काठमाडौं । राजधानीबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा चासो राखेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्रीमा पछिल्लो स्वास्थ्य स्थितिबारे ‘अपडेट’ गर्दै अवस्था सुधारोन्मुख रहेको पत्रपत्रिकाहरूले लेखेका छन् ।
नेपाल–मलेसियाबीच भएको श्रम सम्झौतालाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्त्व दिएर ‘कभरेज’ छन् । १७ वर्षपछि सोमबार नेपाल र मलेसियाबीच सोमबार श्रम सम्झौता भएको हो । अब मलेसिया जान चाहने नेपाली कामदारले ५८ सय तिरे पुग्ने भएको छ भने विभिन्न सहुलियत समेत पाउने छन् ।
पत्रपत्रिकाकै पहिलो पृष्ठमै गौचन हत्याका मुख्य सुटरसहित ३ पक्राउ परेको, मुद्दा फिर्ताको मागले सशस्त्र समूहसँगको वार्ता प्रक्रिया लम्बिएको, भूमिगत रहेका नेत्रविक्रम चन्द विप्लव सार्वजनिक हुन लागेको, निर्मला पन्तको हत्यारा पत्ता लगाउन आसपासका सयौंको डीएनए परीक्षणको तयारी गरिएकोलगायतका खबरले स्थान पाएका छन् ।
बहुचर्चित निर्मला पन्त बलात्कार तथा हत्याका दोषी पत्ता लगाउन नसकेको प्रहरीले सयौं व्यक्तिको डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको नयाँ पत्रिकाले लेखेको छ । समाचार अनुसार घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डीएनए परीक्षण गर्न लागिएको हो ।
मंगलबार डीएनए परीक्षणका लागि थप चारजनाको रगत परीक्षण गर्न लागिएको र अन्य सयौंको नमूना संकलन तयारी गरिएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे चासो भइरहेका बेला नयाँ पत्रिकाले यसबारे अपडेट गराएको छ । उपचारमा संलग्न मुटुरोग विशेषज्ञ अरुण सायमीले नयाँ पत्रिकालाई बताए अनुसार अहिले प्रधानमन्त्रीको मुटु र मिर्गौलाको समस्या छैन ।
कान्तिपुरले ‘अब ५८ सयमै मलेसिया’ शीर्षक दिएर नेपाल–मलेसिया श्रम सम्झौताबारे समाचार लेखेको छ । कान्तिपुरमै दशैंभरको धपेडीले प्रधानमन्त्री अस्पताल भर्ना भएको, १५ ठेकेदार कालोसूचीमा पर्दा बेइमान पप्पु कन्ष्ट्रक्सनलाई भने छुटाइएको लगायत समाचार छन् । भित्री पृष्ठमा चर्चामा नरहेका १७ समूहसँग सरकारले वार्ता तयारी गरेको खबर छ ।
भ्रष्टाचार मुद्दा र तिनको किनाराबारे अन्नपूर्णले मुख्य समाचार बनाएको छ । समाचार अनुसार अनियमितताका ६ सय ८३ मुद्दा अझै थाँती नै छन् । भ्रष्टाचार मुद्दाको एकपछि अर्को चाङ लागे पनि फैसला दर भने तीन प्रतिशत मात्रै रहेको समाचारमा उल्लेख छ ।
नेपाल समाचारपत्रका अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । भूमिगत शैलीमा गतिविधि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको समाचारमा उल्लेख छ ।
नागरिकको पहिलो पृष्ठमा प्रधानमन्त्री अस्पताल भर्ना भएकोसँगै नेपाल–मलेसिया श्रम सम्झौतासँग सम्बन्धित समाचार छन् ।
मुद्दा फिर्ताको मागले सशस्त्र समूहसँगको वार्ता प्रक्रिया लम्बिएकोलाई गोरखापत्रले एंकर बनाएको छ भने राजधानीमा प्रधानमन्त्रीको स्वास्थ अवस्थाबारेको समाचार छ ।