– सम्झना अधिकारी, पोर्तुगल।
मान्छेहरु स्वभावैले शुभकार्य र शुभदिनहरुमा पार्टीहरु मनाउने र तडकभडक जीवनशैली बिताउने गर्छन। कयौ मान्छेहरु यस्ता पनि छन् , जो खुसियालीको दिनमा गरिब, असहाय र दुखिहरुलाई सहयोग गरेर सामाजिक काममा रमाउने गर्छन। यस्तै काम गरेकी छिन् पोर्तुगल निवासी मिना माया खरेल ले।
पोर्तुगललाई आफ्नो कर्मथलो बनाएकी काठमान्डौ निवासी खरेलले आफ्नो जन्मदिनको खर्च कटाएर नेपालगंजमा रहेको निलसागर वृद्धाश्रमलाई दश हजार २ सय १२ रुपैया सहयोग गरेकी छिन्। सहयोग रकमले वृद्धाश्रममा रहेका आमाबुवा र बालबालिकाहरुको लागि लत्ताकपडा किनिएको र भोजन खुवाईएको निलसागर वृद्धाश्रमले जनाएको छ।
भोइस अफ नेपालसंगको कुराकानीमा खरेलले भनिन् , ” म तडकभडक जीवनशैली र जन्मदिनमा पार्टी मनाएर खर्च गरी खुशी हुने कुरामा बिश्वास गर्दिन। हरेक बर्ष आफ्नो जन्मदिनमा नेपालमा रहेका असहाय वा आवश्य परेकालाई सानो सहयोग गर्दै आएकी छु। म काठमाडौँको बासिन्दा, मलाई भूगोलले खासै फरक पर्दैन, जहाँ सहयोग चाहिएको हो, त्यहाँ सकेको सहयोग गर्छु। यसपटक नेपालगंज मा रहेको वृद्धाश्रममा सहयोग गरेको छु , असहायहरुलाई सानो सहयोग गर्न पाएकोमा खुशी छु। ”
मिना माया खरेल नेपाली नारी समाज पोर्तुगलकी महासचिव तथा गैर आवासिय नेपाली संघ पोर्तुगलकी कार्यसमिति सदस्य हुन्। खरेल पोर्तुगलमा रहेका नेपाली नारीहरुको शशक्तिकरण अभियानका एक अभियन्ता हुन।