आज दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं : आश्विन शुक्ल पूर्णिमा अर्थात दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आज महालक्ष्मीको पूजा गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमामा सकिन्छ । कोजागत पूर्णिमालाई ‘कौमुदी’ पनि भनिन्छ ।

महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाश दीप दान पनि सुरु हुन्छ । आकाश दीपदान पाएसम्म बाँस, नपाए पलाँस, खयर, पीपल आदिको लिंगो ठड्याई भगवान् विष्णुलाई समर्पण गरी बाल्ने चलन छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेष रूपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुन्छ । कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार