पश्चिमी वायुको प्रभावले शुक्रबार बिहानदेखि सुरू भएको हावाहुरी र वर्षा शनिबारसम्मै रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
केन्द्रीय राजधानी काठमाडौंलगायत देशका मध्य र पूर्वी भागमा अहिले हावाहुरी चलेको छ भने हल्का पानी परिरहेको छ।
महाशाखाका मोसमविद् राजु प्रधानाङ्गले शनिबारसम्मै हावाहुरी र वर्षा हुने संभावना रहेको बताए। मेघ गर्जनसहित केही स्थानमा भारी वर्षा र केही ठाउँमा हल्का वर्षा हुने तथा हावाहुरी चल्ने भएकोले सचेत हुनुपर्ने उनको भनाइ छ।
‘पश्चिमी वायु र ओडिशाबाट उत्तरपूर्व अघि बढिरहेको फानीले हावाहुरी र मौसम बदली भएको हो,’ उनले सेतोपाटीसँग भने, ‘मध्य र पूर्वी क्षेत्रमा यसको प्रभाव देखिन्छ। हावाहुरी र वर्षा हुन्छ।’
मध्यपूर्व र पूर्वमा शनिबारसम्म नै मौसम बदली हुने उनले बताए।
‘फानी नेपाल प्रवेश गर्दै गर्दा कमजोर भइसकेको हुन्छ तर पूर्वीभागमा सतर्कता भने अपनाउनुपर्छ,’ उनले भने, ‘भोलि पूर्वी नेपाल बदली रहन्छ। अधिकांश ठाउँमा वर्षा हुन्छ।’
आइतबारदेखि मौसममा सुधार आउने उनले बताए।