निर्मला हत्या प्रकरणमा अब एसपी सहित १६ प्रहरीमाथी छानविन हुदै, जानकी मन्दिर व्यवस्थापनको लागि सात करोड जसले सुतिरहेको दिदीबहीनीलाई तेजाब हान्यो उही कुरावा बस्न गएपछि

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धि गरेको हो ।

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । यससँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १४ तथा डिजेल र मट्टितेलको १ सय १ कायम भएको छ ।

खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ। केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धि भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ । मूल्य समायोजन पश्चात पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा, डिजेलमा प्रति लिटर २ रुपैयाँ ७२ पैसा र एलपी ग्यासमा प्रति सिलिण्डर ३ सय ९ रुपैयाँ ७९ पैसा घाटा नै रहेको निगमले जनाएको छ । समग्रमा पाक्षीक घाटा करीब ३१ करोड ६७ लाख रुपैयाँ पुगेको प्रवक्ता गोइतले जानकारी दिनुभयो ।

पछिल्लो १५र२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको, डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएको र सोही मुताविक इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार मूल्य समायोजन पछि भारतको रक्सौल भन्दा नेपालको वीरगञ्ज तर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर २९।४४ रुपैयाँ तथा डिजेलमा प्रतिलिटर २८।४४ रुपैयाँ सस्तो छ । समाचार कान्तिपुरमा छ ।

जसले सुतिरहेको दिदीबहीनीलाई तेजाब हान्यो उही कुरावा बस्न गएपछि

रौतहटका दुईजना किशोरीलाई तेजाव हानेको अभियोगमा उनीहरुकै एकजना छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झनाकुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारीमाथि तेजाव हानेको अभियोगमा छिमेकी रामबाबु पासवानलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।

घटनाको ६ दिनपछि प्रहरीले बिरामी कुरुवा बसेका घाइतेहरुका छिमेकी पासवानलाई कीर्तिपुर अस्पतालबाट पक्राउ गरेको हो । पक्राउ परेका पासवान पीडितका बुवा जादोलाल दाससँगै अस्पतालमा कुरुवा बस्न काठमाडौँ गएका थिए ।

प्रहरीले पासवानलाई पक्राउ गरेकोबारे केही विवरण सार्वजनिक गरेको छैन । तर पीडित किशोरीका बुवा जादेलालले छिमेकी पासवानलाई प्रहरीले पक्राउ गरेको बताएका छन् । उनलाई प्रहरीले सोमवार काठमाडौँबाट रौतहट ल्याएको छ । गत भदौ २६ गते राति करिब १२ बजे सम्झना र सुस्मिता सुतिरहेको अवस्थामा तेजाव हानिएको थियो ।

तेजाव हानिएपछि उनीहरुको उपचारमा सहयोग गर्न पासवान नै पहिले पीडितको घरमा पुगेका थिए । कीर्तिपुरस्थित अस्पतालमा दुवै दिदीबहीनीको उपचार भइरहेको छ । कुरुवा बस्दा पासवानमाथि शंका लागेको किशोरीहरुका बुवा जादोलालले बताए ।

पासवानमाथि अनुसन्धान गरेर कडा भन्दा कडा कारवाही गर्न उनले माग गरेका छन् । ठुली छोरी सम्झनाको अवस्था अझै पनि गम्भीर छ । उनको शरीरको ३५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

उनको अनुहार, घाटी, ढाड र छाती गहिरो गरी जलेको छ । बहिनी सुस्मिताको भने अवस्था सामान्य हुँदै गएको छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।

जानकी मन्दिर व्यवस्थापनको लागि सात करोड

प्रदेश २ सरकारले प्रसिद्ध धार्मिकस्थल जनकपुरधामस्थित जानकी मन्दिरलाई सौन्दर्यकरण गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउन ७ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत जानकी मन्दिर परिसरमा पर्यटकीय आकर्षणका लागि भौतिक संरचना निर्माण गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रतिक्षामा रहेको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर परिसरमा स्वच्छ, सुन्दर, रमणीय स्थलहरुको निर्माण, सरसफाइ, बगैंचा निर्माण गरी हरियाली बनाउने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले दक्षिण एसियाका हिन्दूहरुको आस्थाको केन्द्र, पवित्र धार्मिकस्थल जनकपुरधामलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको रुपमा विश्वभर चिनाउन मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यकरण परियोजना शुरु गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । रेक वर्ष लाखौंको संख्यामा दर्शनार्थी, श्रद्धालु भक्तजनहरु जानकी मन्दिरमा पूजाआजा गर्न आउने गरेकाले थप व्यावस्थापन गर्न लागेको मुख्यमन्त्री राउतको प्रस संयोजक आतिश मिश्रले बताउनुभयो ।

उहाँका अनुसार मन्दिर परिसरमा चारैतीर ग्रेनाइट लगाउने र रङ्गीचङ्गी बनाउनका लागि लागत स्टमेट समेत तयार भइसकेको छ । ‘मन्दिरभित्र र बाहिर निकै आकर्षणयुक्त बनाउने योजना छ, जानकी मन्दिर सौन्दर्यकरण गर्न मुख्यमन्त्रीको मूख्य चासो छ, प्रेस संयोजक मिश्रले भन्नुभयो, ‘मन्दिर प्रवेशलाई थप व्यावस्थित बनाइ नयाा गेट निर्माण गरिने छ ।’

जानकी मन्दिर परिसरमा आकर्षक भौतिक संरचना निर्माणका लागि मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भइसकेको छ । मुख्यमन्त्री स्वच्छता अभियानको पहिलो चरणमा ७ करोड रुपौयाँ लगानीमा भौतिक संरचना निर्माण गरेपछि विश्वभरका पर्यटकलाई कम्तिमा एकपटक जनकपुरधाम आउने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्दिरको भौतिक संरचना निर्माण र व्यवस्थापनको लागि केही दिनभित्रै टेण्डर प्रक्रिया शुरु हुने प्रेस संयोजक मिश्रले बताउनुभयो । यसअघि मुख्यमन्त्री राउतले प्रदेश नं २ को राजधानी समेत रहेको जनकपुरको मुटु जानकी मन्दीरबाटै मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ गर्नु भएको थियो ।

यसअघि गैर आवाशीय नेपाली संघ एनआरएनले जानकी मन्दिरलाई उज्यालोयुक्त बनाउन लाइटिङ सिस्टमको लागि ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने मन्दिर व्यावस्थापनसँग सम्झौता गरी काम सुरु गरिससकेको छ । एनआरएनले मन्दिरभित्र चारैतीर अत्याधुनिक बत्ती जडान गर्न लागेको छ । समाचार कान्तिपुरमा छ ।

यस कारण तातोपानी नाका खुल्न सकेन

अरनिको राजमार्गको बाह्रबिसेदेखि चीनको सीमासम्मको सडक क्षतबिक्षत हुँदा तातोपानी नाका सञ्चालनमा थप समस्या देखिएको छ ।

२०७२ सालको भूकम्पपछि बन्द तातोपानी नाका खुलाउने स्थानीय प्रयत्नलाई सडककै कारण असम्भव भएको हो । राजमार्गको बाह्रबिसे लिपिङ खण्डको २६ किलोमिटरमा दर्जन बढी ठाउँमा भएको पहिरोका कारण नाका सञ्चालनमा थप समस्या परेको व्यवसायी र स्थानीय जनप्रतिनिधिको बुझाइ छ ।

भूकम्पले संरचनामा क्षति पुर्या‍एको भन्दै बन्द रहेको तातोपानी नाका २०७३ सालमा आएको भोटेकोशी बाढीले लिपिङदेखि तातोपानीसम्मको चार किलोमिटर सडक ठाउँ ठाउँमा कटान गरेपछि यातायात सञ्चालन हुन सकेको छैन ।

भूकम्पपछि मुस्किलले जोडेको ट्रयाक पनि बाढीले क्षतबिक्षत बनाएपछि दुई वर्षदेखि सीमाक्षेत्रमा यातायातका साधन आउन नसकेको स्थानीय वडासदस्य डावाङदोर्जे शेर्पाले बताए ।

बाह्रबिसेदेखि तातोपानीसम्म जलविद्युत आयोजनाले पटक पटक सडकको पहिरो पन्छाउँदै बेलाबेलामा यातायात सञ्चालन गरेपनि तातोपानी लिपिङ खण्डमा कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।

तातोपानीसम्म अबरोध हटाउँदै यातायात सञ्चालनमा ल्याएपनि तातोपानी माथि कसैको ध्यान नपुगेको कोदारीका पूणबहादुर श्रेष्ठले बताए । स्थानीयलाई सडक बने नाका खुल्थ्यो भन्ने आश त छ नै सडक नहुँदा खाद्यान्न ढुवानी र बिरामीको उपचारमा समेत समस्या परेको छ ।

‘सडक छैन बिरामी भयो भने कसरी अस्पताल पुर्‍याउने भन्ने चिन्ता छ’, श्रेष्ठले भने, ‘सडक बन्यो भने नाका सञ्चालनमा आउला र रोजी रोटीको बाटो भेटिएला भन्ने आशा पनि छ ।’

अघिल्लो वर्षको साउनमा आएको बाढीले लार्चा पुल बगाएपछि बेली ब्रिज राखेर तातोपानीसम्म यातायात सञ्चालन गरेको छ । अर्बौं राजश्व संकलन हुने नाका र अरनिको राजमार्ग सरकारको प्राथमिकतामा नपरेको भन्दै व्यवसायी र स्थानीय आक्रोशित छन् ।

सीमाक्षेत्रको कोदारीमा सडक तलबाट भोटेकोशीले कटान गर्ने र माथिबाट पहिरोले पुर्ने गर्दा नया टय«ाक खोल्नुपर्ने अबस्था छ । स्थानीय तहको बजेटले नभ्याउने भएकाले पटक पटक सरकारका विभिन्न मन्त्रालयमा आग्रह गर्दा पनि सडक निर्माणमा ध्यान नदिएको सिमा क्षेत्र समेटिएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए ।

‘नदीबाटै जग उठाएर सडक निर्माण गर्नुपर्ने अबस्था छ’, पौडेलले भने, ‘हाम्रो स्रोतबाट सडक निर्माण गर्नै सकिंदैन, जति झक्झकाउँदा पनि सरकारले ध्यान पुर्‍याएन ।’

चुनाव ताका तातोपानी नाका सञ्चालन र सडक निर्माण पहिलो एजेन्डा बनाएर भोट मागेका नेताले पनि आफ्नो प्राथमिकतामा नराखेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठ बताउँछन् ।

‘नाका सञ्चालन नहुँदा सयौं व्यवसायी बिस्थापित भएका छन्’, श्रेष्ठ भन्छन्, ‘पटक पटक मन्त्रीदेखि प्रधानमन्त्री कहाँ ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाइ भएन ।’

श्रेष्ठका अनुसार भूकम्पपछि प्रत्येक पटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री, अर्थ मन्त्री, परराष्ट्र र भौतिक योजना मन्त्रीलाई संघको अगुवाईमा ज्ञापनपत्र बुझाइएको छ । ‘प्रत्येक सरकारले आश्वासन दिन्छन् तर पूरा गर्दैनन् ।’

गत भदौ १७ गते सिमा क्षेत्र निरीक्षणमा आएको उच्चस्तरीय चिनिया टोलीले नेपाल तर्फको सडक सञ्चालनमा आए नाका सञ्चालनमा आउन सक्ने जनाएको थियो । टोलीले नाका सञ्चालन गर्न नेपालतर्फकै सडक बाधक भएको निश्कर्ष निकालेको थियो ।

तातोपानी नाका सञ्चालन चिनको प्राथमिकतामा नपर्नु र नेपाल सरकारले पनि चासो नदिनुले व्यवसायीहरु अब सँधैका लागि नाका बन्द हुने त हैन भन्ने शंका गर्न थालेका छन् । समाचार अन्नपूर्ण पोष्टमा छ ।

निर्मला हत्या प्रकरणमा अब एसपी सहित १६ प्रहरीमाथी छानविन हुदै

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले आइतबार डीआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको छानबिन समितिले काम सुरु गरेको छ ।

समितिले सोमबार मात्रै पन्तको बलात्कार र हत्या घटना अनुसन्धानमा संलग्न एसपी डिल्लीराज विष्टसहित नौ अधिकारीसँग प्रहरी प्रधान कार्यालयमा बयान लिएको छ । अनुसन्धानमा प्रत्यक्ष संलग्न १६ जनाको बयान लिने तयारीअनुरूप सबैलाई प्रधान कार्यालयमा बोलाइसकिएको छ । सबैजसो अधिकारीसँग अनुसन्धानमा उनीहरूको भूमिका के थियो, अनुसन्धान कसरी अगाडि बढाइयो भन्नेदेखि अनुसन्धान निष्कर्षमा पुग्न नसक्नुको कारणबारे सोधिएको छ ।

समितिले निर्मला पन्तको अनुसन्धानमा संलग्न ६ जनाको बयान लिइसकेको छ भने अन्यको पनि पालैपालो बयान लिइनेछ । प्रत्यक्ष रूपमा घटनाको अनुसन्धानमा खटिएकाहरूको पोलिग्राफ टेस्टसमेत गर्ने समितिको तयारी छ । एक सदस्यका अनुसार घटना कसरी घट्यो र दोषी को हो भन्दा पनि प्रहरीको अनुसन्धान कहाँ, कसरी र कस्तो त्रुटि भयो भन्नेमा समिति केन्द्रित भएको छ ।

यसअघि भदौ १४ मा प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा समिति गठन गरे पनि केही दिनमै उनी नियमित कार्यक्रममा सहभागी हुन चीन पुगेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनी एक सातापछि मात्रै नेपाल आइपुग्नेछन् । समितिको नेतृत्व गरेकै व्यक्ति चीन गएपछि र त्यसलगत्तै गृहले अनुसन्धानमा संलग्न अधिकारीलाई निलम्बन गरेपछि दबाबमा परेको प्रहरीले डीआईजी बस्नेतको नेतृत्वमा समिति गठन गरेको थियो ।

गृह मन्त्रालयले भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा समिति गठन गरेर अनुसन्धान अगाडि बढाएको थियो । उक्त समितिले भदौ ३० मा गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनकै आधारमा गृह मन्त्रालयले गत शनिबार एसपी डिल्लीराज विष्टसहित पाँच जनालाई निलम्बन गरेको थियो ।

घटनालगत्तै केन्द्रीय अनुसन्धान ब्युरोले डीएसपी अंगुर जीसीको नेतृत्वमा अनुसन्धान टोली कञ्चनपुर पठाएको थियो । उक्त टोली फर्केलगत्तै केन्द्रीय अनुसन्धन ब्युरोबाटै एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वको अर्को समितिले घटनामाथि अनुसन्धान थालेको थियो ।

अबको बाटो
कञ्चनपुर घटनाको अनुसन्धान कसरी टुंगोमा पुर्‍याउने भन्नेबारे प्रहरीले कुनै निर्दिष्ट बाटो पक्रिसकेको देखिँदैन । समय लम्बिँदै जाँदा र प्रमाणहरू नष्ट भइसकेको अवस्थामा अभियुक्त पत्ता लगाउन सजिलो छैन । अनुसन्धानमा भएका त्रुटिबाट केही नयाँ तथ्य स्थापित हुने प्रहरीको आशा भए पनि बयानमा बोलाइएका धेरैजसो प्रहरीले कुनै योजना बनाएर प्रमाण नष्ट गरिएको भन्दा पनि दबाबका बीच काम गर्दा त्यस्तो हुन गएको बयान दिएका छन् ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार भेजाइनल स्वाबमा भेटिएको वीर्य नै प्रहरीका निम्ति सबैभन्दा बलियो प्रमाण हो । त्यसका अलावा घटनास्थलमा सक्रिय फोन र शंकाको घेरामा तानिएका व्यक्तिहरूको फोनको विवरणलाई पनि अनुसन्धान समितिले दोहोर्‍याएर केलाउने तयारी गरेको छ ।

पूर्वडीआईजी नवराज ढकाल कञ्चनपुर घटनाले प्रहरीको सामाजिक छवि धमिल्याएको टिप्पणी गर्छन् । ढकालको अनुभवमा अब प्रहरीले तय गर्ने बाटो भनेकै सुरुदेखि नै अनुसन्धान गर्नु हो । उनले भने, ‘अनुसन्धानले बाटो बिराएपछि सुरुदेखि नै अनुसन्धान गर्नुको विकल्प छैन ।’ उनले कञ्चनपुर घटनाबाट गिरेको प्रहरीको साख उकास्न प्रहरी प्रधान कार्यालयले नै विशेष रणनीति तय गर्नुपर्ने बताए । समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार