धनगढी ।
धनगढीको दिनेश एफएममा कार्यरत पत्रकार जनक बिष्टमाथि कुटपिट गरेका धनगढीका व्यापारी तेजेन्द्र थापालाई प्रहरीले पक्राउ गरेका छ । वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक वकिल सिंह नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेर जिल्ला बुझाएको हो ।
तत्कालीन एमालेका जिल्ला कमिटी सदस्यसमेत रहेका थापाले धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविले भाडामा दिएका सटरको रिर्पोटीङ गर्न गएका बिष्टमाथि कुटपिट गरेका थिए । त्रिनगर माविस्थित प्रधानाध्यापकको कार्यकक्षमा तथ्याङक संकलन गरिरहेको बेला आइतबार दिउँसो बिष्टमाथि कुटपिट भएको हो ।
कुटपिट गरेलगतै कारवाहीको माग गदै पत्रकार बिष्टले जिल्ला प्रहरीमा थापा विरुद्ध किटानी जाहेरी दर्ता गरेका थिए । त्रिनगरका केही सटरको भाडा निकै न्यून र केहीको धेरै बढी रहेको गुनासो आएपछि रिर्पोटिङ्गका लागि विद्यालयमा जाँदा आफूमाथि कुटपिट भएको बिष्टले बताए ।
यसैबीच पत्रकारमाथि भएको कुटपिटको घटनाप्रति पत्रकार सम्वद्ध विभिन्न संघसंस्थाहरुले भत्र्सना गरेका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्ला शाखाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर घटनाको भत्र्सना गरेका छन् ।
पत्रकार कुट्ने थापालाई पक्राउ गरेर कारबाही गर्न पनि महासंघले माग गरेको छ । समाचारका विषयप्रति असहमति भए छलफल गर्न सकिने भए पनि पत्रकारमाथिनै कुटपिट हुने कुरा स्वीकार्य नहुने भन्दै महासंघले संलग्नलाई कडा कारबाही गर्न माग गरेको हो ।