मन्त्रिपरिषद् छलेर प्रधानमन्त्रीले लिए सुशासन अवार्ड !

माधवको कोसिस, ‘जिससपुत्री’को आशिष

काठमाडौं । एसिया प्यासिफिक समिट सकिए पनि पत्रपत्रिकाहरुमा यसको चर्चा भने अझै सेलाएको छैन । दैनिक अखबारहरुले आज पनि मन्त्रिपरिषदलाई छलेर प्रधानमन्त्रीले अवार्ड लिएकोदेखि सम्मेलन सफल बनाउन वरिष्ठ नेताहरुले देखाएको सक्रियताको चर्चा गरेका छन् ।

त्यसैगरी, त्रिविका विभिन्न विभागमा विद्यार्थी रित्तिएको, मालपोतमा ठगी धन्दा मौलाएको, नयाँ मदिरा उद्योगलाई रोक लगाइएको, रहस्यपूर्ण ढंगले एनसेल लाभकर मुद्दाको सुनुवाइ स्थगित भएकोलगायत समाचारलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकता दिएर प्रकाशित गरेका छन् ।

कान्तिपुरले प्रधानमन्त्री केपी ओलीले विवादास्पथ संस्था युनिभर्सल पिस फेडेरेसनको अवार्ड मन्त्रिपरिषदको पूर्वस्वीकृतिबेगर लिएको लेखेको छ ।

संविधान, सुशासन ऐन तथा नियमावली र विभूषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पदका व्यक्तिले विदेशी पुरस्कार, उपाधि वा विभूषण लिँदा मन्त्रिपरिषदको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । कान्तिपुरका अनुसार ओलीले १ लाख अमेरिकी डलर राशिको लिडरसिप एन्ड गभर्नेन्स अवार्ड लिँदा आफ्नै नेतृत्वको मन्त्रिपरिषदलाई जानकारीसमेत गराएका छैनन् ।

कान्तिपुर लेख्छ– संविधानको धारा २७७ मा नेपाल सरकारबाट स्वीकृति प्राप्त नगरी नेपालको कुनै नागरिकले विदेशी सरकारबाट प्रदान गरिने उपाधि , सम्मान वा विभूषण ग्रहण गर्न नहुने व्यवस्था छ ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको पोस्टर जति च्यात्यो, उति नै भाइरल बन्दै गएकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा महत्त्वका साथ समेटेको छ ।

सरकारले अबको १ महिनामा मेलम्चीको पानी आइपुग्ने बताइरहँदा कान्तिपुरले भने मेलम्चीको पानी सुन्दरीजल आइपुग्नै अझै चार महिना लाग्ने दाबी गरेको छ ।

आयोजना निरीक्षणका लागि मंगलबार सुन्दरीजल पुगेको राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई आयोजनाले यस्तो जानकारी गराएको समाचारमा उल्लेख छ ।

तर खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले आइतबार विकास समितिमा बोल्दै ६० दिनभित्र मेलम्चीको काम सकिने दाबी गरेका थिए ।

‘माधवको कोसिस, जिससपुत्रीको आशिष’ शीर्षक दिएर नयाँ पत्रिकाले एसिया समिट सफल पार्न नेकपा नेता माधवकुमार नेपालले देखाएको सक्रियताबारे मुख्य समाचार लेखेको छ ।

नयाँ पत्रिका लेख्छ– विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ । पृष्ठभूमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए । नेता नेपालकै पहलमा यो कार्यक्रममा सरकार सरिक भएको हो ।

नयाँ पत्रिकाको ठम्याइ छ– धर्मलाई दुरुपयोग गरेको आरोपमा बेलायत र जापान प्रवेशमा प्रतिबन्धित मुनको संस्थाले नेपालमा भने सिंगो राज्यलाई नै सक्रिय बनाएर भव्य धर्मसभा गर्यो किकनि पृष्ठभूमिमा सत्तारुढ दलका शीर्ष नेता माधव नेपाल थिए ।

नागरिकका अनुसार गृह मन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य स्थगित गरेको छ । मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको समाचारमा उल्लेख छ ।

नागरिकमै एनसेल लाभकर मुद्दा सुनुवाइ स्थगित रहस्यपूर्ण भएको समाचार पनि छ । ‘अीन्तम सुनुवाइको अवस्थामा रहेको र त्यसमाथि पनि हेर्दाहेर्दैको मुद्दा दैनिक पेसी सूचीबाटै स्थगित हुनुलाई स्वभाविक मान्न सकिँदैन’, नागरिकले लेखेको छ ।

अन्नपूर्ण पोस्टले मालपोतमा विद्यमान घुस आतंकसँगै विस्फोटक पदार्थमा समेत सिन्डिकेट रहेको लेखेको छ ।

अन्नपूर्णका अनुसार जलविद्युत् तथा पूर्वाधार आयोजनामा नभई नहुने विस्फोटक पदार्थको आपूर्तिमा एउटै मात्र कम्पनीको एकाधिकार छ । एकीकृत व्यापार कम्पनीले नेपालमा विस्फोटक पदार्थ आपूर्ति गरिरहेको छ ।

राजधानीले त्रिविका विभिन्न विभागमा विद्यार्थी घटेको लेखेको छ भने गोरखापत्रमा नेकपाको प्रदेश कमितीले पूर्णता पाएकोलगायत समाचार छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार