धारामा पानि लिन गएकी बालिका बलात्कृत, ३० हजार घुससहित प्रहरी निरिक्षक रंगेहात पक्राउ, सेमीफाईनलमा नेपाल माल्दीभ्ससंग भिड्ने भारतिय राजदुतको नजरमा विपी प्रतिस्ठान उत्कृष्ठ, नयाँ एयरलाईन्सलाई काठमाडौमा उडान गर्न रोक

नगर प्रमुख रोहितको गोली हानी हत्या

रोल्पा नगरका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै गोली प्रहार गरी रोल्पा नगरपालिका २ का पुनको हत्या गरिएको हो । गोली लागेर मृत्यु भएका रोहित केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका थिए ।

सुलीचौरस्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको भर्खरै संचालनमा ल्याइएको एक स्थानीय रेष्टुरेन्टभित्रै गोली चलेको हो । स्थानीयका अनुसार घटना दिउँसो ४ बजेतिरको हो । घटनापछि हतियार सहित रोल्पा नगरपालिका १० का देवबहादुर घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताउनुभयो । घटनापछि फरार रहेका अन्य केही युवाको खोजी थालिएको प्रहरीले जनाएको छ ।

चिया पिउँदै कुराकानी गर्न भनी बोलाइएपछि मृतक रोहित साथीभाई छेउ पुगेका थिए । घटनापछि फरार रहेका अन्य केही युवाको खोजी थालिएको प्रहरीले जनाएको छ । चिया पिउँदै कुराकानी गर्न भनी बोलाइएपछि मृतक रोहित साथीभाई छेउ पुगेका थिए । रोल्पा नगरका सदस्य तथा नेविसंघका नेता शेरबहादुर थापाले आफ्ना कार्यकर्तामाथि दिउसै गोली हानेर हत्या गर्दा समेत राज्यले चाल नपाउनु दुस्खद् भएको बताउनुभयो । स्थानीय प्रत्यक्ष दर्शीका अनुसार टेबुलमै बसेका बेला विवाद उत्पन्न हुँदा मृतक रोहितका साथी देवबहादुरले तीन राउण्ड फायर गोली चलाएका थिए । एउटा गोली रोहितको मुटुमै लागेको थियो ।

‘गोली लागेर रोहितको घटनास्थलमै मृत्यु भएको हो ।’ प्रत्यक्ष दर्शी एक स्थानीयले बताए । घटनापछि मृतक रोहितको शव सुलिचौरमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो । स्वास्थ्य केन्द्र प्रमुख डा। प्रकृति भट्टराईले अत्यधिक रक्तश्राव र मुटुमै गोली लागेकाले उनको मृत्यु भएको बताउनुभयो । उक्त केन्द्रमै मृतकको पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । घटनामा कुन र कस्तो प्रकारको हतियार प्रयोग भएको थियो भन्नेबारे प्रहरीले जानकारी दिएको छैन ।

घटनापछि सुलीचौर बजारमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । राप्रपाका जिल्ला अध्यक्ष समेत स्थानीय अमरबहादुर थापाले दिउँसै प्रहरी चौकी नजिकै गोली चलाइएको घटना हुनु दुस्खद् भएको प्रतिक्रिया दिनुभयो । मृतक रोहितका आफन्त समेत रहेका थापाले सरकारले शान्ति सुरक्षाप्रति बेवास्ता गरेको गुनासो गर्नुभयो ।

उक्त घटनापछि सुलीचौर त्रसित रहेको घटनास्थल रहेको सुनील स्मृति गाउँपालिका वडा न ४ का अध्यक्ष गञ्जबहादुर महरा क्षत्रीले बताउनुभयो । मृतक रोहित र गोली चलाएको अभियोगमा प्रहरी नियन्त्रणमा लिइएका देवबहादुर सुरुमा मिल्ने साथी थिए ।

रोहितले लिबाङ बजारमा व्यायाम शाला ९जिम० संचालन गर्दै आएका थिए भने देव पनि उक्त व्यायाम शालामा आवतजावत गरिरहन्थे । तर भिन्नाभिन्ने मुद्दामा ती दुवै जना फरक फरक समयमा जेल समेत परिसकेका थिए । दुबैले केही वर्ष अघि रोल्पा कारागारमा जेल जीवन भोगिसकेका थिए । समाचार कान्तिपुरमा छ ।

सेमीफाईनलमा नेपाल माल्दीभ्ससंग भिड्ने

साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ। आइतबार भएको समूह बीको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २(० गोलले पराजित गरेपछि नेपालले माल्दिभ्स प्रतिद्वन्द्वी पाएको हो।

आइतबार भएको एकपक्षीय खेलमा भारतका लागि निखिल पुजारी र मनभीर सिंहले एकएक गोल गरे। भारत समूह बीको विजेताका रुपमा अन्तिम चारमा पुग्यो भने माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो।

भारतले दुई खेलमध्ये दुवैमा जित हात पार्दै ६ अंक जोड्यो। माल्दिभ्स र श्रीलंकाको समान एकएक अंक भए पनि माल्दिभ्सले गोल अन्तरका आधारमा अन्तिम चारमा स्थान बनाएको हो।

माल्दिभ्स र श्रीलंकाले एकापसमा गोलरहित बराबरी खेल्दा भारतसँग समान २(० गोलको हार भोगेका थिए। गोलअन्तर र हेड टु हेडतर्फ दुवै टिमको समान अंक भएपछि टसबाट समूह उपविजेता टुंगो गरियो। त्यसक्रममा माल्दिभ्सले टस जित्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो। जसको भेट अब नेपालसँग हुनेछ ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। सोही दिन हुने अर्को खेलमा भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।

सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो। नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो। यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन। १९९३ को सार्क गोल्डकपको तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए। सार्कसहित नेपालको यो १२ औं सस्करण हो। समाचार अन्नपूर्ण पोष्टमा छ ।

नयाँ एयरलाईन्सलाई काठमाडौमा उडान गर्न रोक

अत्यधिक हवाई ट्राफिक चाप व्यहोर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन आधार ९अपरेसन बेस० हुने गरी अब कुनै पनि नयाँ एयरलाइन्सले अनुमति पाउने छैनन् ।

काठमाडौं विमानस्थलमा आगमन र प्रस्थान विन्दु बनाउँदै नयाँ वायुसेवा कम्पनीहरूलाई अनुमति प्रदान रोक्न नागरिक उड्डयन प्राधिकरणले नयाँ नीति ल्याएको हो।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण वायुसेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्थाहरू’ मा यो वियष उल्लेख छ। यसअघि प्राधिकरणले काठमाडौं विमानस्थललाई हब बनाउँदै प्रस्ताव गर्न चाहने वायुसेवा कम्पनीलाई अनुमति दिन्थ्यो।

अब निजी क्षेत्रले अब नयाँ वायुसेवा कम्पनी स्थापना गर्नुपरे काठमाडौं बाहिरका विमानस्थलहरूलाई हब बनाउँदै उतै जानुपर्नेछ। प्राधिकरणले हब विमानस्थलहरू विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी र सुर्खेत विमानस्थललाई सूचीमा राखेको छ। यी विमानस्थललाई बेस बनाउन चाहनेले प्रस्ताव गरे अनुमति पाउनेछन्। त्यहाँबाट तोकिएका विमानस्थलमा उडान सञ्चालन गर्ने गरी वायुसेवा सञ्चालन अनुमति पत्र पाउनेछन्। तर, उडान सेक्टरसमेत स्पष्ट उल्लेख गरी मात्रै अनुमति प्रदान गरिनेछ। देशका अन्य भूभागमा हवाई सेवा विस्तार गर्न यो नीति ल्याइएको हो।

अहिले काठमाडौंलाई बेस बनाएर सञ्चालनमा रहेका वायुसेवा कम्पनीमध्ये कुनै बन्द भएमा वा काठमाडौं बाहिर सरेमा पनि नयाँ एयरलाइन्सले काठमाडौंलाई हब बनाउन सजिलै पाउने छैनन्। यस्तो अवस्थामा काठमाडौंबाहिर हबको अनुमति पाएका पुरानामध्येबाट काठमाडौंभित्र स्थानान्तरण हुने अनुमति दिइनेछ।

‘काठमाडौं विमानस्थलको भौतिक तथा पूर्वाधार क्षमता भएमा मात्रै स्थानान्तरणका लागि अनुमति दिन सकिनेछ,’ प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने। यसो गर्नुको उद्देश्य काठमाडौं बाहिरका ठूला आन्तरिक विमानस्थलको भौतिक पूर्वाधारको समुचित प्रयोग गर्ने र ती क्षेत्रलाई आन्तरिक उडानको केन्द्रका रूपमा विकास गर्ने रहेको छ।

त्यसैगरी अब नेपाली वायुसेवा कम्पनीले विदेशी पाइलट, इन्जिनियर ल्याउन पाउने छैनन्। ‘अर्बौं रुपैयाँका जहाज ल्याउने तर जनशक्तिमा लगानी नगर्ने प्रवृत्तिलाई रोक्न यसो गरिएको हो,’ उपमहानिर्देशक पोखरेलले भने। नयाँ नीतिअनुसार अबका दिन वायुसेवा कम्पनीले सेवा सञ्चालन गरेको ५ वर्षभित्र वायुयान चालक, इन्जिनियरजस्ता जनशक्ति पूर्ण रूपमा नेपाली नागरिक तयार गर्नुपर्नेछ। कुनै नयाँ प्रकारको वायुयान थप गरेमा ५ वर्षभित्रै नेपाली जनशक्ति तयार गरिसक्नुपर्नेछ।

‘नयाँ वायुसेवा कम्पनीलाई आवश्यक पर्ने चालक तथा वायुयान मर्मत सम्भार इन्जिनियर आवश्यक संख्यामा रहेको यकिन गरी मात्र सञ्चालन प्रमाणपत्रको प्रक्रिया अघि बढाइनेछ,’ नीतिमा भनिएको छ। यसको उद्देश्य हवाई सेवा उद्योगको दिगो विकासको लागि स्वदेशमै वायुयान चालक उत्पादन गर्ने र उड्डयन तालिम संस्था स्थापनालाई प्रोत्साहन गर्ने रहेको छ।

नयाँ नीतिले निजी क्षेत्रलाई उड्डयनसम्बन्धी जनशक्ति उत्पादन गर्ने, तालिम दिने संस्था, एभिएसन स्कुल स्थापनालाई प्रोत्सहान गरेको छ। उड्डयन क्षेत्रमा आवश्यक पर्ने वायुयान चालक उत्पादन गर्न र वायुयान चालकलाई आवश्यक पर्ने विभिन्न तालिमहरू सञ्चालन गर्न चाहनेलाई उपयुक्त विमानस्थल उपलब्ध गराइनेछ। त्यसैगरी जहाज राख्नका लागि यस्ता तालिम संस्थालाई विमानस्थलमा हयांगर निर्माण गर्न ५ वर्षसम्म जग्गा निस्शुल्क उपलब्ध गराइनेछ। ती सस्ंथाका विमानलाई अवतरण तथा पार्किङ शुल्कमा पूर्ण छुट दिइनेछ।

नयाँ नीतिले सबै वायुसेवा कम्पनीलाई विमान मर्मत गर्ने हयांगर अनिवार्य गरेको छ। वायुसेवा कम्पनीले सञ्चालन बेस तोकिएको विमानस्थलमा वायुयान सञ्चालन र मर्मत सम्भारका लागि आवश्यक सुविधासहितको हयांगर बनाउनुपर्नेछ। काठमाडौं बाहिर अपरेसन बेस स्थापना गरी सेवा सञ्चालनका लागि प्रोत्साहन गर्न ५ वर्षसम्म निस्शुल्क जग्गा प्राधिकरणले नै उपलब्ध गराउने भएको छ।

यो नीतिले रात्रि उडानलाई प्रोत्सहान गरेको छ। रात्रि उडानका वायुयानलाई अवतरण, बिसाउन, सुरक्षा शुल्कमा लाग्दै आएको थप अतिरिक्त शुल्कमा छुट प्रदान गरिने भएको छ। अतिरिक्त समय विमानस्थल सञ्चालन शुल्क तथा मौसमी सेवा शुल्कमा समेत छुट प्रदान गरिने भएको छ। आन्तरिक उडानका वायुसेवाहरूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम पहाडी क्षेत्रका विमानस्थलहरूमा अनिवार्य रूपमा प्राधिकरणले तोके बमोजिम नियमित उडान सञ्चालन गर्नुपर्नेछ।

अहिले सञ्चालनमा रहेका कम्पनीको क्षमताको विस्तृत मूल्यांकन गरेर मात्रै वायुयान संख्या थप गर्न पाउनेछन्। भने वेट लिज ९पाइलट, इन्जिनियर, जहाज भाडामा ल्याउने विधि० का आधारमा सञ्चालन प्रमाणपत्र दिइने छैन। त्यस्ता कम्पनीले वायुयान ल्याउन पनि पाउने छैनन्। अहिले नेपालमा १० वटा हवाईजहाज कम्पनी र १० वटा हेलिकप्टर कम्पनी छन्। यिनमा कुल वायुयान संख्या ९० हाराहारी छ। समाचार कान्तिपुरमा छ ।

हेलीकप्टर दुर्घटनाबारे सहसचिवको संयोजकत्वमा छानविन समिति गठन

सरकारले अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनाको छानबिनका लागि सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

सरकारले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।

छानबिन समितिको सदस्यमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थ जंग गुरुङ र समिट एयरका वरिष्ठ इन्जिनियर मेगेन्द्रकुमार श्रेष्ठ रहेका छन्।

मन्त्रालयले आइतबार छानबिन समिति गठन भएको जानकारी विज्ञप्तिमार्फत् गराएको हो। समितिलाई प्रतिवेदन बुझाउनका लागि एक साताको समय दिइएको छ।

गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर शनिबार बिहान नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेत जंगलमा दुर्घटना भएको थियो।

हेलिकोप्टरमा सवार पाँच यात्रु र एक पाइलटको मृत्यु भएको थियो। एकजनाको भने जीवितै उद्धार गरिएको छ। जीवितै उद्धार गरिएकी आनी डोल्माको मेडिसिटी अस्पतालमा उपचार भइराखेको छ। मृतकको शव आइतबार राजधानी ल्याइएको छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।

३० हजार घुससहित प्रहरी निरिक्षक रंगेहात पक्राउ

ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेशसिंह महता सेवाग्राहीबाट ३० हजार घुस लिँदै गरेको अवस्था आइतबार राति ८ बजे पक्राउ परेकाछन् ।

अख्तियार अनुसन्धान दुरुपयोग आयोग कोहलपुर कार्यालयबाट खटिएको टोलीले मुद्दा मिलाई दिने भन्दै रकम लिँदै गरेको अवस्थामा दसीसहित पक्राउ परेका हुन् ।

अख्तियारका सूचना अधिकारी तेजनाथ शर्माले घुस मिलाई दिने सहयोगी बढैयाताल गापाकी मैया पौडेललाई नियन्त्रणमा लिएको हो । यस अघि कालाबजार अन्तर्गत थुनामा रहेका रैदासलाई सुक्रवार राती घर बस्न पठाएको भन्दै जिल्ला प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले बताए । समाचार कान्तिपुरमा छ ।

धारामा पानि लिन गएकी बालिका बलात्कृत

वीरगन्ज महानगरपालिका(१२ मुर्लीमा आइतबार १५ वर्षीय एक बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन्। आइतबार बिहान ११ बजे घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेका हुन्।

परिवारका कोही पनि सदस्य नबस्ने र सरसामान मात्रै राख्ने गरिएको आफ्नो फुसको घरमा बालिकालाई लगेर ती किशोरले जबरजस्ती बलात्कार गरेपछि बालिका चिच्याएकी थिइन्। त्यो आवाज छिमेकीले सुनेपछि घटना थाहा पाएका थिए। बालिका चिच्याएको हल्ला सुनेपछि घर भित्र पुगेका छिमेकीले बालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

पीडित बालिका र आरोपित बालक दुवैजनाको आइतबार नै नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको प्रहरी निरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए।

स्वास्थ्य परीक्षणपछि बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ भने आरोपित बालकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक महत्तोले जानकारी दिए।

‘घटनापछि बालिका मानसिक रुपमा विक्षिप्त अवस्थामा छिन्, त्यसैले बालिकासँग धेरै कुरा सोध्न सकेका छैनौँ’, प्रहरी निरीक्षक महत्तोले भने,‘आरोपित बालकले भने आफनो अपराध स्वीकार गरिसकेका छन्।’

आरोपित पनि बालक भएकाले उनको परिचय गोप्य राखिएको छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।

भारतिय राजदुतको नजरमा विपी प्रतिस्ठान उत्कृष्ठ

नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्पादन गरेको चिकित्सक नेपाल र भारतमा मात्र नभएर संसारमै उत्कृष्ट मानिएको बताउनु भएको छ । पुरीले विश्वेश्वर प्रसाद कोइरालाको १०४ औं जन्मजयन्ति तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २५ औं स्थापना दिवसका अवसरमा भन्नुभयो, ‘यहाँ अध्ययन गरेका चिकित्सकको माग विश्वमै मान्यता पाउने भएकाले बीपी प्रतिष्ठानको विकासमा भारत सरकारले जहिले जतिखेर पनि सहयोग गर्न तयार छ ।’

उहाँले बीपी प्रतिष्ठानमा नेपालीले मात्र नभएर सिमानामा जोडिएका भारतीय नागरिकले पनि उपचार सेवा सुविधा लिन पाएकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानबाट उत्पादन भएका चिकित्सकको केही हिस्सा भारतको समेत भएको स्पष्ट पार्नुभयो । उहाँले बीपी प्रतिष्ठान नेपाल र भारतबीचको सहकार्यको प्रतीकको गहना भएको उल्लेख गर्दै भारतले नेपाललाई असल निकट छिमेकीको रुपमा सदैव ग्रहण गर्दै आएको बताउनुभयो । उहाँले नेपाल र भारतको सम्बन्ध सरकारी स्तरबाट मात्र नभएर जनस्तरदेखि नै प्रगाढ रहेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका उपकुलपति प्रा।डा राजकुमार रौनियारले २०५० सालमा आजकै दिन बीपीको जन्म दिन पारेर स्थापना भएको प्रतिष्ठानले २५ वर्षको अवधिमा धेरै सुविधाहरु थप गरेको बताउनुभयो । उहाँले हालसम्म प्रतिष्ठानले ४ हजार १ सय चिकित्सक उत्पादन गरिसकेको जानकारी दिंदै विगतमा ४० जना बिरामीलाई लक्षित गरी निर्माण गरको प्रतिष्ठानमा हाल दैनिक ४ हजार भन्दा बढीको उपचार गर्ने गरेको बताउनुभयो ।

समारोहमा चिकित्सा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउने प्रा।डा सुन्दरमणि दिक्षित, डा। मनोहरपसाद गुप्ता, प्रतिष्ठानका पूर्व उपकुलपति लोकविक्रम थापा र पूर्व रजिष्टार नन्दबहादुर थापा लगायतलाई सम्मान गरिएको थियो । समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार