काठमाडौँ |
स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ ।
पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो ।
धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए ।
करिव १३ प्रतिशत काम सम्पन्न भइसकेको धरहरा निर्माणको काम स्थानीयले पैदल मार्ग खुलाउन माग गर्दै अवरोध गरेपछि प्रभावित भएको छ ।
स्थानीयले विगत ६ महिनायता आफूहरुलाई आवत जावतका लागि सहज बनाउन पनि पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गर्दै आएका थिए ।
उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दबाब दिँदै आएका छन ।
६ महिनायता पैदलमार्ग समेत नखुलाइको कारण आफूहरु मारमा पर्नु परेको स्थानीय व्यापारी अनिता बुढाथोकीले जानकारी दिइन् ।
यता, धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँग छलफल भइरहेको र आजै सो सम्बन्धमा आवश्यक निर्णय हुने पनि जनाएको छ ।
पूरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलको बीचका पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिए ।
स्थानीयले अवरुद्ध पारेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो । धराहरा निर्माण प्रोजेक्टका म्यानेजर श्रेष्ठले सुरक्षाको दृष्टिकोणले पनि पैदल मार्गलाई समेत रोकेर निर्माण कार्यलाई अघि बढाउनु परेको पनि स्पष्ट पारे ।
सो प्रोजेक्टले स्थानीयको मागलाई तत्काल सम्बोधन गरी धरहरा निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि जनाएको छ ।