– सुरेश जोशी, लिस्बन।
गैर आवासीय नेपाली संघ, क्षेत्रिय समन्वय समिती अल्गार्भ पोर्चुगलको २०१९-२१ अधिबेशन नजिकिदै गर्दा चुनावी सरगर्मी पनि बढेको छ। उम्मेदवारी दर्ताको लागी समय सकिएसंगै विभिन्न १५ पदहरुमा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष १ जना , उपाध्यक्ष ३ जना ( १ महिला समेत )महा सचिव १ जना, सचिव २ जना, कोषाध्यक्ष १ जना तथा सदस्यका लागि ७ जना गरी जम्मा १५ पदका लागि उम्मेदवारी माग गरिएकोमा तोकिए भन्दा बढी अध्यक्षमा २ जना उपाध्यक्षमा ४ जना तथा सचिवमा ३ जनाको उम्मेदवारी परेको छ ।
सकेसम्म सहमतिमा नयाँ कार्यसमिति चयन गर्न एन आर एन केन्द्र लिस्बोनबाट प्रयास भईरहेका छन् तर अहिलेसम्म गरिएका सबै प्रयास विफल भएका छन्। यसैबीच सहमतिको लागि संघले ढोका खुल्ला राख्दै कसैले उम्मेदवारी फिर्ता लिन चाहेमा उम्मेदवारी फिर्ताको समय शुक्रबार बेलुकी 0८:00 बजे सम्मका लागि निर्वाचन समितीले तोकेको छ । कसैले पनि उम्मेदवारी फिर्ता नलिएको अवस्थामा अध्यक्ष , उपाध्यक्ष र सचिवपदमा निर्वाचन हुने निश्चत भएको छ ।
अध्यक्ष पदमा शर्मा र सेढाईको आ-आफ्नै हठ ? उम्मेदवारहरुलाई उचाल्ने र पछार्नेहरु बढी सक्रिय ?
अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष अनिल शर्मा र महा सचिव निरन्जन सेढाई दुबैले आ-आफ्नो हठ लिएका छन्। २०१७-१९ का अध्यक्ष शर्मा र महासचिव सेढाईको बिचमा लामो समयदेखि भित्रि मनमुटाब रहेको बुझिएको छ।
२०१७ – १९ को कार्यकालमा महासचिव सेढाईले संस्थाले गरेका क्रियाकलापको जस एक्लैले लिन खोजेको र अध्यक्षलाई सहयोग नगरेको आरोप लागेको छ। अर्कातिर अध्यक्षले महासचिवलाई मिलाएर लैजान नसकेको गुनासो अल्गार्भवासी नेपालीहरुले गरेका छन् । यसैबिच अल्गार्भवासी नेपालीहरु दुई गुटमा विभाजित भएका छन्।
महासचिव सेढाईलाई केन्द्रिय मनोनित अध्यक्ष शरद शाहीले सघाईरहेका छन् भने उनीहरुलाई भित्रीरुपमा संस्थापक अध्यक्ष पूर्ण हमाल र उनको गुटको भित्रि सहयोग रहेको श्रोतको दाबी छ। हमाल अगाडी नदेखिने तर भित्रिरुपमा शाम, दाम , दण्ड भेदको राजनीति गर्ने चतुर खेलाडी मानिन्छन तर पछिल्लो समयमा समाजमा उनको पकड न्यून छ।
२०१७-१९ को निर्वाचनमा अध्यक्ष पदमा अनिल शर्मा र शरद शाहीबिचमा भएको निर्वाचनमा शाही पराजित भएका थिए, संस्थापक पूर्ण हमाल र निबर्तमान अध्यक्ष भिम केसीले हदैसम्मको राजनीतिक चलखेल र शक्ति परिचालन र प्रदर्शन गर्दा पनि शर्मालाई पराजित गर्न सकेनन्। अन्ततः नियम कानुन मिच्दै क्षेत्रमा पराजित भएका शाहीलाई केन्द्रमा उपाध्यक्ष पदमा मनोनित गरिएको थियो। नैतिकरुपमा पतन भएका र आर्थिक रुपमा भ्रष्ट तत्कालिन अध्यक्ष केसीले संघलाई आफ्नो मानोमानी ढंगले चलाएको आरोप पोर्तुगलवासी नेपालीहरुको छ । दुई बर्षसम्म संघको रकम हिनामिना गर्दै आफ्नो व्यवसायिक र व्यक्तिगत प्रयोजानका लागि प्रयोग गरेका केसी, हमालका खास पहरेदार मानिन्छन। केसीले गरेको आर्थिक अनियमितताको भण्डाफोर गर्दै वर्तमान कार्यसमितका पदाधिकारीहरुले एक बिज्ञप्ति निकाल्दै अल्टिमेटम समेत दिएका थिए र केसीलाई संघको रकम जम्मा गर्न हम्मेहम्मे परेको थियो।
अघिल्लो क्षेत्रीय निर्वाचनमा पराजित भएका शाही यसपटकको निर्वाचनमा शर्मासँग पराजयको पुरानो बदला लिन सेढाईलाई सघाईरहेका छन्। यही क्रियाकलापसंगै र सेढाईसँग सुमधुर संस्थागत सम्बन्ध हुन नसकेका कारण शर्मा सेढाईलाई सजिलै अध्यक्षको पद दिने मुडमा छैनन् र निर्वाचनको आफ्नो हठ त्याग्ने कुनै संकेत नै देखाएका छैनन्।
किन हुदैछ रस्साकस्सी ? किन छोड्दैनन् शर्मा र सेढाईले आ-आफ्नो हठ ?
एन आर एन ए को निर्वाचन क्षेत्र र केन्द्रमा राजनीतिक दलहरु र गुट उपगुटहरुको शक्ति प्रदर्शन गर्ने थलो भएको छ। पछिल्लो समय एन आर एन को निर्वाचन राजनीतिक दलहरुको शक्ति प्रदर्शन गर्ने र नियमकानुन मिच्दै आफूखुशी बिधान परिवर्तन गर्ने र आफ्ना नजिकका व्यक्तिहरुलाई जसरी पनि पद दिलाउने खेल हुने गरेको छ।
यसपटक एन आर एन अल्गार्भ क्षेत्र पनि यस्तो खेलबाट अछुतो रहन सकेन। समाजका केही अगुवाहरु कसरी मिलाउने भन्दा पनि कसरी भिडाउने र एकले अर्कालाई पछार्ने खेल खेल्नमा व्यस्त छन्। समझदारीका लागि केन्द्रबाट गएको अध्यक्ष कुबेर कार्की सहितको टोली बिना कुनै निष्कर्ष नै फर्किएको छ।
वर्तमान अध्यक्ष अनिल शर्मा कुनै पनि हालतमा अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता नलिने पक्षमा छन् भने अर्कोतिर अध्यक्ष पदमै उम्मेदवारी दिएका महासचिव निरन्जन सेढाईलाई मिलाएर लैजान विफल देखिएका छन्। उता सेढाईले पनि आफ्नो हठ छोडेका छैनन् र अध्यक्षसँग मिलेर जाने कुनै चाहना राखेका छैनन। केन्द्रको फोहोरी राजनीतिको प्रभाव यसपटक क्षेत्रमा पनि देखा परेको छ।
अब के हुन्छ ?
अध्यक्ष पदका उम्मेदवार शर्मा र सेढाई दुबैले आ-आफ्नो हठ नछोड्दा निर्वाचन हुने निश्चित भएको छ। निर्वाचन भएको खण्डमा शर्मा वा सेढाईमध्ये एकको जित र अर्काको हार हुदा अल्गार्भ क्षेत्रीय एन आर एन का एक सारथी मुलधारको संस्थागत सक्रियताबाट बाहिरिने निश्चित भएको छ। समुदायको हित र दुवै पक्षको जितको लागि आपसी समझदारीको अर्को बिकल्प छैन। शर्मा आल्बुफैरा र मोंतेगोर्दो क्षेत्रमा निकै लोकप्रिय छन् भने भिलामोरा र क्वार्तैरा क्षेत्रमा सेढाईको पकड भएको बुझिएको छ।
केन्द्रमा भएको गुट विभाजन र फोहोरी राजनीतिबाट क्षेत्रलाई अलग राख्न शर्मा र सेढाईबिचको आपसी समजदारीको बिकल्प छैन। आपसी समजदारी नहुदा अल्गार्भको नेपाली समाज दुई गुटमा विभाजित हुने देखिएको छ। पछिल्लो बर्षमा केन्द्रका राजनीतिक नेताहरुको शक्ति प्रदर्शन गर्ने थलोको रुपमा अल्गार्भ क्षेत्र बिकसित हुदै गएको छ। अल्गार्भवासी नेपालीहरु चनाखो नभए दिर्घकालिनरुपमा त्यहाँको समाजले ठुलो क्षति व्यहोर्ने निश्चित छ।