प्रयोगकर्ताको डाटा बेचेको काण्डमा फेसबुकमाथि ८ करोड जरिवाना

प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ ।

बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो ।

यो वर्षको सुरुवातदेखि नै चर्चामा रहेको क्याम्ब्रिज एनालिटिका डाटा काण्डको सन्दर्भमा फेसबुकमाथि यस्तो सजाय भएको हो ।

कार्यालयका अनुसार सन् २००७ देखि २०१४ सम्म फेसबुकले प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु अनधिकृत रुपमा संश्लेषण गरी एप डेभलपरहरुलाई त्यस्ता डाटासम्म पहुँच दिएको थियो । फेसबुकले डाटा प्रयोगकर्ताको डाटा प्रोसेसिंग गर्नुअघि, प्रोसेसिंग गर्ने बेला तथा तत् पश्चात् पनि प्रयोगकर्ताको गोपनियताको पर्याप्त मात्रामा संरक्षण गर्न नसकेको सूचना आयुक्त इलिजाबेथ डेनह्यामले बताइन् ।

बेलायतको पूरानो डाटा प्रोटेक्सन ऐन १९९८ को प्रावधान अनुरुप सूचना आयुक्त कार्यालयले फेसबुकमाथि अधिकतमक सजाय सुनाएको हो । नयाँ कानून अनुसार भने यस्तो सजायँको अधिकतम सिमा १ करोड ७० लाख पाउण्ड वा कम्पनीको कूल विश्वव्यापी आम्दानीको ४ प्रतिशत रहेको छ ।

फेसबुकले यसको प्लेटफर्म प्रयोग गर्ने एप तथा एप डेभलपर्समाथि पर्याप्त नियन्त्रण गर्न नसक्दा ऊ प्रयोगकर्ताका व्यक्तिगत डाटा सुरक्षामा असफल भएको ठहर आयोगको छ । जसका कारण कतिपय एप डेभलपर्सले लाखौँ फेसबुक प्रयोगकर्ताका डाटाहरु हात पारी आफ्नो फाइदामा उपयोग गरे ।

एप डेभलपर अलेक्जेन्डर कोगानले हात पारेका ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका डाटा पछि क्याम्ब्रिज एनालिटिकालाई बेचेका थिए । क्याम्ब्रिज एनालिटिका अमेरिकामा राजनीतिक गतिविधिमा संलग्न भएको थियो । -अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार