काठमाडौं
नेपालमा यही बर्ष अर्थात २०१९ मा आयोजना गरिने १३ औं दक्षिण एशियाली खेलकुद सागको प्रतीक चिन्ह लोगो सार्वजनिक गरिएको छ ।
आज युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा लोगो सार्वजनिक गरिएको हो । लागोमा राखिएको परेवाको आकृति एवं त्यस्मा प्रयुक्त रङले शान्ति दर्शाउने बताइएको छ । लोगोको पृष्ठभूमिमा रहेको सोही रङको रेखाले द्धैध अर्थ बोकेको पनि लोगो निर्माणकर्ता विराटनगर निवासी भोलानाथ पौड्यालले जानकारी दिनुभएको छ ।
पहिलो स्वच्छन्दरुपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र दोस्रोले देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमालको अर्थत झल्काउने पनि पौड्यालले जानकारी दिनुभयो ।
त्यस्तै देब्रेतर्फ राखिएको प्वाँखाकृतिले परेवारुपी आकृतिलाई मास्तिर उड्न गति प्रदान गरेको छ भने प्वाँखरुपी सात आकृतिले दक्षिण एसियाका सात सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने बताइएको छ ।
सात प्वाँखले रंगशालाको ट्रयाक समेतलाई दर्शाउछ भने त्यसमा प्रयुक्त रङले सम्बन्धित राष्ट्रको झण्डाको प्रतिनिधित्व गरेको पनि निर्माणकर्ता पौड्यालले जानकारी दिनुभयो ।
लोगोमा राखिएका अक्षर र अंकले सागको तेह्रौं संस्करण,सागको पूर्ण नाम , बर्ष र स्थान समेत झल्काएको छ ।