– रन्जना निरौला
प्रदुषित छ वर्तमान आफ्नै आँखा अघि
रक्ताम्य बनाइएका गुलाव
क्षतविक्षत जुनेलीको चित्कारबाट
प्रत्येक दिन
खबरका मुख्य लाइनहरू
धरधरी रोइरहेछन्
बलत्कृत पीडाले
कामिरहेछन् अक्षर अक्षर!
वर्तमान किन प्रताडित छ ?
निर्मम छ किन ?
किन पाउँदैन गुलाव ले निर्धक्क फुल्न
किन मिल्दैन जुनेलीलाई निर्धक्क डुल्न
किन सक्दैन विरुवा स्वतन्त्र हुर्कन
घर, आँगन, गाउँ, देश
किन छ असुरक्षित उसका लागि
के माग्छ समयले अस्मिताको बदला ?
सरकार !!
कस्तो व्यवस्ता छ तेरो न्ययालयमा
किन घटनुको सट्टा बढिरहेछ फुलको बरबादी
किन निमिट्यान्न पार्न सक्दैन अपराधी
कि तलाई जन्माउने आमा थिइनन ?
तिहार र तिज थिएन तेरो ?
ए सत्तामा बस्ने गुलावका आमा दिदी र बहिनी !
बन्दुक बोकेर परिवर्तनकालागि
क्रान्ति गर्न हिडने तिमी पनि गुलाव नै थियौ
किन छौ उदासिन हर खबरमा
छाउपाडी सुत्केरी, बोक्सी
कम छन् र दुख पाउन ?
आउन हो दिदी आमा दाइ र बाहरू
कति थुन्छौ कान फूलका चित्कार नसुन्न
कति गर्छौ नसुनेझै खबर, नपढेझैँ अखबार
दवाउँदै पिडितको आवाज
दिएर अपराधिलाई उन्मुक्ति !
भो अति भो अब उठौँ न !
अपराधको प्रदुषित कुहिरो हटाउन
अर्को अपराधी जन्मनु अघि
सोच्न बाध्यहोस परिणति
कति हेर्नु फुलका घाउ र
सुन्न नसक्नु आँसुको आह्वान
अपराधको रात हटाउन धावा बोलौ घाम भएर
मानौ क्रान्ति नै हो यो, अभियान नै हो यो
अपराधी निर्मुल पार्ने
ए मालीहो !
नभए त छैनन है सुरक्षित तिम्रा गुलाव मेरा जुनेली
आफ्नै घर बारीमा !!