पोर्तुगलको नेपाली समाजलाई सजिलै बुझेको, देखेको, भोगेको र नेपाली समाजको हितका लागि केही गर्छु भन्ने अठोट र विश्वास लिएर २०१७-२०१९ का लागि एनआरएनए पोर्तुगलको अध्यक्ष पद सम्हालीरहेका कुबेर कार्कीले आफ्नो कार्यकालमा आप्रवासीको हितका लागि के कति काम गरे, कति आलोचना खेप्नुपर्यो वा आम पोर्तुगलवासी नेपालीको गुनासो र प्रतिक्रिया के थियो ? अन्तत एनआरएनए अध्यक्ष कुबेर कार्की प्रवासी नेपालीको हितका लागि साँच्चिकै दक्ष सावित भए या अदक्ष ? यिनै सन्दर्भमा अध्यक्ष कार्कीसँग हाम्रो नेपाल मासिक पत्रिकाका यादव देवकोटाले गरेको कुराकानी :
होटल म्यानेजमेन्टको विद्यार्थी तपाईं ६५ औं शाखा अफ्रिकाको युगान्डा एनआरएनएको संस्थापक अध्यक्ष हुँदै पोर्तुगलको नेपाली सोसाईटीको म्यानेजमेन्ट गर्न २०१७-२०१९ को लागि अध्यक्ष बन्नु भयो होइन ? होटल म्यानेजमेन्ट पढ्न सजिलो रहेछ या नेपाली सोसाइटीसँग मिलेर अघि बढ्न ?
सोसाइटीसँग मिलेर अघि बढ्ने चुनौतिको विषय हो । तर मलाई यहाँका नेपाली दाजुभाइ दिदीबहिनीले मैले गरेका काम र कर्तव्यलाई राम्रोलाई खुलेरै प्रशंशा गर्ने र नराम्रो कामको मन खोलेर खबरदारी गरिरहनुभएको छ । आजको दिनसम्म मैले खासै अप्ठ्यारो महसुस गरेको छैन ।
विगत ४ वर्षदेखि तपाई पोर्तुगल बस्दै आउनुभएको छ । अहिले एनआरएनए पोर्तुगलको अध्यक्ष सम्हालेको वा समयको हिसाबले तपाईंको कार्यकाल लगभग १ वर्ष पुग्यो । अध्यक्षको तर्फबाट भन्दा के कस्ता उपलब्धि प्राप्त भयो यो १ वर्षमा ? पोर्तुगलवासी नेपालीहरुका मुख्य समस्या के हुन् छोटकरीमा बताइदिनुहुन्छ कि ?
हो, पहिला पोर्तुगलमा धेरै समस्या थिए, रोजगारीको समस्यालगायत अन्य ठगीको समस्याले बिकराल रुप लिएको थियो । त्यो समयलाई फर्केर हेर्ने हो भने निकै गाह्रो विषय थियो । अहिले भने त्यस्तो समस्या ब्यहोरी रहनुपरेको छैन । केही हदसम्म सहज भएको छ यहाँ । कोही पनि बेरोजगार र ठगिएर बस्नु परेको छैन । त्यसका लागि सबै सामाजिक संघ संस्थाहरु लागि नै रहेका छन् । एनआरएनले पनि सहयोगी भूमिका खेलेको छ ।
एनआरएनएले के के काम गर्यो यो बीचमा यहाँका आप्रवासी नेपालीले छातीमा हात राखेर अभिभावक संस्थाप्रति गर्व गर्न सक्ने ? १, २, ३ गरेर भन्न सक्नुहुन्छ ?
संस्था लिगलाइज गर्ने काम, फन्ड रेज गर्ने, लेनदेनको मुद्धा, सम्बन्ध विच्छेदका मुद्धामा एनआरएनले नजिकबाट सम्बोधन गर्ने, नव आगन्तुकहरुलाई इन्फरमेसन दिनका लागि कार्यालयमा एकजना स्टाफ, राजेन्द्र खेतानसँग भिएफएसको लागि पहल, नेपाली पाठशाला स्थापना, हरिबहादुर जीसीको हत्यापछि १३ हजार युरो परिवारलाई हस्तान्तरण लगायत ५ जना मानसिक सन्तुलन गुमाएकालाई आइओएमसँग सहकार्य गरेर नेपाल फिर्ता पठाइएको छ ।
गठन प्रक्रियामा नै एनआरएनए पोर्तुगलको कार्यसमिति जम्बो थियो, उपाध्यक्ष मात्रै ९ जना छन्, पदाधिकारी र सदस्य गरेर झन्डै ४ दर्जन हाराहारीको संख्या छ, दर्जनौं सल्लाहकार र आधा दर्जन जति संरक्षक छन् , यो जम्बो समिति बनाउने कामको व्यापक आलोचना भयो र हुँदै आएको छ । यति ठूलो समिति बनाउनुको अर्थ, आवश्यक वा बाध्यता के थियो ?
साँच्चीकैभन्दा सोचेभन्दा ठूलो नै भएको हो । सबैलाई मिलाउदा र ठूलो समितिको हैसियतमा हुँदा काम पनि सहज होला कि भन्ने थियो तर त्यो भएन । आलोचनाहरु नआएका होइनन् । तर अबबाट चाहिँ हामीले सिकेको के हो भने एनआरएनमा संलग्न हुनेहरु सबैले समाजप्रति उत्तरदायी हुनुपर्छ । समाजका लागि काम गर्नुपर्छ । यदि त्यो भएन भने समितिमा बसेको अर्थ रहदैन । बरु सानो समिति नै किन नहोस् आप्रवासी नेपालीहरुको हक हितका लागि काम गर्नुपर्छ भन्ने हो ।
तपाईंलाई याद छ सबै मेम्बरको नाम ? सम्झन नसक्ने गरी कामै नलाग्ने यो जम्बो टोलीले सोसाइटीको लागि केही गरेको छ ?
कोही कसैबाट सहयोग नभएकै हो हामीलाई । तर अबका दिनमा भने एनआरएनले काम गर्नसक्ने, समाजप्रति पूरा उत्तरदायीहरु एनआरएन संस्थाभित्र रहन सक्छन् । हामीले सकेको गरेका छौ तर कही कतै केही कुरा नमिलेर हाम्रो जिम्मेवारी कतै टुटेको महसुस भएकै छ । सुरुमा त हामीले सोचेका थियौ कि सबैबाट हामीलाई सहयोग मिल्ला नै भनेर । तर केही साथीहरुले भने संस्थामा रहेर पनि समय दिन नसक्नु र आफ्नै कार्यव्यस्ततामा अल्मलिनुले कठिनाइ भएकै हो । यसले हामीलाई केही पाठ पनि सिकाएको छ ।
९ जनामा ५/६ जना उपाध्यक्ष त बैठक मै आउदैनन् रे, वा दुई चार बैठकको उपस्थितिको हस्ताक्षर एकैचोटी हुन्छ रे, वास्तविकता के हो ? के यस्तै हुन्छ ? वा हुँदै आएको छ ? यस्तै हुनु र यस्तै गर्नु नै थियो भने निर्वाचन किन गर्नु परेको ?
खास त्यसो भएको होइन, यो केही साथीहरुले अफवाह फैलाइदिएका मात्र हुन् ।
नियमित बैठक बसी रहेको छ ? कति जना कार्यसमिति सदस्यहरु उपस्थित हुन्छन् बैठकमा ?
बैठक बसीनै रहेको छ । सुरु सुरु मा हामी सबै नै सहभागी हुन्थ्यौ । तर पछिल्लो समय २० देखि २२ सम्म सहभागी हुने गरेका छौ । जे होस् त्यो उपस्थितिले निर्णायक भूमिका खेल्न सक्छ ।
निर्वाचित ३ उपाध्यक्षमध्ये १ जना बैठकमै आउदैनन्, अर्का रेमिट्यान्स अनियमितता र हुण्डी कारोबारमा फसेपछि डिसेम्बरदेखि नै गुमनाम छन् के भन्नुहुन्छ ? के कारवाही हुन्छ उनीहरुलाई ?
उनीहरुलाई कारवाहीको दायरामा ल्याउन हामी कुनै कसर बाँकी राख्दैनौ । हिंजो पनि गल्ती गर्नेलाई कारबाही भै नै रहेको छ र भोलि पनि हुन्छ । पीडितको न्यायको लागि हामी जहिले पनि तयार छौ ।
निर्वाचित उपाध्यक्ष हुँदाहुँदै मनोनितलाई वरिष्ठ उपाध्यक्षको पद दिनु आफैमा हाँस्यास्पद भएन र भन्या ? के बाध्यता आइपर्यो त्यस्तो ?
त्यस्तो बाध्यता त केही होइन तर विभिन्न कार्यव्यस्तता र समय सापेक्ष नभएर त्यस्तो निर्णय गर्नु परेको हो ।
तपाईंका कार्यसमितिका कतिपय पदाधिकारीहरु बेला बेला विभिन्न काण्डमा फसेको सुन्नमा आउँछ, वास्तविकता के हो ?
कही कतै त्यस्तो भएको छ तर गल्ती गर्ने जो कसैलाई पनि एनआरएनमा बस्न छुट छैन र तिनीहरुलाई यथाशक्य कारबाही हुन्छ ।
गैह्र आवासीय नेपाली संघको विधानमा कार्यसमितिका सदस्यहरुलाई सक्रिय राजनीति गर्न बर्जित गरिएको छ, तर कयौ सदस्यहरु विभिन्न राजनीतिक भातृ संगठनमा सक्रिय राजनीति गरिरहेका छन्, के कारवाही हुन्छ वा गर्नु हुन्छ उनीहरुलाई ? कि यो कार्यसमिति संघको आचारसंहिताको पालन नगरी जबरजस्त चल्छ ?
एनआरएनभित्र राजनीति गर्न कसैलाई पनि छुट छैन । त्यो मैले बारम्बार भनेकै छु तर बाहिर बाहिर आस्था राख्ने साथीहरु छन् । एनआरएनभित्र छिरेपछि कोही कसैले पनि राजनीतिक बहस गरेका छैनन्, आजका दिनसम्म र त्यो हुने पनि छैन ।
तपाईं अध्यक्ष बनिरहँदा तपाईंको एउटा मूल चुनावी मुद्धा पोर्तुगलमा राजदूतावास स्थापना गराएरै छोड्छु भन्नु भएको थियो २ वर्षे कार्यकालमा । १ वर्ष बितिसक्यो, अब १ वर्षमा राजदूतावास स्थापना होला ?
मैले हरेक सार्वजनिक कार्यक्रममा राजदूतावासको लागि पहल गरेकै हो तर यो हाम्रो पहुँचभन्दा बाहिरको कुरा हो । हामी पहल भने गरेकै छौ सायद छिट्टै नेपाल सरकारले यसको लागि कागजी प्रक्रिया अघि बढाउला र हामीले त्यो नतिजा पाउला भन्ने आश गरौं न ।
केही समयअघि परराष्ट्र मन्त्रीले पोर्तुगल भ्रमण गर्दा ठूलो मौका थियो, किनकि राजदूतावास परराष्ट्र मन्त्रालयसँग नै सम्बन्धित विषय हो, मन्त्रीज्यूसँग तपाईंको के कस्तो कुराकानी भयो ? कि सार्वजनिक रूपमा ज्ञापन पत्र मात्र बुझाउनु भयो ? परराष्ट्र मन्त्रीज्यूको यस भ्रमणबाट केही नयाँ परिवर्तन आउला ?
मैले व्यक्तिगत रुपमा पनि भेटेर हाम्रो समस्या र यसका समाधानका उपाय के हुन सक्छन् भनेर सल्लाह गरेकै हुँँ । जे होस् उहाँ पोजेटिभ हुनुहुन्छ । सायद परिवर्तन आउला ।
एउटा अर्को प्रसंग, तपाईं केही समय अघि एनआरएनए युरोप क्षेत्रीय भेलामा सहभागी हुन लक्जम्बर्ग जानुभएको थियो, तपाईंले आफ्नो सम्बोधनको क्रममा नेपालका जिम्मेवार व्यक्तिहरुकै अगाडि ३३ किलो सुनका तस्कर पनि पोर्तुगलमा छन् भन्नुभयो, भोलि नेपाल सरकारले छानबिनका क्रममा ती तस्कर को हुन् ? भनेर सोध्यो भने चिनाउन सक्नुहुन्छ ?
मैले त्यो मन्तव्य दिदै गर्दा आवेशमा आएर भनेको हो । मैले ३३ किलो सुनका तस्करहरु यही छन् भन्न खोजेको होइन कि यहाँ त्यस्ता गलत प्रवृतिका मान्छे पनि हावी छन् । गलत नियत र समाजलाई नेगेटिभ असर पार्ने त्यस्ता प्रवृतिका मान्छे पनि यहाँ हुन सक्छन् भनेर भनेको मात्र हो ।
स्थानीय नेपाली मिडिया, पत्रकारहरु र एनआरएन पोर्तुगलवीच सम्बन्ध कस्तो छ ?
पहिलाको तुलनामा निकै सुधारात्मक हो तर कही कतै हामीले सोचे जस्तो अझै गर्न सकेका छैनौ तर सूचना प्रवाह गर्न भने हामी जहिले पनि तयार छौ । अब झन विशेष महत्वका साथ मिडियामैत्री हुने कोशिश गर्दैछौ ।
तर अहिलेसम्म कुनै प्रेस मिट गर्नु भएन नि किन ?
प्रेस मिट नै गर्न नसके पनि सूचना प्रवाह गर्ने सन्दर्भमा हामीले कन्जुस्याई गरे जस्तो लाग्दैन ।
के मिल्दो रहेछ समाज सेवाबाट र के गुमाउनुपर्दो रहेछ ?
आत्मा सन्तुष्टि नै समाज सेवा गरेबापत मिल्ने फल रहेछ । आम दाजुभाइ दिदीबहिनीको माया, गाली, गुनासो, सपोर्ट यी यावत चीज नै समाज सेवाबाट पाइने रहेछ ।
कुबेर कार्की साँच्चीकै कत्तिको कुबेर हुनुहुन्छ ?
म मनको पक्कै कुबेर हुँँ भन्दा हुन्छ । जहाँ जति खेर पनि सेवाका लागि हाजिर हुने एक सामान्य नागरिक ।
एनआरएनएको अध्यक्ष ठूलो व्यापार व्यवसाय हुनुपर्ने, रेष्टुरेन्टको मालिक हुनुपर्ने र अन्य थुप्रै व्यवसायमा हात हालेको हुनुपर्ने तर अरु एनआरएन जस्तो नभएर पोर्तुगलको अध्यक्ष सिम्पल एक फलफूल पसल चलाएर आफ्नो गुजारा चलाउदै समाजका लागि धेरै मेहनत गर्नुभएको छ भन्दा अप्ठ्यारो पर्दैन ?
आफ्नो पसिनाको कमाइ गरेर खान केको लाज ? त्यसैले मेहनत गरेर खाएको छु । मैले अरुको के छ भन्दा पनि म आफूले गरेको व्यवसायप्रति सन्तुष्ट छु । मलाई फलफूल पसलको साहुँ भन्दा पनि हुन्छ ।
तपाईले समाज मात्र बोक्नु भएको छैन, दिन रात मेहनत गर्दै परदेशमा फलफूल पसलमा बडेमानका काइसा (क्रेट) पनि बोक्नु भएको छ होइन ? के बोक्न सजिलो रहेछ ?
वास्तवमा यी दुवै अप्ठेरो विषय हुन् । जे होस् समाज बोक्दा केही चुनौति छन् । तर चुनौतिको सामना गर्दै म अघि बढी रहेको छु । मलाई समाजमा केही गर्न मन छ । त्यसैले पनि जस्तोसुकै व्यवधान आए पनि मैले सजिलो महसुस गरेको छु ।
फोटो : फोटोदृष्टी