लिस्बन, पोर्तुगल।
पोर्तुगलमा एनआरएन युरोप स्तरीय सेभेन-ए साइड फूटबल प्रतियोगिता फुटबल हुने भएको छ । प्रतियोगिता एन आर एन ए पोर्तुगलले आयोजना गर्न लागेको हो।
सो प्रतियोगितामा युरोपभरका करिब ८ देखि १२ समूहको सहभागिता रहने अनुमान आयोजकहरुले गरेका छन् । प्रतियोगितामा सहभागिताको लागि ६ अप्रिलसम्म समूह दर्ता गर्न सकिनेछ । हरेक समूहका लागि दर्ता शुल्क ७ सय युरो लाग्नेछ । खेल १२ समूहसम्मको सहभागिता रहेमा लिग कम नक आउट सिष्टमका आधारमा खेलाइनेछ । १२ समूहभन्दा बढी भएमा पूरै नक आउटका आधारमा खेलाइने जानकारी आयोजकले दिएका छन् ।
खेल संयोजक तथा परिषदका उपाध्यक्ष नारायणकाजी मगरका अनुसार खेलमा पोर्तुगीस रेफ्रीहरु रहनेछन् । प्रथम हुने समूहलाई २५ सय युरो नगद, ट्रफी र प्रमाण पत्रले पुरस्कृत गरिनेछ । द्वितीय हुनेले नगद एक हजार युरो, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
‘लगभग १० हजार युरो खर्च हुने अनुमान गरिएको सो प्रतियोगिता को खर्च सहयोगबाट जुटाउने योजना बनाएका छौं । १३ अप्रिल शनिबारका दिन प्रतियोगिता सम्पन्न गरिनेछ र भोलिपल्ट महोत्सवमा पुरस्कार प्रदान गरिनेछ ।’ ‘उत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडीलाई पनि नगद, ट्रफी र प्रमाण पत्र पुरस्कारको व्यवस्था गरिएको छ ।’
लिस्बनको ओलाइयसस्थित भिटुरिया क्लबको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । एनआरएनए पोर्तुगलबाट रातो र निलो गरेर दुई समूह सहभागी हुनेछन् । पोर्तुगलमा रहेका खेलाडीहरुबाट छनौट भइरहेको छ । अन्य देशबाट आउने अतिथि खेलाडीहरुले खाना बस्नको खर्च आँफैले ब्यहोर्नुपर्ने जानकारी एन आर एन ए पोर्तुगलले दिएको छ ।