आज साउने संक्रान्ति, लुतो फाल्ने दिन पनि आजै


काठमाडौ । मुलुकभर आज साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यस दिन लुतो फाल्ने चलन पनि छ ।

असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ ।
असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्धेश्यले यो पर्व मनाउन थालिएको हो ।

आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरु चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नले दाद, लुतो, खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास गरिन्छ ।

कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पतिहरु बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ ।

यसैबीच आजबाट एक महिनासम्म महिलाहरुले हातमा मेहन्दी, हरियो चुरा लगाएर हिँड्ने गर्छन् । साथै महिलाहरुले साउनको सोमबार पनि व्रत बस्ने गर्छन् । शिवालयहरुमा साउन महिनाभर भीड लाग्ने गर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार