डिकेन्द्र ढकाल– टाउकोमा जौ/जमरा राख्नुको अर्थ गहन छ । हामीले निहित “सिम्बोल”लाई बुझ्नुपर्दछ । हाम्रा पर्व र संस्कृतिका विशेष प्रकार्य र अर्थ छन् ।
दशैँमा आशिषसँगै दिइने जमरा भनेको जौ अन्नको भर्खरै उम्रिएको अवस्था हो । जौ पोषण र औषधीका हिसाबले पूर्वीय दर्शन, आयुर्वेद र पश्चिमी पोषणविज्ञानमा समेत यसको ठूलो महत्व दर्शाइएको छ । भगवान श्रीकृष्णले भन्नुभएको छ, “औषधिनामहं यवः’ अर्थात् ‘औषधीहरुमा म जौ हुँ ।” यसैबाट पुष्टि हुन्छ, जौ महाऔषध हो ।
यसरी नै पूर्वीय पौराणिक ग्रन्थहरुमा जौलाई अन्नको राजा मानिएको छ । जौ प्राचिनतम् अन्न हो ।
अमेरिकी वैज्ञानिक जारेड डायमन्डले उनको प्रख्यात पुस्तक गन्ज्, जर्म्ज् एन्ड स्टीलमा लेखेका छन्, ” युरेसियाको १३००० बर्षभन्दा बढी समयको अजेय सभ्यतामा जौको अहं भुमिका छ ( पृ. १२०-१३०) ।
चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोगहरूलाई कम गर्न फाइदा पुर्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ ।
अमेरिकाका भूविज्ञ डा. आर्क टकसको अनुसन्धानअनुसार जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो ।
हिन्दु पूजा विधानमा जौ अनिवार्य नै हुन्छ । यति महत्वपूर्ण अन्नको सुरक्षणको लागि पनि यो नियम बनाइएको हुनुपर्दछ । अर्थात् महाऔषध जौको संरक्षण गर्न हाम्रो जीवनमा जौलाई अनिवार्य गरियो ।