काठमाडौं । केहि बर्ष देखि नेपालमा चिकित्सा शिक्षा बारे बहस चर्को बन्दै आएको छ । मेडिकल कलेज खोल्ने र नखोल्ने बारेमा समेत उच्चस्तर मै बहसको बिषय बनेको छ । त्यसो त झन्डै ३ करोड नेपालीको स्वास्थ्यसंग जोडिएको मेडिकल शिक्षा बारे बहस आवश्यक थियो तर नियम कानुन, कलेजको संख्या र गुणस्तरको बिषयमा समेत अनशन परिपाटी बस्नु गलत रहेको सरोकारवालाहरु बताउछन् ।
हरेक बर्ष नेपालबाट एमबीबीएस अध्ययन गर्न बङ्गलादेशमा ,चीन ,फिलिपिन्समा , भारत,इजिप्टमा, रुस, पाकिस्तान, कीर्गिस्तान र गुयनासम्म विद्यार्थी पुग्छन् ।
नेपालमा स्वदेश र विदेशमा अध्ययन गरी आएका गरी हरेक वर्ष औसतरुपमा १ हजार ५ सय देखि दुई हजार चिकित्सक उत्पादन हुने गरेका छन् । तर काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा दिँदा ६० र कहिले ४० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । स्वदेश मै चिकित्सा शास्त्र अध्ययन गरेका बिद्यार्थी बढी पास हुने गरेका छन् ।
विदेशमा अध्ययन गरेर आएका कति त ३३ पटकभन्दा बढी फेल भएको रेकर्ड समेत काउन्सिलमा छ । शिक्षा क्षेत्रमा चिकित्सा शिक्षा मात्र एउटा विधा हो, जसमा विदेशी बिद्यार्थी समेत नेपाल आएर अध्ययन गर्न चाहन्छन् । नेपालको सरकारी स्तरका मेडिकल कलेजहरु अब्बल मानिएको छ । यद्दपि पूर्वाधार र गुणस्तरमा मेडिकल कलेजलाइ ब्यबस्थित र निगरानी गर्न भने आवश्यक छ ।
हाल नेपालमा २१ वटा मेडिकल कलेज सञ्चालनमा छन् । सञ्चालनमा रहेका मेडिकल कलेजहरुले मेडिकल काउन्सिलबाट पाएको कोटा विद्यार्थीका लागि अपुग छ । नेपाल मै रहेका मेडिकल कलेजहरुलाइ पूर्वाधार सम्पन्न बनाएर नियमन गर्न आवश्यक छ । मेडिकल शिक्षा र स्वास्थ्यको गुणस्तर र नियमनको लागि अनसन बसेर माग गरेपछि मात्र पूरा गर्ने परिपाटी पनि अब अन्त्य हुनु आवश्यक छ ।