वि.सं. २०७५ आश्विन ०६ गते शनिबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४३ बजे र सूर्यास्त : साँझ ०५:५१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०६:०५ बजे, भाद्रपद शुक्लपक्षको त्रयोदशी तिथि, मध्यरात्रीपछि ०४:५९ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, धनिष्ठा नक्षत्र, बेलुका ०८:०१ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, बिहान ०६:४९ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, धृति योग, मध्यरात्रीपछि ०५:३१ बजेसम्म, त्यसपछि शूल योग, कौलव करण, दिउँसो ०४:०३ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : प्रवद्र्ध, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण, वारशूल : पूर्व, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : शनि प्रदोष व्रत, न्हुघया, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, कलशचक्र,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : अनन्त चतुर्दशी व्रत, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, ०८ गते : पूर्णिमा व्रत, कुमारी इन्द्रयात्रा, स्वाँछाया, लंकु ढँडार मष्टो पूजा, सद्गुरु श्री देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), ०९ गते : इन्द्रदह स्नान, भक्तपुरमा सिद्धपोखरी मेला, सोह्र श्राद्ध प्रारम्भ, सोह्र श्राद्धअन्तर्गत प्रतिपदा तिथिको श्राद्ध, चेपांगहरूको चोनाम पर्व, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, ओंगयामंगया,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दाम्पत्य जीवन वा प्रेमप्रसङ्गमा निरसता आउने छ । दिनको सुरुमा केही झैझगडा र विवादको सम्भावना पनि हुन्छ । सामाजिक क्षेत्रमा गएको धनबाट प्रतिफल नआए पनि सुखसुविधा बढाउन र धनप्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ । मायाप्रेम, रतिराग र विलासिताका भावना बारम्बार आइरहने हुनाले मन अस्थिर र अशान्त बन्नेछ । सन्तानपक्षमा राम्रै छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ । कुनै महत्त्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )