विवेकशील नेपाली दलकी युवा नेता रञ्जु दर्शना | तस्वीर:रिवाज राई
२०४६ सालको जनआन्दोलन हुँदा म जन्मिएकै थिइनँ। तर, मैले सानैदेखि त्यो क्रान्तिका कथाहरू सुन्दै आएकी थिएँ।
मैले चिनेजानेकाहरु पनि २०४६ सालकाे जनआन्दोलनमा उत्रेका थिए। त्यो बेला जनताको जोश, उमङ्ग र उभार नै अर्कै थियो रे!
सुन्नु एउटा कुरा, आफ्नै आँखाले देख्नु–भोग्नु अर्को कुरा!
तर, मैले २०४६ सालमा देख्न नपाएको जनआन्दोलन २०६२–६३ सालमा देखेँ। त्यो बेला म सानै थिएँ। स्कुल पढ्थेँ। १०–११ वर्षकी मात्रै थिएँ।
म सडकमा उत्रिइनँ। तर, मैले सडक पेटीबाट जनआन्दोलनका दृश्यहरू देखेँ। सडकमा फर्फराइरहेका राता झण्डाहरूले परैबाट मेरा आँखा खिच्थे।
त्यस बेला म प्रायः टेलिभिजनअगाडि हुन्थे। आमा भन्नुहुन्थ्यो – धेरै टिभी नहेर, टिभीले मारकाटका दृश्यहरू मात्रै देखाउँछ!
हुन पनि म जन्मिएकै बेलादेखि देशमा हत्या–हिंसाको श्रृंखला चलिरहेको थियो। म जुन वर्ष जन्मिएँ, त्यही वर्ष माओवादी युद्ध सुरु भएको थियो।
त्यस बेला दिनदिनै बम पड्किन्थ्यो। रगत बग्थ्यो। झण्डै १७ हजार नेपालीले ज्यान गुमाइसकेका थिए। रेडियो, टेलिभिजन र पत्रपत्रिका जहीँतहीँ हत्या, हिंसा र विध्वंशका समाचारहरू हुन्थे।
त्यसबेला ममा राजनीतिक चेतको विकास भइसकेको थिएन। तर, मलाई सानैदेखि समसामयिक विषयमा रुचि थियो। आमाले जति नै समाचार नहेर भन्दा पनि म टिभीअगाडि नै हुन्थेँ।
मलाई बुझ्नु थियो – देशमा के हुँदैछ? केका लागि यो जनआन्दोलन हुँदैछ?
धेरै नबुझे पनि मैले बुझेकी थिएँ – यो जनआन्दोलन सफल हुँदा लामो समयदेखि चलिरहेको युद्ध अन्त्य हुन्छ र देशले नयाँ गति र दिशा लिन्छ।
म चक्रपथको सडकपेटीमा बसेर मानिसहरूको कुरा सुन्थेँ। उनीहरू भन्थे – राजाको हार निश्चित छ, जनआन्दोलन सफल भएरै छाड्छ, चुनाव हुन्छ, संविधानसभा बन्छ, जनताले आफ्नै संविधान लेख्न पाउँछन्, र नेपाल पनि विकसित मुलुक बन्छ।
मानिसहरू जोशका साथ यस्तो पनि भन्थे – अब नयाँ नेपाल बन्छ, पुरानो नेपाल रहने छैन!
तर, ‘नयाँ’ शब्दले मलाई कहिल्यै आकर्षित गरेन। म सोच्थेँ – कुनै कुरा कति समय नयाँ रहन सक्छ? आजको नयाँ कुरा भोलि त पुरानो हुन्छ नै।
मलाई संविधानसभा बन्ने र जनताले आफ्नो संविधान आफ्नै लेख्न पाउने भन्ने कुराले चाहिँ आकर्षित गर्थ्यो।
१९ दिन लामो जनआन्दोलनपछि अन्ततः राजाले जनताका अगाडि घुँडा टेके। २०६३ साल वैशाख ११ गते राति संसद् पुनर्स्थापना भयो। त्यो समाचार टेलिभिजनमा हेरिरहँदा म खुशीले गदगद् थिएँ। अहिले पनि त्यो क्षण सम्झिँदा मेरो अनुहारमा मुस्कान छाउँछ।
आज हामीले जे–जस्तो स्वतन्त्रता उपभोग गर्न पाएका छौँ, यसको स्रोत नै त्यो जनआन्दोलन हो। त्यो जनआन्दोलन नभइदिएको भए आज मैले यसरी बोल्न पाउने थिइनँ। एउटी मध्यमवर्गीय एकल आमाले हुर्काएकी मजस्ती सामान्य नेपाली छोरी पनि खुला राजनीतिमा आउने र चुनावमा भाग लिने वातावरण बन्ने थिएन।
त्यो जनआन्दोलन नभइदिएको भए आज मैले यसरी बोल्न पाउने थिइनँ। एउटी मध्यमवर्गीय एकल आमाले हुर्काएकी मजस्ती सामान्य नेपाली छोरी पनि खुला राजनीतिमा आउने र चुनावमा भाग लिने वातावरण बन्ने थिएन।
नेपालीलाई स्वतन्त्रताका साथ लेख्ने, बोल्ने र चुनावमा भाग लिने वातावरण सिर्जना गरिदिने त्यो २०६२–६३ सालको जनआन्दोलनका सम्पूर्ण नेतृत्वकर्ता, सहिद र सहभागीहरूप्रति हामी कृतज्ञ हुनैपर्छ।
तर, के त्यो जनआन्दोलनद्वरा पुनर्स्थापित लोकतन्त्रको अहिले सही अभ्यास भइरहेको छ त?
अहिले नेपालमा जे–जस्तो राजनीतिक व्यवस्था छ, त्यो असली लोकतन्त्र होइन। यसमा लुटतन्त्र छ।
असली लोकतन्त्रमा राज्यका सम्पूर्ण अङ्गहरूले स्वतन्त्र रुपमा काम गर्न पाउँछन्। तर, अहिले राज्यका सम्पूर्ण अङ्गहरूमा दलीयकरण भएको छ। अरु त अरु, न्यायलय पनि चोखो छैन। त्यहाँ पनि राजनीतिक हस्तक्षेप छ।
हो, हामीले संविधानप्रदत्त अधिकारहरू उपभोग गर्न पाइरहेका छौँ। तर, त्यत्रो क्रान्तिको उपज यतिमात्रै हो त? लेख्न–बोल्न पाउनु लोकतन्त्रको एउटा पक्ष हो। तर, यो नै सबैथोक होइन।
राज्यका सम्पूर्ण निकायहरूले स्वतन्त्र रुपमा काम गर्न पाए भने मात्रै लोकतन्त्रको असली आभास हुन्छ। तर, अहिले त प्रेसलाई पनि अंकुश लाउने काम भइरहेको छ। यसलाई लोकतन्त्र भन्न सकिँदैन।
राज्यका सम्पूर्ण निकायहरूले स्वतन्त्र रुपमा काम गर्न पाए भने मात्रै लोकतन्त्रको असली आभास हुन्छ। तर, अहिले त प्रेसलाई पनि अंकुश लाउने काम भइरहेको छ। यसलाई लोकतन्त्र भन्न सकिँदैन।
असली लोकतन्त्रमा देश दिनदिनै खुशी हुन्छ। दुःखी हुँदैन। अहिले कुनै काम लिएर सरकारी कार्यालय जाने जनताले नपाउनुपर्ने दुःख पाउँछन्।
लोकतन्त्रमा लोकको तन्त्र हुन्छ। तर, नेपालमा लोककै तन्त्र चलिरहेको छ त? पूँजीपति वर्गलाई मात्रै लोक मान्ने हो भने नेपालमा लोकतन्त्र छ। तर, गरीब र मध्यमवर्गीयहरू पनि लोक हुन् भन्ने हो भने यो लोकतन्त्र होइन।
समय बदलिँदैछ। यो बद्लिँदो समयअनुरुपको लोकतन्त्र कस्तो हुनुपर्छ? लोकतन्त्रलाई कसरी परिष्कृत गर्ने? यस्ता विषयमाथिको बहसमा हामी केन्द्रित हुनुपर्ने हो। तर हामी त्यसतर्फ नगई झन्–झन् ओरालो झरिरहेका छौँ। यसैको संकेत हो – प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयास।
२०६२–६३ सालको जनआन्दोलनको बलमा आएको लोकतन्त्र लुटतन्त्रमा परिणत भएको छ। तपाईं जुनसुकै सरकारी अड्डा जानुहोस्, देशमा लुटतन्त्र चलिरहेको छर्लङ्गै देख्नुहुन्छ। लुट्न सके लुट गीत त्यसै आएको होइन। त्यी गीतले सत्य बोलिरहेको थियो।
लोकतन्त्रको आवरणमा लुटतन्त्र फस्टाउनुको कारण हो – नेता र पूँजीपति वर्गको हेलमेल। जब नेताहरु पूँजीपति वर्गसँग मात्र उठबस गर्छन्, तब उनीहरू पूँजीपति वर्गलाई नै पोस्ने नीति–कानून ल्याउन थाल्छन्। उनीहरूले किसान, मजदुर र गरीबको हित गर्दैनन्।
जब नेता र नीतिहरू ठूलाबडाको पक्षमा ढल्किन्छन्, तब लोकतन्त्र लुटतन्त्रमा परिणत हुन्छ। जब भ्रष्टाचारका आरोपीहरू फलफुल, जुस, अनार र केही रकम बोकेर न्यायाधीसका घर धाउन थाल्छन् र न्यायाधीसहरूले पनि ती उपहार ग्रहण गर्न थाल्छन्, तब लुटतन्त्र मौलाउँछ।
लोकतन्त्र लुटतन्त्रमा बद्लिनुको अर्को कारण हो – भड्किलो चुनाव।
नेताजीहरू राजनीति सुरु गर्दा पार्टीभन्दा माथि जनता र राष्ट्रलाई राख्ने हुन्थ्यो। चुनाव लड्दै गर्दा उहाँहरूले पार्टीभन्दा माथि आफैंलाई राख्नुभयो।
म काठमाडौंबाहिर पनि चुनाव हेर्न गएँ। त्यहाँ त जात्रै हुँदो रहेछ। दिनदिनै भोजभतेर। होटलहरू पूरै भरिभराउ। स्वयंसेवकको व्यवस्था र आधारभूत खर्च त गर्नैपर्छ। तर, नेताहरू हरेक दिन आफ्ना कार्यकर्तालाई मासुभात खुवाउँदा रहेछन्, बाइकमा पेट्रोल हाल्दिँदा रहेछन् र कतिलाई त मोटरसाइकल नै पनि दिँदा रहेछन्।
म काठमाडौंबाहिर पनि चुनाव हेर्न गएँ। त्यहाँ त जात्रै हुँदो रहेछ। दिनदिनै भोजभतेर। होटलहरू पूरै भरिभराउ। स्वयंसेवकको व्यवस्था र आधारभूत खर्च त गर्नैपर्छ।
हामीले भड्किलो कार्यक्रम नगरी र जनतासामु आफ्ना एजेन्डालाई लगेर मात्रै पनि मज्जाले चुनाव लड्न सकिन्छ भन्ने उदाहरण पेश गर्यौँ। काठमाडौंको मेयर पदमा चुनाव लड्दा मेरो व्यक्तिगत खर्च भएन। मसँग खर्च गर्ने पैसा पनि थिएन। आधार पनि थिएन। हामीले जनतासँग भोटमात्र मागेनौँ, नोट पनि माग्यौँ। भोटसँगै बाकसमा चन्दा पनि उठाउँदै हिँड्यौँ।
हामी स्पष्ट छौँ – हाम्रो चुनाव भड्किलो हुँदैन। हुनुहुँदैन।
चुनाव लोकतन्त्रको एउटा प्रमुख पाटो हो। तर, चुनावमात्रै लोकतन्त्र होइन। चुनावपछि पनि दिनहरू आउँछन्, चुनावपछि पनि आफूले जनता र समाजलाई दिनुपर्ने कुराहरू धेरै हुन्छन्।
यसैले, राजनीतिमा अब आउने युवा पुस्ताले चुनावलाई भड्किलो बनाउनु भएन। हामी युवाहरू फरक–फरक राजनीतिक दलसँग आवद्ध हुनसक्छौँ, तर हामीले चुनावलाई भड्किलो नबनाउने विषयमा हातेमाले गर्नु जरुरी छ। चुनाव भड्किलो भए नेता र पूँजीपति वर्गबीच उठबस चलिरहन्छ र उनीहरूको मात्रै हित हुने नीतिहरू बनिरहन्छन्, जुन गलत हो ।
चुनाव भड्किलो भइरहे नेता र पूँजीपति वर्गबीच उठबस चलिरहन्छ।
तर, लोकतन्त्रको आवरणमा लुटतन्त्र मौलाए पनि ममा निराशाभन्दा बढी आशा छ। म देशको भविष्यप्रति आशावादी छु। आशै भएन भने विहान उठेर सास फेर्नु पनि बेकार हुन्छ। म यसकारण पनि आशावादी छु कि राजनीतिक बेथीति र बिसंगतिहरूबारे गुनासो मात्रै गर्नुको सट्टा त्यसलाई बदल्ने दिशामा मैले पाइलाहरू चालिरहेकी छु।
परिवर्तनका पाइलाहरू चाल्दा आशा नै सबैभन्दा ठूलो शक्ति हुँदो रहेछ। आशाबिना गन्तव्यसम्म पुग्न सकिँदैन। हामी सबै आशावादी हुनैपर्छ। तर, आशावादी भएर मात्रै पुग्दैन, परिवर्तनका लागि कदमहरू पनि आफैंले चाल्नुपर्छ।
कहीँ लोकतन्त्र मिचिएको देखिरहनुभएको छ भने तपाईंले पनि त्यसविरुद्ध आवाज उठाउनुपर्छ। चूपतन्त्रले लोकतन्त्र जोगाउँदैन। हाम्रो आवाजले नै लोकतन्त्रलाई बलियो बनाउँछ।
(विवेकशील नेपाली दलकी युवा नेता रञ्जु दर्शनासँगको कुराकानीमा आधारित )
भिडियो