-राजन गाउँले
सिन्धुली : बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रिठ्ठेभिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। ६ जना गम्भीर घाइते छन्। एकजना बेपत्ता छन्।
दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ८ का २८ वर्षीय रवि खड्का, मरिण गाउँपालिका ७ का सुकेदरमारका रतनबहादुर लामाका दुई छोरा राजकुमार लामा र अभित लामाको मृत्यु भएको हो। राजकुमार बसका चालक हुन्।
खड्काको घटना स्थलमै र लामा दाजुभाइको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए। मृतक लामाका माइलो भाइ आशिष लामा गम्भीर घाइते छन्।
‘सिन्धुलीको मरिणबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बासुकी यातायातको बस रिठ्ठेभीरबाट सुनकोसी नदीमा खस्दा खड्का र लामा दाजुभाइको मृत्यु भएको छ,’ प्रवक्ता थापाले भने।
रिठ्ठेभिरमै २०६७ साल असोज २६ गते सिन्धुलीबाट काठमाडौं यात्रु लिएर जाँदै गरेको बस दुर्घटना हुँदा ४१ जनाको घटना स्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो।
त्यसको केही दिन अघि सोही ठाउँमा बस दुर्घटना हुँदा १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो। सोही स्थानमै शुक्रबार पुनः दुर्घटना हुँदा थप तीन जनाको मृत्यु भएको हो। एकै स्थानमा भएको दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको थापाको भनाइ छ। एक सय ५० बढी घाइते भइसकेका छन्।
शुक्रबार मरिणबाट दसैंमा घर फर्कने यात्रु लिन काठमाडौँ हिँडेको बस काठमाडौँबाट सिन्धुलीको फिक्कल गाउँपालिका ३ खाङ्साङ तर्फ आइरहेको ९९ प २५५७ नम्बरको मोटर साइकलसँग ठोक्किदा सुनकोसी नदीमा खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चाकल फिक्कल गाउँपालिका ३ खाङ्साङका देवेन्द्र विक, बसमा सवार मरिण गाउँपालिका सिन्धुलीका बसका सहचालक विजयकुमार थोकर लगायतका ६ जनालाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल र काठमाडौं पठाइएको छ।
दुर्घटना भएको मोटरसाइकल सडक नजिकै अड्किएको थियो भने बस नदीमा डुबेको छ। बसमा चार यात्रु र चार स्टाफ गरी आठजना सवार रहेको प्रहरीको भनाइ छ।
प्रहरीले मृतकबाहेक मोटरसाइलकमा सवारसहित ६ जना घाइतेको उद्धार गरेको र एकजना बेपत्ता रहेको जानकारी दिएको छ। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।
मृतको शव सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। बसका अधिकांश भागहरु सुनकोसी नदीमा डुबेकाले बसमा कोही भए नभएको एकिन गर्न कठिन भएको प्रहरीको भनाइ छ।