चालीस कटेका महिलाहरूलाई पहिरन छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू

पहिले विवाहपछि मात्र साडी लगाउने चलन थियो । अहिले पनि चालीस कटेकाहरूको पहिलो रोजाइ भनेको साडी नै हो । यो उमेरका महिलाहरूलाई साडी सुहाउँछ पनि तर दसैंजस्तो पर्वमा केही नयाँ लगाउने सोच छ भने कुर्ता, लेहेंगा, वान पिस, गाउन पनि उत्तिकै सुहाउने गरी बडी सेपअनुरूप तयार पार्न सकिन्छ । अहिले फेसनमा रहेको कुर्तीमा लेहेंगा पनि निकै सुहाउने पहिरनमध्ये एक हो । बुटिकमा आउने महिलाहरूमा चालीस कटेकाहरूको संख्या नै बढी हुन्छ ।

इन्टरनेटको बढ्दो विकास तथा विदेश घुमघाम, छोराछोरी भेट्न विदेश पुगेर फर्किएका महिलाहरूको पहिरन च्वाइसमा समेत उताको हावा देखा पर्न थालेको छ । त्यसका साथै अहिले योग, फिटनेस क्लब एवं जुम्बामा आकर्षित यो उमेरका महिलाहरूले साडीलाई झन्झटिलो पहिरनका रूपमा लिन थालेका छन् । यो उमेर भनेको पहिरनसम्बन्धी गाइड लाइन थाहा हुनुपर्ने उमेर हो । पहिरन कसरी क्यारी गर्ने भन्ने विषयमा विशेष सतर्कता अपनाउनुपर्छ । सुहाउँदो पहिरन कसरी छनोट गर्ने र त्यसलाई कसरी सुधार्दै लाने भन्ने कुरा सबैमा अवगत हुनुपर्छ । दसैंजस्तो पर्वमा आफूलाई सुहाउने, जिउमा राम्रो देखिने पहिरन छानेर आकर्षक देखिनुपर्छ ।

चालीस वर्ष कटेपछि विभिन्न शारीरिक परिवर्तन आउने भएकाले पहिरनमा पनि केही परिवर्तन गर्दै जानु आवश्यक हुन्छ । यो उमेरका महिलाहरूमा हिप र वेस्टको भागमा बढी फ्याट जम्ने तथा मसल लुज देखिने हुन्छ । तसर्थ सोहीअनुरूप पहिरन छनोट गर्नुपर्छ । यो उमेरका महिलाहरूलाई टिनएजरहरूको जस्तो पहिरन सुहाउँदैन भने जस्तो पायो त्यस्तो लगाउँदा पनि उमेरभन्दा बढी देखिने डर हुन्छ ।

पहिरन छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू

१. फेसन ट्रेन्डमा जे छ त्यही लगाउनुपर्छ भन्ने छैन, आफ्नो शरीरको आकारअनुरूप सुहाउने पहिरन लगाउनुपर्छ । अरूको कपी गर्ने होइन आफ्नै छुट्टै स्टाइल बनाउनुपर्छ ।

२. लेहेंगा, साडी, कुर्ता–सुरुवाल आदि पहिरन लगाउँदा माथिदेखि तलसम्म एउटै कलर नलगाउने ।

३. धेरै डल र एकदमै फ्लपी कलर पनि नलगाउने ।

४. फेब्रिक धेरै सस्तो अर्थात् कमसल प्रयोग नगर्ने ।

५. टप्स र पाइन्ट दुवै टाइट फिटिङ हुनुहुँदैन । टप्स टाइट छ भने पाइन्ट लुज र पाइन्ट टाइट छ भने टप्स लुज भए राम्रो देखिन्छ ।

६.यो उमेरकाहरूलाई लेगिन्स सबैभन्दा सजिलो मानिन्छ तर यसलाई सपोर्टिभ आउटफिट आफ्नो अनुकूलताअनुरूप लगाउनु उपयुक्त हुन्छ । हिपदेखि चिरिएको कुर्तामा लेगिन्स लगाउनु ठीक होइन । काल्फ ठूलो छ भने लेगिन सकभर नलगाउने । लगाउनैपरे लामो कुर्तीमा मात्र लगाउने ।

४० कटिसकेका महिलाहरूले ब्राइट कलर तथा कलरफूल पहिरन छान्नुपर्छ । फेब्रिक पनि लामो समय टिक्ने र रिच लुक दिने खालको हुनुपर्छ । सकभर मिक्स एण्ड म्याच ड्रेस लगाउने । यदि शरीर एप्पल सेपको छ भने लङ कुर्ती वा लङ टप्स लगाउँदा हिप र पेट लुक्छ भने खुट्टाको सेप पनि राम्रो देखिन्छ जसले स्लिमसमेत देखाउँछ ।

यो उमेरका महिलाहरूले फेसन ट्रेन्डमा हिँड्नु हुँदैन भनेर सोच्नु गलत हो । आफूलाई ग्रुमिङ गरी निखार ल्याउने उमेर पनि यही हो । टिनएजमा त त्यत्तिकै पनि सुन्दर देखिन्छ र जस्तो पनि सुहाउँछ । त्यसैले ट्रेन्डअनुसार पहिरन लगाउनुअघि केही सतर्कता अपनाउनुपर्छ ।

जिन्स लगाउँदा बुट कट अथवा स्ट्रेट पाइन्ट उपयुक्त हुन्छ, जसले गर्दा टम्मी र हिप सानो देखिन्छ । यो उमेरका महिलाहरूले सेपवेयर लगाउनु पर्छ । यसले लुज भएको बेलीलाई कस्न सहयोग गर्छ र बडी टोन देखिन्छ । ब्रा पनि आफ्नो सेपअनुसार नै लगाउनुपर्छ । एसेसरिज, जुत्ता, एयररिङ, ब्याग आदि पनि पहिरनअनुरूप नै प्रयोग गर्दा स्टाइलिस्ट देखिन सकिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार