“Lyca Mobile लटरी स्क्याम कल ” – कयौ नेपाली ठगिए, होसियार ! तपाई नि ठगिनुहोला ?

गणेश पाण्डेय, पोर्तुगल।

हिजोआज लाइका मोबाइलका प्रयोगकर्ताहरुलाई चिट्ठा ( लटरी ) पर्यो भन्दै धमाधम फोन आउने गरेको छ। आफुलाई लाइका मोबाइलको केन्द्रिय कार्यालय बेलायतबाट बोलेको भनेर दाबी गर्दै फोन गर्नेले लाइका मोबाइलका प्रयोगकर्तालाई ५०,००० युरोको चिट्ठा परेको लोभ देखाएर ठगी गरिरहेको समाचारहरु प्राप्त भएका छन् ।

बेलायतको फोन नम्बर +४४ ७४४९७९९२५० बाट पोर्तुगलमा रहेका भिम जोशीलाई पहिलोपल्ट फोन आयो, त्यसपछि ” Whatsapp ” मा कुराकानी गर्न अनुरोध गरियो र लाइका मोबाइलको ५० हजारको लटरी परेको खबर सुनायो। उनलाई यो खबर अरु कसैलाई पनि शेयर नगर्न अनुरोध गरियो। नेपालबाट दलालमार्फत १५ लाख खर्च गरेर पोल्याण्ड हुदै केही महिना अघि मात्रै पोर्तुगल पुगेका र पोर्तुगलको खेतीमा काम गरिरहेका जोशी पनि यो खबर सुनेर निकै खुशी भए र कसरी त्यत्रो ठुलो चिट्ठा रकम हात पार्न सकिन्छ भनेर आतुर भए।

त्यसपछि चिट्ठा पर्यो भनेर फोन गर्नेहरुसँग उनको लगातार सम्पर्क भयो। जोशीले चिट्ठाको सत्यता र त्यत्रो ठुलो रकमको बारेमा केही शंका पनि गरे, तर ठगहरु यत्तिसम्म बाठा रहेछन कि निज जोशीलाई बिश्वस्त गर्न अर्का दुई नम्बरहरुबाट +३५१ ९२००३८१५२ र +४८१ २३९८८१८१ बाट आफुलाई लाइका कम्पनीको CEO दावी गर्दै William Johnson नामको हवालात गर्दै फोन गरे। भिम झन् खुशी भए र सो लटरी रकम सकेसम्म छिटो कसरी पाईएला र नेपालबाट ऋण गरेर युरोप पुग्दा लागेको खर्च तिरौला भनेर सोच्नथाले। लाइका कम्पनीकै CEO ले फोन गरेको भनेपछि जोशी झन् बिश्वस्त भए तर उनलाई यत्ति ठुलो रकम युरोपेली नागरिकलाई सिधै पठाउन सकिने तर आप्रवासीलाई पठाउन कानुनी झमेला भएकोले पहिले सरकारी सेक्युरिटी पास बनाउनुपर्ने र सो बनाउन २५० युरो लाग्ने र उनीहरुले नै सबै कुराहरु बनाउन सहयोग गर्ने बतायो।

परिश्रम र पसिनाको एक एक थोपाको एक एक मिनेटको मुल्य चुक्ता गर्ने देशमा कसैलाई फोनकै भरमा हजारौ र लाखौको चिट्ठा पर्यो भनेर बिश्वास गर्नु र त्यसको सत्यतामाथि अनुसन्धान नगर्नु नै सबैको भुल थियो।

जोशीले उनका आफन्तहरु बेलायतमा पनि रहेकोले उनीहरुसँग पनि सो लटरीको बारेमा बुझ्ने भनेपछि उनलाई बिश्वस्त पार्न लाइका मॊबाइलको लण्डनस्थित मुख्य कार्यालयको ठेगाना पनि दिईयो ( फोटोमा हेर्नुहोस् माथि ) तर यो कुरा अरुलाई शेयर गरे लटरी रद्ध गरिने भनेर इमोसनल ब्ल्याकमेलिङ्ग गरियो । उनलाई झनै बिश्वास दिलाउन फ़ोनकार्ताले आकाश वर्मा ( Assiatant CEO ) परिचय पत्र समेत पठायो । जोशी अब पुरै बिश्वस्त भए।

भिम ५० हजार युरोको सपना देख्न थाले र उनको मनमा कति छिटो सो रकम हात पार्न सकिएला भन्ने कुरा मात्रै खेल्न थाल्यो। सेक्युरिटी पासको लागि लाग्ने भनिएको २५० युरो वेस्टर्न युनियन मार्फत पठाउन भिम राजी भए र फोनकर्ताले उनलाई सो रकम दुबईमा भएका अर्का CEO नासिर्क अलिसर ( Nasirk Alisher ) को नाममा पठाउन अनुरोध गरे। पोर्तुगलको खेतीमा कठोर परिश्रम गरिरहेका भीमले संगै कामगर्ने साथीहरुसँग घरमा आम बिरामी भएकोले उपचार गर्न भनी ३०० युरो सापटी मागे र महिनाको तलब आउनेबित्तिक्कै फिर्ता गर्ने वाचा गरे। आमा नै बिरामी भनेपछि सहकर्मीहरुलाई पनि सहयोग गर्न कर नै लाग्यो।

भिम सो रकम लिएर ४ घण्टाको यात्रा गर्दै लिस्बोन आइपुगे र फोनमा भनिएझै २५० युरो नासिर्क अलिसरको नाममा पठाए। यसरी पैसा पठाएको महिनौ बितिसक्दा पनि उनलाई चिट्ठा परेको भनिएको ५० हजार युरो फेला पार्न सकेनन् र फोन गर्नेहरु सबै सम्पर्कविहिन भएका छन्। आफु ठगिएको कुरा निज भिम जोशीले बल्ल थाहा पाए। ऋण नै ऋणमा डुबेर अनेकौ हण्डर खादै पोर्तुगलसम्म पुगेका जोशी यहाँ पनि ठगिएपछि अचेल शिथिल मात्रै होइन डिप्रेशनका शिकार र जाँडरक्सीका अम्मली पनि भएका छन्।

यस्तै कथा छ , पोर्तोमा बस्दै आएका हरी आचार्य, जम्बुजेराका जनक राना र भिलामोराकी सिजल गुरुङको। आफ्ना व्यथाहरु र कथाहरु शेयर नगर्ने र ठगिनेको संख्या झन् कति हो कति ? जीवनमा केही अपत्यारिलो घटना र प्रसँगहरु आफ्ना साथीभाई र आफन्तहरुसंग शेयर नगर्दा र सल्लाह नलिदा कयौ व्यक्तिहरु यसरी नै ठगिने गरेका छन्।

परिश्रम र पसिनाको एक एक थोपाको एक एक मिनेटको मुल्य चुक्ता गर्ने देशमा कसैलाई फोनकै भरमा हजारौ र लाखौको चिट्ठा पर्यो भनेर बिश्वास गर्नु र त्यसको सत्यतामाथि अनुसन्धान नगर्नु नै सबैको भुल थियो।

यसैबिच Lyca Mobile कम्पनीले समेत आफ्नो अफिसियल साइटमा सुचना जारी गर्दै कम्पनीले कुनै पनि किसिमको चिट्ठा लटरी संचालन नगरेको र ठगहरुबाट बच्न अनुरोध गरेको छ।

अब कोही नेपाली नठगीउन् , कसैले पनि भिम र अन्य जस्तै दुःख पाउनु नपरोस्। शेयर गरौ सचेत बनौ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार