आज दशमी, अर्थात हिन्दू नेपालीको महान् चाड बडादशैं मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।
घरमा विधिपूर्वक राखिएको जमरा र टिका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टिका तथा आशिर्वाद लिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको साइत बिहान ९ बजेर ५१ मिनेटलाई उत्तम मानिएको छ ।
बिहान ९ बजेर ३० मिनेटमा देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ । घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ ।
आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, मान्यजनबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।
विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।