लिस्बनमा नेपाली कथानक चलचित्र ‘Goodbye Kathmandu’ प्रदर्शन हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलले विहीवार आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी दिइएको हो ।
चलचित्र मार्च १० तारिख आइतबारका दिन बिहान १० बजेदेखि प्रदर्शन हुने भएको छ । चलचित्र Avenida 5 de Outubro 42, Lisbon मा रहेको निमास सिनेमा हलमा प्रदर्शन हुने जानकारी दिइएको छ । सचेतनामूलक चलचित्र निर्माणमा जोड दिने नवीन सुब्बाद्वारा निर्देशित यस चलचित्रमा राजनीतिक अस्थिरताको विषयवस्तु समेटिएका छन् ।
वाक्यहरु अड्कल्दै निर्देशक सुब्बाले भने : ‘सबै कुरा बुझ्न फ्लिम हेर्न आउनुपर्छ । नेपाली समाजअको चित्रण गरिएको छ । फ्लिम हेर्न आउनुभयो भने सन्तुष्ट बन्नुहुनेछ ।’ चलचित्रमा एकजना कर्मचारीको छोरो, एकजना काठमाण्डौंको रैथाने नेवार र एकजना लाहुरे गुरुङको कथा समेटिएको सुब्बाले बताएका छन् ।
सुब्बाले उनको यो फ्लिम बुसान फिल्म फेस्टिभलमा लागि छनौटका लागि सिफारिस भएको पनि उल्लेख गरे । नेपाली मौलिकतामा जोड दिने सुब्बाले यस अघि खाङ्ग्री र नुमाफुङ नामक दुई चलचित्र बनाएका छन् । उनका चलचित्रले अन्तर्राष्ट्रिय अवार्डहरु पनि प्राप्त गरेका छन् । चलचित्रबाहेक उनले टेलि शृंखला तरेबा, सिंहदरबार-२ र दलनको पनि निर्देशन गरेका छन् । यी टेलि शृंखलाहरु पनि अत्यन्तै लोकप्रिय भएका थिए ।
दोश्रोचोटी पोर्तुगल आएका सुब्बाले यसअघि यो चलचित्र अमेरिका र हङ्कङमा प्रदर्शन गरिसकिएको बताए । चलचित्र नेपालमा रिलिज हुन बाँकी रहेको छ । युरोपमा सबैभन्दा पहिले पोर्तुगलमा प्रदर्शन हुने भएको छ ।