राजधानीमा रिसको झोकमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार

काठमाडौँ।

राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन्। घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ।खड्कालाई सुरुमा चाबहिलस्थित ओम अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। अस्पतालका अनुसार उनको अवस्था चिन्ताजनक छ।

प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ। सुवेदीका अनुसार खड्का विगत एक वर्षदेखि माइत बस्दै आएकी थिइन्। खड्का भुजेलकी दोस्री पत्नी हुन्। उनका दुई वर्षका छोरा छन्। भुजेलले खड्कालाई बेलाबेलामा धम्क्याउँदै आएका थिए।

काभ्रे, धुलिखेलका भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको हो।उनले प्रहरीसँगको बयानमा ‘श्रीमती सँगै बस्न नमानेपछि त्यही रिसमा एसिड हानेको’ बताएका छन्।मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो। उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। दुई वर्षदेखि खड्काले छोरा पनि आफूसँगै हुर्काइरहेकी थिइन्।

‘जति फकाउँदा पनि जेनी सँगै बस्न नमानेपछि अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेको भुजेलले बयान दिएका छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने।एसिड प्रहार गरेर भुजेल काँडाघारीको भट्टी पसलमा मादक पदार्थ सेवन गरिरहेका थिए। त्यही बेला प्रहरीले उनलाई पक्राउ गरेको हो।

राति सवा ८ बजेतिर बाटोमा हिडिँरहेकी जेनीमाथि एसिड हमला भएको थियो। बोतलमा एसिड भरेर ल्याएका भुजेलले जेनीको टाउकोमा खन्याइदिएका थिए। उनको टाउको र हात जलेको छ ।उनको ओम अस्पतालमा उपचार भइरहेकोमा त्यहाँबाट कीर्तिपुर अस्पताल रेफर गरेर पठाइएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार