दिसा राम्रोसँग ननिस्किएमा वा निस्किएको दिसा गोटा पर्नु, सुक्खा हुनुलाई कब्जियत भनिन्छ ।
यसकारण हुन्छ कब्जियत
पछिल्लो समय कब्जियतको प्रमुख कारणको रूपमा खानपान देखिएको छ । नियमित खानामा रेसादार पदार्थको कमी, खानाको अनियमितताले कब्जियत बनाउने सम्भावना अत्यधिक हुन्छ ।
जंकफुड तथा रेस्टुरेन्ट आइटम जस्तो कि पाउरोटी, बिस्कुट, दुनोट, समोसा, पुरी, कचौरी, पकौडी, पानीपुरी, मःम, चाउचाउ, चाउमिन, पास्ता, डोसा, पिजाजस्ता खाद्यपदार्थले कब्जियतको सम्भावना बढाउँछ ।
मैदा र मैदाजन्य खादपदार्थ प्रयोग निकै बढेको पाइन्छ । यस्ता खाद्यपदार्थले पनि कब्जियत हुने गर्छ ।
बढी चिल्लो, बासी, मसालेदार गरिष्ठ खानाले पनि कब्जियतको समस्या हुने गर्छ ।
प्रशस्त मात्रामा पानी नपिउँदा, अत्यधिक धूम्रपान, चिया, कफी सेवनका कारण पनि कब्जियत हुन जान्छ ।
यति मात्र नभएर मानसिक चिन्ता र तनाव पनि कब्जियतको कारण हो । अपर्याप्त निद्रा, कम शारीरिक निष्क्रियता पनि कब्जियतको बाटो हो ।
कब्जियतले दिसा गर्न गाह्रो हुने, दिसा निकै कस्सिएर निस्कने, पेट ढुस्स हुने, खान मन नलाग्ने, आलश्य, चिडचिडाहटलगायतका लक्षण देखाउने गर्छ । यसकै कारण वाकवाकी लाग्ने, जिउ भारी हुने, रिंगटा लाग्ने, दिसामा रगत देखिनेजस्ता समस्या पनि निम्तिने गर्छ ।
के खाने ?
कब्जियतबाट बच्न सन्तुलित भोजनमा विशेष ध्यान पु-याउनुपर्छ ।
फलफूलमा मेवा, केरा, स्याउ, आँप, खरबुजालगायतको प्रयोग गर्दा राम्रो हुन्छ । त्यस्तै किसमिस, बदाम आदिको प्रयोगले पनि कब्जियतमा राहत मिल्छ ।
अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारीको प्रयोग गर्नुपर्छ । गाँजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ ।
कब्जियत भएमा दही, मही, पानी प्रशस्त पिउने गर्नुपर्छ ।