सगरमाथा क्षेत्रको फोहोरमैला संकलन गरिदै , यसरी गरिदैछ सगरमाथाको सरसफाई !

– सुरेन्द्र फुयाल

सगरमाथामा कति फोहोर छ त्यो स्पष्ट छैन, तर आरोहीहरूका अनुसार खासगरी माथिल्ला भागबाट फोहोर तल झार्ने कार्य कठिन हुने गरेको छ
यो वसन्त ऋतुमा सगरमाथा क्षेत्रमा सफाइ अभियान सञ्चालन भएसँगै हिमालको माथिल्लो र तल्लो भेगबाट हजारौँ हजार किलो फोहोरका पोका तल झार्ने क्रम तीव्र गतिमा अघि बढिरहेको अधिकारीहरूले बताएका छन्।

तर पनि उच्च हिमाली क्षेत्रको फोहोर तल झार्ने काम सहज नभएको आरोहण सहयोगीहरू बताउँछन्।

सगरमाथाको माथिल्लो र तल्लो क्षेत्रबाट हालैका दिनमा नेपाली सेनाको हेलिकोप्टरले मात्रै करिब ३,००० किलो फोहोर सङ्कलन गरिसकेको प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बीबीसी नेपाली सेवालाई बताए।

उनले भने “थप २,००० किलो फोहोरमैला अहिले सगरमाथा आधार शिविरमा जम्मा भइसकेको छ। छिट्टै हेलिकप्टरमार्फत् त्यसलाई खुम्बु बाहिर ल्याउने काम हुन्छ।”

सन् १९५३ मा मे महिनामा सगरमाथाको पहिलो सफल आरोहण भएको थियो। त्यसयता त्यो हिमाल ४,८०० जनाभन्दा बढी आरोहीले चढिसकेका छन्। करिब ३०० आरोहीको ज्यान गइसकेको छ। मृत्यु भएका थुप्रै आरोहीको शव अझै उच्च हिमाली क्षेत्रमा रहेका छन्।

त्यहाँ उच्च हिमाली क्षेत्रदेखि तलको पदयात्रा मार्ग वरपर आरोहण उपकरणका टुक्रा, अक्सिजन सिलिण्डरका धातु, मानव मलमूत्र र बियर तथा अन्य पेय पदार्थका खाली सिसी जस्ता फोहोरमैला थुप्रिएको भन्दै यसअघि नै चिन्ताहरू व्यक्त भइरहेका थिए।

सगरमाथा हिमाल नेपालका संरक्षित प्राकृतिक क्षेत्रहरूमध्येको एक सगरमाथा राष्ट्रिय निकुञ्जमा अवस्थित छ। त्यहाँ संरक्षणका कडा नियमहरू लागु गरिएका छन्। तैपनि सगरमाथा फोहोर भयो भन्ने चिन्ता हटेका छैनन्।

सगरमाथामा कति फोहोर छ त्यो स्पष्ट छैन, तर आरोहीहरूका अनुसार खासगरी माथिल्ला भागबाट फोहोर तल झार्ने कार्य कठिन हुने गरेको छ।

फोहोर कसरी झारिँदैछ?
नेपाली सेनाका अनुसार सफाइ अभियान सुरु भएयता जम्माजम्मी करिब ५,००० किलो फोहोर सङ्कलन भइसकेको छ। त्यो फोहोरलाई सगरमाथा आधार शिविर, त्यहाँ भन्दा तल रहेको फेरिचे र नाम्चे बजारमा सङ्कलन गरी हेलिकप्टरमा काठमाण्डू ल्याउने क्रम धमाधम अघि बढिरहेको छ।

सेनाका अनुसार जम्मा भएका फोहोरमैलामध्ये कुहिने किसिमका २,००० किलो फोहरो ओखलढुङ्गामा ल्याइसकिएको छ भने १००० किलो फोहोर काठमाण्डू ल्याएर एक संस्थाको जिम्मा लगाइएको छ। ब्लु वेस्ट टु भ्यालु नामक त्यो निजी संस्थाले सगरमाथाको फोहोरलाई पुन: प्रयोगमा ल्याउने गरि छुट्याउने गरेको छ।

सहायक रथी पाण्डेले भने, “ओखलढुङ्गामा जम्मा भएको कुहिने खाल्को फोहोरमैला पनि हामी गाडीमा काठमाण्डू ल्याएर व्यवस्थापन गर्दैछौँ।”

यसपालीको सफाइ अभियानका क्रममा सगरमाथाको हिमाली क्षेत्रबाट ५ टन र तलका पर्यटकीय पदमार्ग वरपरबाट ५ टन फोहोर सङ्कलन गर्ने योजना छ। यस पटकको सफाइ अभियानमा नेपाल सरकारका विभिन्न निकाय, खुम्बु क्षेत्रको स्थानीय सरकार र संस्था तथा विभिन्न निजी संस्थाले हातेमालो गरिरहेका छन्।

सोलुखुम्बुस्थित बीबीसी सम्वाददाता सुजाता तामाङका अनुसार सगरमाथा क्षेत्रको सफाइमा जुट्ने गरेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले वर्षमा दुई पटक फोहोर सङ्कलन र व्यवस्थापन गर्ने गरेको छ। तर त्यो अपर्याप्त भएपछि अहिलेको जस्तो सफाइ अभियान सञ्चालन गर्नु परेको हो।

विश्वको सर्वोच्च शिखर क्षेत्रको सफाइ र पर्यावरणबारे बढ्दो चिन्तामाझ यसैपाली चीन सरकारले पनि सगरमाथाको उत्तरी मोहडामा सफाइ अभियान सञ्चालन गरेको थियो।

व्यस्त आधार शिविर

यो वसन्त ऋतुमा सगरमाथा र नजिकैका नुप्से र ल्होत्सेजस्ता शिखर आरोहणका लागि सगरमाथा आधार शिविरमा करिब ४०० आरोही र सैयौँको सङ्ख्यामा तिनीहरूका सहयोगी भेला भइसकेका छन्। उनीहरूले विसर्जन गर्ने फोहोर आरोहण याम सकिने बित्तिकै तल झार्ने गरिएको छ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का महासचिव लामाकाजी शेर्पाका अनुसार सफाइको क्रममा आधार शिविरदेखि माथि र तल अहिले फोहोर सङ्कलनको कार्य जोडतोडका साथ चलिरहेको छ। उनका अनुसार १२ जना कामदारहरूले माथिल्ला शिविरहरूबाट फोहोर संकलन गरेर आधार शिविरमा ल्याउने गरेका छन्।

बरफ, हिउँ र ठूला चिरा परेका जोखिमपूर्ण भूभाग पार गर्दै सहयोगीहरूले फोहोरका पोका बोकेर आधार शिविरमा झार्ने गरेका छन्।

त्यसरी ल्याएका फोहोर नेपाली सेनाको टोलीले गल्ने र नगल्ने भनेर छुट्याउने गरेका छन्। सङ्कलित फोहोरमध्ये केहीलाई आगामी सगरमाथा दिवसका दिन (मे २९ तारिख) नाम्चे बजारमा प्रदर्शनमा राख्ने योजना बनाइएको छ।

त्यसका आधारमा फोहोर व्यवस्थापनको नयाँ रणनीति बनाउने एसपीसीसीको योजना छ।

“हिमाल दुर्गन्धित हुन थाल्यो”

सगरमाथा चढ्ने क्रममा आरोहीहरू आधार शिविरपछि सबैभन्दा बढी समय दोस्रो शिविरमा बस्ने गर्छन्। त्यहीँ उनीहरूले खाद्यान्न तथा बन्दोबस्तीका सामानहरू थुपार्ने गर्दछन्।

आरोहण सहयोगी चतुर तामाङ भन्छन्, “त्यसैले आधार शिविरमा जत्तिकै फोहोर ‘क्याम्प टु’ मा हुने गरेको छ। त्यहाँ टेन्टको टुक्रा, बिग्रिएका अक्सिजनका सिलिण्डर जस्ता फोहोरहरू हुन्छन्।”

अर्का आरोहण सहयोगी दिलु बिक भन्छन्, “माथि माथि ट्वाइलेट हुँदैन। त्यसैले जथाभावी दिसापिसाब गर्ने गरिएको छ। हिउँ पर्दा हिउँले पुरिए पनि हिउँ पग्लँदा सबै बाहिर देखिन्छ। त्यही हिउँ पगालेर पानी पिउनुपर्ने अवस्था छ। हिमाल दुर्गन्धित हुन थालिसकेको छ।”

– बीबीसी

(सोलुबाट सुजाता तामाङको सहयोगमा)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार