– सुभाषचन्द्र भण्डारी
राता गुराँसका थुङ्गा भिरपाखा सजाउँछन्
नेपाल विश्वकै ताज वीर डम्फू बजाउँछन्
जितमा फूलका माला कर्खा गाएर ओठले
माटोको वन्दना गर्छन् बस्तीले वन बोटले ।
।।१।।
शान्ति–मानवता–चेत भाव भ्रातृत्वप्रेमले
सपना बुन्छ नेपाल विश्व डाक्दछ स्नेहले
माटो र मुटुको नाता छवि प्यारो ऋतम्भरा
र, मान्छे रसिला राम्रा गह्रा रम्य हराभरा !
।।२।।
आफू बाँचेर नेपाली माटो के मिच्न दिन्छ र ?
वीरले दासता–जाबी सहेर हाँस्न सक्छ र ?
सुस्तामा प्राणको धागो बेरिएकै छ बेसरी
लाख गोविन्दले गोली थाप्छन् छाती खुला गरी !
।।३।।
गोटी हुँदा कतै हामी रिपु खेली जुधाउँछन्
कोसीमा बाँध बाँधेर कोसी सारा डुबाउँछन्
बेचिँदा यी नदीनाला धरा दर्कन्छ दर्दर
आमा रुन्छिन् गह्रा हेरी मुटु चर्केर चर्चर !
।।४।।
न्याय खोज्दै हिँडेका छन् देशमा न्यायधीश नै
मान्छेको के कुरा हेर मर्दै छन् आज ईश नै
नमरोस् देशको माटो बाँचोस् यै अंश ईश्वर
माटोसँगै म बाँच्ने छु नजाला प्राण यो पर !
।।५।।
अग्रगामी बनोस् चेत युग चिन्ने चिनाउने
बाँची उदारता साथ अरूलाई बचाउने
चलून् विकासका रेल मेची–काली कुदाउने
नचलून् स्वार्थका रेल दाउपेच चलाउने ।
।।६।।
पुर्खाको रक्तधाराले भिजेको इतिहास हो
आमाको ममता साँची बाँचेको वर्तमान हो
भोलिका निम्ति आजै नै रचिन्छन् स्वप्न सुन्दर
सपना फूल हुन् फुल्छन् कर्मका लहरा भर !
।।७।।
आम सञ्चार संसार लगिदे अब तार यो !
देशको शक्ति जो जे हो जनता अवतार हो
डाँडा–पाखा–पखेरामा कर्म–आहुति छर्नु छ
सम्झी धर्म–धरा–धाम देशलाई सिँगार्नु छ !
।।८।।
[ अनुष्टुप् छन्द ]
इमेल : vves.scb@gmail.com