शताव्दी पुरुष सत्यमोहन जोशीको शताब्दी रथारोहण (भिडिओ)

काठमाडौं

सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले सोमबार जन्मशताब्दी महोत्सव आयोजना गर्यो।

ललितपुर मेयर चिरिबाबु महर्जनको अगुवाइमा जोशीलाई मंगलबजारबाट रथारोहण गराई बाजागाजासहित नगर परिक्रमा गराइएको थियो। उक्त सांस्कृतिक जुलुस पुल्चोकस्थित महानगरपालिका पुगेर सभामा परिणत भयो।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायत कार्यक्रम उपस्थित छन्।

यसै अवसरमा महानगरपालिकाले सय वर्ष उमेर पुगेका ललितपुरका वरिष्ठ नागरिकहरूलाई सम्मान पनि गरेको छ।

जोशीलाई सय वर्षको शुभकामना दिनेहरू बिहानै उनको निवास पुगेका थिए। ऊर्जामन्त्री गोकर्ण बिष्टले घरैमा पुगेर शुभकामना दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश पठाएकी थिइन्।

अघिल्लो दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादवले जोशीको घरैमा पुगेर शुभकामना दिएका थिए।

यही क्रममा म्युजिक नेपालले जोशीका सातवटा गीत समावेश गरी सिडी निकालेको छ। म्युजिक नेपालका सञ्चालक सन्तोष शर्माले सोमबार बिहान जोशीको घरमा गएर उक्त सिडी हस्तान्तरण गरेका थिए।

यसबीच अमेरिकी राजदूत रेन्डी बेरीले ट्विटरमार्फत् जोशीलाई शुभकामना दिएका छन्। ‘नेपालका बहुआयामिक व्यक्तित्व लेखक, विद्वान, इतिहासकार र सांस्कृतिक संरक्षणविद् जोशीलाई सयौं जन्मदिनको शुभकामना,’ उनले लेखेका छन्, ‘उहाँले बाँचेको जीवनले सबैलाई प्रेरणा दिन्छ। आगामी दिनमा उहाँको सुस्वास्थ्यका लागि मेरो शुभकामना।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार