थिइन् ।
लाजिम्पाटमा अध्यक्षको सल्लाह अनुसार परिवारका सवै सदस्य चुनावी क्षेत्रमा खटिने योजना बनेपछि सिर्जना शुक्रवार पोखरा गएकी थिइन् । सिर्जना पोखरा गएपनि उनका छोरा प्रसिद्ध भने प्रचण्डसँगै चितवनमा छन् । हजुरबुवा प्रचण्डसँग नाती प्रसिद्ध पनि केही चुनावी कार्यक्रममा देखिएका छन् ।
प्रचण्ड परिवार अहिले शोकमा छ । तर, पनि प्रचण्ड परिवारले आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि परिवारका सवै सदस्य पार्टी काममा खटिने निर्णय गरेको थियो । त्यहीँ अनुसार नै लाजिम्पाटमा कोही पनि नबसी प्रचण्ड परिवारका सम्पूर्ण सदस्य आफ्नो चुनावी क्षेत्रमा पार्टी काममा जुटेका छन् ।
सिर्जनासँग औपचारिक सम्बन्ध विच्छेद नगरी प्रकाशले अर्को विवाह गरेपछि सिर्जना पोखरा बस्दै आएकी थिइन् । उनको पार्टी संगठन कास्कीमै छ । स्थानीय तहको चुनावमा पनि उनले कास्कीमै गएर पार्टीको काम गरेकी थिइन् । उनी माओवादी केन्द्र कास्कीको जिल्लास्तरीय नेता पनि हुन् ।
विहिवार प्रचण्ड निवास लाजिम्पाटमा स्वर्गीय प्रकाशको स्मृतिमा श्रद्धान्जलीसभा गरेपछि प्रचण्डसहित परिवारका सवै सदस्य पार्टी काममा फर्केका थिए । शुक्रवार नै चितवन पुगेर प्रचण्डले केही चुनावी कार्यक्रममा भाग लिएका थिए । प्रचण्ड शनिवार र आइतवार पनि चुनावी कार्यक्रममा सहभागी भएका थिए ।
हृदयघातका कारण प्रकाशको अचानक अस्पताल भर्ना भएको थाहा पाएपछि सिर्जना सवै भन्दा पहिला अस्पताल पुगेकी थिइन् । अस्पतालमा निधनको खवर पाएपछि उनी बेहोस नै भएकी थिइन् । पछि उनी त्यहाँबाट आर्यघाट पुगिन र साँझ लाजिम्पाट गएकी थिइन् ।
प्रकाशको मंसिर ३ गते आकस्मिक हृदयघातका कारण असामयिक निधन भएको थियो । उक्त निधनले प्रचण्डको परिवार शोकमा डुवेको छ । यति हुँदा हुँदै पनि देश, जनता र पार्टीप्रतिको जिम्मेवारी लिदै परिवारका सदस्य आसन्न प्रतिनीधिसभा र प्रदेशसभाको चुनावी काममा खटेका छन् ।
प्रकाशले अर्को विवाह गरेपछि पनि सिर्जनाले प्रचण्ड परिवारलाई अफ्ठ्यारो हुने केही काम गरेकी थिइनन् र केही दवाव पनि दिएकी थिइनन् । बरु, उपयुक्त समयमा न्याय पाउने उनको आशा थियो ।
उनले छोरा प्रसिद्धको बुबाको नाममा जन्मदर्ताको सानो माग राखेकी थिइन् । ढिलो चाडो न्याय पाउने सिर्जनाको विश्वास थियो । तर, पति प्रकाशको अचानक निधनले उनी शोकमा छिन् ।