काठमाडौं । संघीय राजधानी काठकाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा कांग्रेस महासमिति बैठक परेको छ । काठमाडौंमा शनिबारदेखि सुरु महासमिति बैठकलाई पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा लेखेका छन् ।
त्यस्तै, नेपालबाट भित्रिएपछि हराएको ३३ किलो सुन भारतमा भेटिएको, प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार पानीजहाज नआएकोलगायत समाचारलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।
नयाँ पत्रिका दैनिकले आज प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १६ मा नेपाली पानीजहाज चढेर कोलकातासम्म जान गरेको निम्ता सम्झाएको छ ।
प्रधानमन्त्री ओलीले गत असार १५ गते बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै पानी जहाज चढ्न निम्ता गरेका भए पनि अहिलेसम्म स्थलगत भ्रमणसम्म भएको छैन ।
अमेरिकासँग १६ वर्षपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुन लागेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । समाचार अनुसार, समकक्षीको निम्तोमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुस ३ र ४ मा उच्चस्तरीय वार्ता गर्दैछन् ।
सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकोप्टर खरिद गरिएको खबर कारोबारमा छ । १४ करोड रुपैयाँका महँगा गाडी किन्ने निर्णयपछि राष्ट्रपतिका लागि हेलिकोप्टर खरिद गरिएको हो ।
समाचार अनुसार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुनेगरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सिट क्षमताको अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९ हेलिकोप्टर खरिद गरेको हो ।
यो हेलिकोप्टर केही समय त्रिभुवन विमानस्थलमा रहने र शीतलनिवाससँगै जोडिएको प्रहरी प्रतिष्ठान हटाएर त्यहाँ हेलिप्याड निर्मण गरी सेनाको सुरक्षामा राखिने समाचारमा उल्लेख छ ।
‘नेताहरुलाई मिल्न दबाव’ शीर्षक दिएर कान्तिपुरले काठमाडौंमा सुरु भएको कांग्रेस महासमिति बैठकबारे मुख्य समाचार लेखेको छ । त्यस्तै मोरङको कटहरी गाउँपालिकाले ड्रोन प्रयोग गरेर शौच निगरानी बढाएकोलाई कान्तिपुरले एंकर बनाएको छ । गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का कारण गाउँपालिका खुला दिसामुक्त बन्नबाट वञ्चित भएपछि यस्तो उपाय रचिएको समाचारमा उल्लेख छ ।
अन्नपूर्णले अन्य पत्रिकाहरुले भन्दा अलि फरक क्रिकेटर शक्ति गौचनबारे समाचार लेखेको छ । १८ वर्ष क्रिकेट खेलेका गौचनले शनिबार खेलजीवनबाट सन्यास लिएका छन् ।
अख्तियारको हिरासत हाउसफुल भएको अर्को खबर पनि अन्नपूर्णमा छ । घुस लिने कर्मचारी बढेपछि अख्तियारको १८ जना क्षमताको हिरासत भरिभराउ भएको हो ।
नागरिकको पहिलो पृष्ठमा कांग्रेस महासमिति बैठक र नेकपाको स्थायी समितिसँग सम्बन्धित समाचार छन् । श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले पदबाट राजीनामा दिएकोलाई पनि पनि नागरिकले समेटेको छ ।
राजधानीले सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउनेगरी विशेष कार्ययोजना तयार पारेको लेखेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्रयाकमार्फत् सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढेको समाचारमा उल्लेख छ ।
गोरखापत्रले ट्राफिक जाम नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले नयाँ अभियान सुरु गर्न लागेको समाचार छ ।