काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविधता देखिन्छ । कुनैले अजयराज सुमार्गीको सम्पत्तिबारे प्रश्न उठाएका छन् भने केहीले छाउपडी प्रथाबारे चासो राखेका छन् । त्यस्तै, आर्थिक सहायता बेथिति र जापानी विदेशमन्त्रीको भेटघाटको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले कभरेज गरेका छन् ।
अन्नपूर्णले आज ‘छाउपडीको छोइछिटो’ शीर्षक दिएर छाउपडीले दिएको पीडाको वर्णन गरेको छ । हालै बाजुरामा छाउगोठमै निसास्सिएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोराको निधन भएकोलगायत विषयवस्तुलाई आधार बनाएर यसको कहरबारे अन्नपूर्णले लेखेको छ ।
त्यस्तै, नेपालको दुईदिने औपचारिक भ्रमण सकाएर फर्केका जापानी विदेशमन्त्री तारो कोनोले विपक्षी दलका नेतालाई नभेटेको सम्बन्धी खबर पनि अन्नपूर्णमा छ । अन्नपूर्णले यसलाई अस्वभाविक घटनाको संज्ञा दिएको छ । अन्नपूर्ण लेख्छ– प्रतिपक्ष दल राज्य संयन्त्रमा नदेखिएको भनिरहेको अवस्थामा सदाबहार मित्र एवं दातृ मुलुकको संज्ञा पाएको जापानी राजनीतिक नेतृत्वले सत्ता पक्षसँग दुईपक्षीय औपचारिक छलफल तथा शिष्टाचार भेट गर्दा प्रमुख प्रतिपक्षलाई बिर्सनु अस्वभाविक हो ।
अन्नपूर्ण थप अगाडि लेख्छ– औपचारिक भ्रमणमा सत्ता पक्षसँगको भेटजत्तिकै महत्त्व प्रमुख प्रतिपक्ष दलसँगको छलफल पनि हुनेगर्छ । सत्ता र बाहिर र बाहिर रहेको पक्षसँग समानान्तर छलफलपछि मात्र भ्रमण पूर्ण हुने कूटनीतिक अभ्यास छ । चार–पाँच घन्टाको संक्षिप्त मणमा समेत मुख तिपक्षलाई भेट्ने र सत्तापक्षति प्रमुख प्रतिपक्षको धारणा बुझ्ने काम हुन्छ ।’
त्रिवि स्वामित्वको जग्गामाथि भइरहेको अतिक्रमणबारे समाचार लेख्दै आएको कान्तिपुरले आज बाटोसमेत त्रिविकै जग्गा मिचेर बनाइएको लेखेको छ । सुमार्गीको रकममाथि अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ ।
कान्तिपुरले जस्तै नागरिकले पनि सुमार्गीको सम्पत्तिबारे सर्वोच्चले गरेको फैसलालाई मुख्य समाचार बनाएर छापेको छ । त्यस्तै, अनसनरत डा. गोविन्द केसीको समर्थनमा इलाममा जुलुस निस्केको समाचार पनि नागरिकको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।
राज्यबाट अनियमित ढंगले बाँडिएको रकममाथि राजधानीले नजर डुलाएको छ । राजधानीका अनुसार साढे पाँच महिनामा आर्थिक सहायताका नाममा ५ करोड २३ लाख रुपैयाँ बाँडिएको छ ।सरकारको यस्तो कार्यशैलीले आर्थिक मितव्ययिता र सुशासनको सरकारी नारालाई गिज्याएको राजधानीको निष्कर्ष छ । ठूला अस्पताल संघीय सरकार मातहत ल्याउन लागिएकोसँगै नेविसंघ महाधिवेशनको सकसबारे पनि राजधानीले समाचार छापेको छ ।
पृथ्वीनारायण शाह राष्ट्रनिर्माणका नायक भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रशंसालाई गोरखापत्रले मुख्य समाचार बनाएको छ । नयाँ मर्यादाक्रम स्वीकृत भएकोदेखि संसद्मा क्लिन फिडसम्बन्धी विधेयक पुगेकोसम्मका खबर गोरखापत्रको पहिलो पृष्ठमा छापिएका छन् ।