काठमाडौं।
मंगलबार नेपाल व्यवस्थापन संघले गरेको पूर्व बजेट छलफल कार्यक्रममा पूर्व अर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बजेट निर्माणका लागि विभिन्न सुझाव २४ बुँदामा पेश गरे।
आफू लोक सेवा आयोगसँग सम्बन्धित पुस्तकको लेखक पनि भएको भन्दै बाँस्कोटाले बजेटका केही ऐतिहासिक दृष्टान्त पनि पेश गरे। आर्थिक वर्ष बैशाख १ गतेबाट सुरु गर्ने गर्नुपर्ने सुझाव पेश गर्दै उनले भने, ‘नेपालको इतिहासमा पहिलो बजेट ल्याउने अर्थमन्त्री सुवर्ण शमशेर, सामाजिक सुरक्षा भत्ता सुरु गर्ने अर्थमन्त्री भरतमोहन अधिकारी, लैंगिक उत्तरदायी बजेट ल्याउने पहिलो अर्थमन्त्री डा. रामशरण महत भएजस्तै वैशाख १ गतेबाट आर्थिक वर्ष सुरु गर्ने अर्थमन्त्री डा. युवराज खतिवडा भनेर लेख्न पाइयोस्।’
बाँस्कोटाले सुझावका बुँदा प्रस्तुत गरिरहँदा सभाहल हाँसो र तालीले गुञ्जिरहेको थियो। उनले नेपाल हलीको देश हुन नसक्ने भन्दै अब नयाँ प्रविधिले हलोमुक्त देश बनाउनु पर्ने बताए।
बाँस्कोटाभन्दा केही पछि बोल्ने पालो आयो अर्थमन्त्री डा. युवराज खतिवडाको। खतिवडाले सुरुमा बाँस्कोटाको वाकपटुताको प्रसंशा गरे। ‘सबैका आफ्ना आफ्ना क्षमता हुन्छन्, बाँस्कोटाजीको बोल्ने कला पनि नैसर्गिक हो,’ उनले भने।
खतिवडाले त्यसपछि बाँस्कोटाका अभिव्यक्तिमा घुमाउरोरुपमा असन्तुष्टी व्यक्त गरे। ‘सुरिलो आवाजमा गीत गाउने एउटा हुन्छ तर त्यसको पर्दा पछाडी कति धेरै मान्छेले मिठो संगीतका लागि काम गरेका हुन्छन्, तिनीहरुलाई बिर्सिनु भएन,’ उनले भने, ‘कसैको देवत्वकरण गर्न जरुरी छैन, सबैको योगदान महत्वपूर्ण हुन्छ।’