नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई नयाँ उचाइ दिन एकता भए पनि ठूलो पार्टीभित्र पनि एक्लैजस्तो महसुस हुने वातावरण बनिरहेको बताएका छन्।
कार्लमार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो स्थितिमा समीक्षा जरुरी रहेको बताए।
‘६–७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पुँजीवाद परास्त गर्न सक्छौं । तर हामी किन हिम्मत हार्दैछौं? किन एक्ला भएका छौं? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं?,’ अध्यक्ष दाहालले भने, ‘हिजो जंगलमा थियौं, जंगलमा भएजस्तो अनभूति थिएन, अहिले काठमाडौंमा लाखौं मानिसबीच हुँदाचाहिँ जंगलजस्तो एक्लो महसुस हुन थालेको छ। अहिले के विचित्र भइरहेको छ?’
उनले आन्दोलनलाई नयाँ उचाइ दिनका लागि आवश्यक रहेको र त्यसका लागि आफू जे गर्न पनि तयार हुने प्रतिबद्धता जनाए। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
दाहालले कम्युनिस्ट पार्टी र तिनका नेता–कार्यकर्ता ‘कम्युनिस्ट आदर्श’ बाट बिग्रँदै गएकाले नयाँ खालको सांस्कृतिक क्रान्ति आवश्यक रहेको पनि बताए। उनले आफूले गरेका गल्ती सच्याउन तयार रहेको उल्लेख गर्दै श्रमजीवी वर्गको प्रतिनिधिका रूपमा पार्टीलाई नयाँ ढंगबाट वैचारिक रूपमा मजबुत बनाउन आवश्यक रहेको उल्लेख गरे।
दलाल पुँजीवाद परास्त गर्न परिस्कृत पार्टी चाहिएको उनले उल्लेख गरे। ‘हामीलाई एउटा परिस्कृत र परिमार्जित पार्टी चाहिएको छ,’ उनले भने, ‘हामीलाई क्रान्ति र प्रतिक्रान्तिको अनुभवसहितको विचार र कार्यशैली चाहिएको छ, समाजवादको यात्रामा अघि बढ्ने पार्टी चाहिएको छ, हामीले नयाँ सांस्कृतिक क्रान्तिको घोषणा गर्नुपर्छ।’
उनले कार्लमार्क्सको सर्वहारा जीवनको उदाहारण दिँदै अहिलेका कम्युनिस्टहरूको बदलिँदो शैलीबारे टिप्पणी गरे । ‘कार्लमार्क्सले जिन्दगीभर संघर्ष गर्नुभयो, घर थिएन, गाडी थिएन जिन्दगीभर दुःख गर्नुभयो । हामीसँग अहिले घर छ, गाडी छ । कता हरायौं ? हाम्रो ऊर्जा र संकल्प कहाँ गयो ? हाम्रो गल्ती यहीनेर छ, सच्याउनुपर्छ,’ अध्यक्ष दाहालले भने।
कम्युनिस्ट पार्टी स्थापनाकाल, त्यसपछिका संघर्षहरूमा गरेको योगदान एवं नेता कायकर्ताको उर्जालाई उदाहारण दिँदै दाहालले त्यो सबै हराउँदै गएकाले नयाँ बहस र छलफल आवश्यक रहेको बताए । अध्यक्ष दाहालले पार्टी एकताका बाँकी काम केही दिनभित्र पूरा हुने जानकारी दिए।