– जनक बराल
डिसेम्बर महिनामा ओलिभमा काम गर्ने क्रममा एक जना अजिब किसिमको पात्रसँग भेट भयो । ओलिभ टिप्ने काम काम निश्चय नै गाह्रो हुन्छ। घाम, चिसो , झरी जेसुकै भएपनि काम गर्नैपर्ने । त्यो समूहमा एक जना अनौठो प्रकृतिको भाइ पनि थियो । काम गर्दा हामीलाई चिसो लाग्थ्यो , भोक लाग्थ्यो , गाह्रो हुन्थ्यो अनि हामी यो काम गर्छु वा त्यो गर्दिन भन्दै रॊज्थ्यौ। कुनैबेला लापरबाही पनि गर्थ्यौ, तर उसलाई कहिल्यै थकाई लागेन , भोक पनि लागेन , जाडो पनि भएन अनि उसलाई सबै काम बिधि पुर्याएर मात्रै गर्नुपर्ने। लापरबाही उसको शब्दकोसमा थियन सायद । उ काम गर्दा पसिनाले निथ्रुक्क भिज्थ्यो अनि सोध्थ्यो ” बराल जी यस्तो पनि युरोप हुन्छ ?” उ झरीमा चप्लक्क भिज्दा सोध्थ्यो “बराल जी, यस्तो पनि युरोप हुन्छ ?” उसको प्रश्नले मेरो अन्तस्करणमा चसक्क बिझेको महसुस हुन्थ्यो । त्यसै बिषयमा मैले एउटा आर्टिकल पनि लेखे जुन आर्टिकल अनलाइनमा प्रकासन पनि भयो । अहिलेको बोलिचालिको भाषामा भन्दा त्यो लेख भाइरल भयो । केहीले बधाई दिए , कतिले आलोचना गरे, सबैको बुझाई समान हुँदैनन। मैले त्यसरी नै लिए । उ, म अनी हामी जस्तै कामदार का धेरै पिडा र ब्यथाका कथा खेतीमै हराउने गर्थे । कोही ब्यबसायिक पत्रकारले ब्यवसाय चलाऊन खेतीको कथा लेख्नसक्ला तर जो आँफै खेती मा रातदिन पसिना बगाउछ, उसले आफुले भोगेको अनि देखेको यथार्थ लेख्यो भने सजिब होला भन्ने लागेर मैले केही लेख्न शुरु गरे । त्यो क्रम अझै जारी छ ।
खेतीमा काम गर्दा धेरै अप्ठेरा र समस्याहरु आउँदा रहेछन्। खेतीपातीका ठुलाठुला फार्म प्रायजसो अलिक बिकट ठाउँमा नै हुने गर्छन् , जहाँको बसाई निश्चित रुपमा नै कष्टकर हुन्छ । प्रायः खेती कम्पनीका साहुहरुले सस्तो र पुराना अनि धेरैजना अटाउने खालको घरहरु भाडामा लिने गर्दछन, जहाँ मुस्किलले ५ – ६ जना अट्ने कोठामा १५-२० जनासम्म कोचेर राख्ने गरिन्छ । बिहान ७ बजे बाट शुरु हुने काममा गाडीको समस्याका कारण पहिलो ट्रिप साढे ५ बजे नै हिंड्नु पर्ने अवस्था हुन्छ भने अर्कोतर्फ १५-२० जनाको सगै बसाइ, एउटा मात्र चुलो अनी एउटा मात्रै ट्वाइलेट र बाथरुम । दिनभरिको कामको थकाई, गाडीको लामो कुराइ अनी घरमा आएर पनि नुहाउन तथा खाना पकाउन समेत पालो कुर्नुपर्ने अवस्था । अनेकथरी समस्याका चाङ्गहरु अनी भद्रगोल । न समयमा तातो खानु, न आनन्दको काम न रातको सहज र आरामदायी सुताइ । न घर परिवारलाई आफ्नो अवस्था भन्न सकिने , न साथीभाईहरुसँग मन खोल्न सकिने, निकै पेचिलो बनेको छ युरोप अनि पोर्तुगलको बसाई कार्डको सपना।
केही दिन अगाडी ओदेमिराबाट बस चढेर फर्किदै थिए, बसमा एक हुन् नेपाली अनुहारहरु उक्लिए, आ-आफ्नो सिटमा बसे। कोही मेरा अगाडी, कोही पछाडिको सिटमा अनि एकै बसको यात्रा शुरु भयो । उनीहरु आफ्ना भलाकुसारी र जीवन भोगाईहरु शुरु गरे, मैले सुनिमात्रै रहे। उनीहरुको कुरा सुन्दा थाहा भयो, त्यो हलमा बस चढेका सबैजना पोर्तुगलमा नयाँ रहेछन् र भर्खरै खेतिको अनुभब बटुल्दै रहेछन् उनीहरु । आफुले काम गर्ने कम्पनीप्रति को तिब्र असन्तुष्टी अनी खेती कम्पनीका साहुप्रतिको आक्रोस मात्रै झल्किन्थ्यो उनिहरुका हरेक शब्दमा । सबैले भन्दै थिए ” पोर्तुगल आयर दु:ख पाइयो, कमाई भएन , १/ २ महिना फाल्तु बसियो , खेती साहुले घरको भाडा महंगो लियो, मेस ठुलो भएकोले मिठो अनि भनेजस्तो खाना खान पाइएन , काम घट्यो, काममा टर्चर निकै दियो ” आदी इत्यादी बग्रेल्ती समस्याका चाङहरु ।निरास अनि हतोत्साही देखिन्थे सबै । यो देश यस्तै हो, बिस्तारै सबै ठीक त हुँदैन तर पनि सहने बानी पर्छ, धैर्य हुनुस् भन्न पनि मिल्ने परिस्थिती थिएन त्यहाँ ।
संगै काम गर्ने क्रममा एकजना विद्वान मित्रले पछुतो ब्यक्त गरे । उनको भनाइ अनुसार उनी नेपालमा बिश्वबिद्यालयबाट डिग्री होल्डर रहेछन् अनि महिनामा सजिलै ५० हजार कमाउने ब्यवसाय पनि गर्दा रहेछन नेपालमा । कसैको बहकाउमा लागेर पोल्यान्डको कुखुरा प्याकिङ्ग भिसामा पोल्यान्ड आएर पोर्तुगल छिरेका रहेछन उनी ।भन्दै थिए , ” पोर्तुगल आए र यस्तो दु:ख पाईन्छ भन्ने थाहा पाएको भए म कुनै हालत मा यहाँ आउने थिएन “।
मेरो मानसपटलमा एउटा घटना अझै ताजै छ, मैले २०१७ को सुरुमा एउटा लेख लेखेको थिए , पोर्तुगलको बारेमा । लिस्बनको मार्तिममुनिज पार्कमा केही नेपाली साथीभाईहरु त्यही लेखको बारेमा बहस गर्दै भन्दै थिए – ” त्यो लेख लेख्ने मान्छे को हो ? सबै यथार्थ किन लेख्ने ? आफ्नै घरपरिवार लाई समेत साँचो कुरा भनिएको छैन, झन छिमेकी साथीभाईले पढेभने हाम्रो इजत कहाँ पुग्छ ? त्यस्ता लेखक लाई खोजेर कुट्न पर्छ । ” उनिहरुलाई के थाहा, त्यो लेख लेख्ने मान्छे उनिहरुकै पछाडी उभियर उनिहरुका गफ र पीडा सुन्दैछ । मलाई रिस पटक्कै उठेन, बरु ग्लानी महशुस भयो। म जस्तै सुन्दर भबिस्यको सपना सजाएर परिवार र देश छोड्नेहरु एकैपटक छाँगाबाट नखसुन्। मेरो राय अरु यहाँ नआउन भन्ने कदापी होइन, मात्र यत्ति हो सबै राम्रा नराम्रा पक्ष केलाएर मात्र देश छोडुन् परदेश आउन् , कार्डको आशा र सुन्दर भविष्यको सपना बुन्दै यथार्थताको धरातलमा टेकेर मात्रै युरोप हानिउन् ताकी पोर्तुगलमा आएर कोही नेपाली मानसिक रोगी नबनोस् अनि आत्महत्या नगरोस् ।
खेती मा काम गार्हो छ । घाम पानी, झरी बादल केही भन्न पाइदैन । कमाई कम खटाई बढी हुन्छ । बस्न, खान अनि कामको कुनै ठेगान हुँदैन । साहुले न त समयमा पैसा दिन्छन् , न त काम अनुसारको तलब नै दिन्छन । कुनै दिन कागज बन्ला अनि सुखका दिन आउलान् भन्ने आशा बाहेक अरु मन बुझाउने कुनै उपाय हुँदैन खेतीमा । नेपालबाट लगानी गरेर आएको साहुको ऋण र सावा तिर्ने त निकै दुरको कुरा हो , ब्याज समेत तिर्न हम्मेहम्मे हुन्छ । भनेको बेला कामको कन्ट्र्याक्ट अनि काम गर्न चाहिने कागजपत्र सजिलै नपाईन सक्छ ।
कसैलाई चित्त बुझोस् या चित्त दुखोस् , पोर्तुगलको खेतीको बास्तबिकता यही हो । आफु आउने सबै यथार्थ देखेर भोगेर पनि नयाँ मान्छे लाई सत्य कुरा लुकाइदिने प्रबृत्तिले अरु धेरै चिरन्जिबीहरु जन्मिन सक्छन् भन्ने कसले सोचिदिने ? कानुनी प्रकृया पुर्यायर पोर्तुगल आउनुस् , खेतिमा काम गर्नुस् , ढिलो चाडो सबैको कार्ड बन्छ तर आत्तिने र ठुलो महत्वकाङ्क्षा अनि छिट्टै निराश हुने काम नगर्नुस् । टेलिभिजनमा देखेजस्तो झिलिमिली अनि नेपालबाट सोचेको रदेखेको जस्तो हुँदैन रहेछ बिदेश । जिन्दगीको गन्तब्य कहाँ हो, त्यो त कसैले देखेको छैन तरपनि यी तिता यथार्थ बुझ्ने कोसिस गरेर मात्र पोर्तुगल अनि पोर्तुगलको खेतिमा फजाल्नुस् अनि मात्र आउँदा दिन सहज हुनेछन ।