काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भीसा म्याद सकिएर पनि ‘ओभरस्टे’ गर्ने आप्रवासीलाई कडाई गर्न आफ्नो प्रशासनलाई सोमबार निर्देशन दिएका छन् । विदेशीहरु जो कानुनी रुपमै प्रवेश गरेका तर भीसाको म्याद सकिएपछि पनि अमेरिकामा बसिरहेका छन् उनीहरुलाई अब कडाई गरिने बताइएको छ ।
राष्ट्रपतिले विदेशमन्त्री र गृह सुरक्षामन्त्रीलाई सो सम्बन्धी आदेश दिएको मेमोर्यान्डममा हस्ताक्षर गरेको युएसए टुडेको अनलाइन संस्करणमा आज जनाइएको छ । त्यसमा चार महिनाभित्रमा ओभरस्टे गर्नेलाई के गर्न सकिन्छ सो सम्बन्धी योजना दिन दुवै मन्त्रालयलाई आग्रह गरिएको छ ।
ad ad ad
जुन देशका नागरिक भीसा सकिएर पनि धेरै ओभरस्टे गरेका छन् उनीहरुलाई ‘एड्मिसन बोन्डस’को व्यवस्था गर्न समेत आग्रह गरिएको छ । मध्य अमेरिकी राष्ट्रका आप्रवासीहरु अमेरिका छिरेर हैरान बनाएपछि ट्रम्प प्रशासनले नयाँ नीति ल्याउन लागेको जनाइएको छ । १दशमलब २ मिलियन भन्दा बढी विदेशीहरु सन् २०१६ र २०१७मा मात्रै भीसा सकिएर पनि अमेरिकामा ओभरस्टे गरेको अमेरिकाको गृह सुरक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।