हेटौंडा । मकवानपुरकी १२ वर्षीया गर्भवती गंगामाया चेपाङको माइती मकवानपुरकै राक्सिराङ गाउँपालिकामा हो । उनको घर कैलाश गाउँपालिका–७ मा पर्छ । २०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका किशोरसँग उनको भागी बिहे भएको थियो । आमाबुबाको काखका लडीबुडी गर्नुपर्ने उमेर । हाँसखेल र रमाइलो गर्नुपर्ने उमेर । चञ्चल अनि साथीभाइसँग यताउती पुगेर रमाइलो गर्नुपर्ने र पढ्नुपर्ने उमेर ।
कक्षा–४ मा पढ्दै गरेकी गंगा चेपाङ र ३ कक्षामा पढ्दै गरेका उनका पतिको बिहेपछि पढाइ छुट्यो । गंगा, राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थिन् भने उनका पति कैलाश–७ मा पढ्थे । गंगाकी जुम्ल्याहा बहिनी जमुना स्थानीय सूर्योदय माविको ६ कक्षामा अध्ययनरत् छिन् । उनले दिदीले भागेर बिहे गरेकोमा अचम्मित भएको बताइन् । उनलाई दिदीको पढाइ बिग्रेकोमा चिन्ता छ । मकवानपुरको अतिबिकट राक्सिराङ–३, औलेमा उनको माइती छ । उनले आफू १५ वर्ष पुगेको भन्दै ढाँट्न खोजे पनि उनी पक्रिइन् । उनकी आमा राममायाले भनिन्–२०६३ सालमा जन्मेकी हो यो ।
उनको उपचार तथा उद्धारका लागि नेपाल सरकारले सम्पूर्ण खर्च व्यहोर्ने गरी काठमाडौं लगिएको छ । राक्सिराङ गाउँपालिका र मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको पहलमा उनलाई उपचारका लागि सोमबार हेटौंडा अस्पतालमा ल्याइएको थियो । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङको समन्वयमा सोमबार साँझ उनलाई हेटौंडा अस्पताल ल्याइएको थियो । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।