काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालकै आग्रहमा ५० औं वर्षगाठको अवसरमा पुनः विवाह गरेको बताएका छन् ।
बिहीबार निवासमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विवाह गरेको ५० वर्ष पुगेको अवसरमा पुनः विवाह गर्ने निर्णय सबैको सल्लाहमा गरिएको दावी गरे ।
उनले भने, ‘एक वर्षअघि नै सिताले ५० औं वर्षको अवसरमा केही सानो कार्यक्रम आयोजना गर्नुपर्छ भनेकी थिइन् । यता छोरीहरुले पनि राम्रै हुन्छ भन्ने सुझाव दिए । सबैको सल्लाहअनुसार यो कार्यक्रमको आयोजना गरिएको हो ।’
‘सीताको स्वास्थ्य स्थितिको कारण हामीलाई अफ्ठ्यारो छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यो विवाहले सिताको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छु ।’
यसले परिवारलाई ठूलै हौसला प्रदान गरेको अध्यक्ष प्रचण्डको दावी छ । उनले भने, ‘सीताको हौसला झनै बढिरहेको छ । आज उनी यसरी बसिरहेको देख्दा अचम्म लागिरहेको छ । उनको भित्रि मनोबल उच्च भएको छ ।’
कार्यक्रमको अनत्यमा प्रचण्डले यो कार्यक्रम सबैको लागि ठूलो प्रेरणा हुने बताए । ‘राष्ट्रको जनताको निम्ति काम गर्ने जिम्मेवारी बढेको महसुस गरेको छु । अन्तिम समयसम्म पनि जनताकै सेवामा लागिरहने प्रतिबद्वता जनाउँछु,’ उनले भने ।