यतिबेला विश्वकप फुटबलको लिग चरणका पहिलो खेलहरू समाप्त भएर आयोजक रुसले इजिप्टसँग दोस्रो खेल खेलिसकेको छ । लिग चरणको पहिलो खेलहरू समाप्त हुँदा यो विश्वकपमा निकै उलटफेर हुन सङ्केत देखिएका छन् । विश्वकप २०१८ का प्रबल दाबेदार मानिएको जर्मनी पहिलो खेलमा पराजित भएको छ भने अर्जेन्टिना र ब्राजिल पनि बराबरीमा रोकिएका छन् । मेक्सिकाले जर्मनीलाई पराजित गर्नु र अर्जेन्टिनालाई आइसल्यान्ड र ब्राजिललाई स्वीटजरल्यान्डले बराबरीमा रोक्नुले कतै यो विश्वकप यीबाहेक अन्य राष्ट्रले जित्ने त होइन, बहस शुरु भएको छ । त्यस्तै, स्पेनलाई पोर्चुगलले बराबरीमा रोक्नु, क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै ह्याट्रिक गर्नु र आयोजक राष्ट्र रसियाले पहिलो खेलमै साउदी अरेबियाविरुद्ध ५ गोल गर्नु आफैँमा चर्चा र खोजीको विषय बनेको छ ।
रसियाको पाँच गोल
आयोजक राष्ट्र रसियालाई २०१८ विश्वकपको दाबेदारको रूपमा प्रस्तुत गरिएको छैन । तर, उद्घाटन खेलमै रसियाले साउदी अरेबियालाई ५–० ले पराजित गर्दै आफूलाई आयोजक राष्ट्रका रूपमा मात्रै सीमित नराखी विश्वकपको दाबेदारको रूपमा पनि उभ्याएको छ । रसियाले आफ्नो गृहमैदानमा जुन किसिमको प्रदर्शन ग¥यो त्यसले फुटबलका पण्डितहरूलाई एकपटक पुनः सोच्न बाध्य पारेको छ ।
रोनाल्डोेको ह्याट्रिक
यसअघिका विश्वकपमा मात्र ३ वटा गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै ३ गोलसहित ह्याट्रिक गरेर फुटबलप्रेमीहरूको ध्यान आफूतर्फ खिच्न सफल भएका छन् । स्पेनजस्तो विश्वकपको दाबेदार टोलीविरुद्धको खेलमा रोनाल्डोले ह्याट्रिक गरेर पोर्चुगललाई विश्वकपको दाबेदारको रूपमा प्रस्तुत गरेका छन् । पोर्चुगललाई विश्वकप फुटबलमा राम्रो अर्थात् उलटफेर गर्न सक्ने टिमको रूपमा गणना गरिए पनि विश्वकपको दाबेदारको रूपमा हेरिएको थिएन । तर, यो कुरालाई गलत साबित गर्दै पोर्चुगल अहिले विश्वकपको सशक्त टिममा देखा परेको छ ।
अर्जेन्टिना र ब्राजिल बराबरीमा रोकिए
विश्वकपका प्रमुख दाबेदारमा गनिएका अर्जेन्टिना र ब्राजिल बराबरीमा रोकिएका छन् । महारथी अर्जेन्टिनालाई नवप्रवेशी आइसल्यान्डले १–१ को बराबरीमा रोकेको हो । त्यस्तै, अर्को महारथी ब्राजिललाई पनि स्वीटजरल्यान्डले १–१ को बराबरीमा रोकेको थियो । दुवै टिमले सजिलै जित्ने विश्वास, अनुमान र अड्कललाई सही साबित गर्दै दुवै टिमले पहिले गोल गर्दै अग्रता लिए पनि अन्तिममा बराबरीमा चित्त बुझाउनुपरेको थियो । बार्सिलोनाका चर्चित स्ट्राइकरद्वय अर्जेन्टिनाका मेसी र ब्राजिलका नेमारले कुनै चमत्कार देखाउन सकेनन् ।
जर्मनी पराजित
विश्वकपको प्रमुख दाबेदार तथा डिफेन्डिङ च्याम्पियन जर्मनी लिग चरणको पहिलो खेलमा पराजित भएको छ । जर्मनीलाई मेक्सिकोले १–०ले पराजित गरेको हो । यसअघि सन् १९८५ मा मेक्सिकोले जर्मनीलाई पराजित गरेको थियो । खेल सुरु हुनुअघि जर्मनीले विजय हासिल गर्छ भन्ने पक्षमा ८७ प्रतिसत मत थियो भने मेक्सिको पक्षमा मात्र १३ । तर, यो मत सर्वेक्षणलाई गलत सावित गर्दै मेक्सिकोले जर्मनीलाई पराजित गरेर आफू कुनै महारथी टीमभन्दा कम नभएको सन्देश दिएको छ ।-घटना र विचारबाट