समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् । धनकुटा मुलघाटको विश्रान्ति आश्रम । जिन्दगीले विश्राम गर्ने उमेरका बाआमा परिवारका सदस्यजस्तै भएर बसेका छन् । यहाँ आउनुभन्दा पहिले सबै बिरानो थिए । तर अहिले उनीहरु एकअर्काका सुखदुःखका साथी भएका छन् । कोही परिवारका सदस्य गुमाएर यहाँ आए ।
कोहीले हुँदाहुँदै छाडेर आए । कथा, व्यथा आआफ्नै भए पनि जिन्दगीको भोगाई साझा छ, उनीहरुको । जिन्दगीको हिसाबकिताब र अपेक्षाको लेनदेन केही छैन । जिन्दगीले भोग्ने जति भोगिसक्यो । देख्ने जति देखिसक्यो । सहने जति सहिसक्यो । अब पाउनु र गुमाउनु केही पनि छैन ।
तमोर नदीजस्तै बगिरहेको छ सबैको जिन्दगी । हेर्नुपर्नेले नहेरे पनि उनीहरुलाई अब पछुतो छैन । आफ्ना पराइ भए पनि पराई आफ्ना भएका छन् । जिन्दगीको अन्तिम क्षण सुखदुःख चलिरहेको छ । विश्रान्ति आश्रममा बस्नेहरुको जिन्दगी देखेर लाग्छ, मान्छे जस्तो पीडा पनि सहन सक्छ । जिन्दगीको केही भर हुन्न । अनि जिन्दगी पढ्ने होइन, भोग्ने कहानी रहेछ ।
मन्दिरमा बेला बेला बजिरहने घन्टका आवाज, आँपका डालीमा आएर कराइरहने कागहरु, एक तमासले सुसाइरहने तमोर, साँझ विहानको हरिकिर्तन । यस्तै छ यहाँको चित्र । प्राय सबै शान्त छन् । बिस्तारै हिँड्छन् । सुस्तरि बोल्छन् । कोही बोल्दै बोल्दैनन् । कोही दिनभरि एकनाश बत्ति कातिरहन्छन् ।
विश्रान्ति आश्रममा शान्त छ अहिले जिन्दगी । जिन्दगीले भोग्ने जति भोगिसक्यो, देख्ने जति देखिसक्यो र सहने जति सहिसक्यो । कोही गुमाएर आए । कोही हुँदा हुँदैको छाडेरै आए । सब जना थाकेरै आए । अहिले जिन्दगी एक्लो छ । शुन्य छ । अपेक्षाहरुको लेनदेन छैन । हिसाब किताब छैन । पाउनु गुमाउनु छैन । जिन्दगी खोला जस्तै बगिरहेछ । तमोर जस्तै ।
बिद्या छापागाई भन्छिन ”यो कथालाई नाम दिन हामीलाई असाध्यै कठीन भयो । यो कथाका पात्रहरु र उनीहरुका भोगाई सुनिसकेपछि हामीलाई लागेका दुइटा कुरा – मान्छे जस्तो पीडा पनि सहन सक्छ । दोस्रो जिन्दगी अनिश्चितै अनिश्चितताको श्रृंखला हो । यो जिन्दगीको कथा हो । ”
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भनिन्छ । हेर्ने कथा महिनामा २ पटक, अँग्रेजी महिनाको १ तारिख र १५ तारिख प्रसारण हुन्छ जुन बेलुकी ९ बजे हेर्ने कथाका नयाँ अंक सार्वजनिक गरिन्छ ।
अहिलेलाई हेर्ने कथा कुनै पनि टिभी च्यानलमा प्रसारण हुँदैन । भविष्यमा दर्शक श्रोताको माग र चाहना बमोजिम गर्दै जाने योजना छ । हाम्रा विषयवस्तुको छनौट र कथा भन्ने शैली नितान्तः प्रस्तोताका हुन् । भन्ने कथासँग कुनै किसिमको वाह्य स्वार्थ गाँसिएको छैन । यो कम्पनीको नाम तानाबाना हो । ‘हेर्ने कथा’ तानबानाको एउटा उत्पादन हो । हेर्ने कथा तयार पार्न ‘उज्यालो’ले सहयोग गरेको छ । त्यसैले यो कार्यक्रमहरु उज्यालोको युट्युब च्यानलमा पनि उपलब्ध हुन्छ ।
पढ्ने कथा र हेर्ने कथामा तपाईंका कथा- तपाईंका आफ्ना जिन्दगीका भोगाइहरु हेर्नेकथा लाई लेखी पठाउनुस् । जसलाई ‘पढ्ने कथा’ स्तम्भमा प्रकाशन गरिन्छ । तपाईंका दुःख सुःखका कथा अरुका लागि प्रेरणा पनि बन्न सक्छन् । सामग्रीहरु पठाउन बिद्या चापागाईको फेसबुकमा सम्पर्क राख्न सकिन्छ ।